काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ । मन्त्री अर्यालले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम शुरु गरेको हो । नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पु¥याएको उहाँले बताउनुभयो । पहिलो पटक नापनक्साको काम लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ ।
सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वनको चरणमा रहेको छ । भूमि मन्त्रालयबाट अर्थ मन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उहाँले दिनुभयो । यसका लागि आयोग मात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडी बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताउनुभयो ।
सरकारले २८४ विघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताउनुभयो । २८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ विघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताउनुभयो । हदबन्दी भन्दा बढी रहेको १० हजार १९२ विघ जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ ।
सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताउनुभयो । वित्तिय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधन मार्फत सम्बोधन हुने उहाँले बतानुभयो । गुठी विधेयक समेत समेटेर एकिकृत भूमि ऐन ल्याउन लागिएको उहाँले बताउनुभयो । पछिल्लो समय पटक पटक सरोकारवालासँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उहाँले बताउनुभयो । ‘सँगै जाउँ भन्नेमा सहमत हुनुहुन्छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ । उपत्यकालाई केन्द्रित गरेर समस्या नआवस भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ । एकीकृत कानुन निर्माणको प्रक्रियामा छौँ’, उहाँले भन्नुभयो ।
समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्यलाई नियुक्त गरिएको बताउनुभएको छ । लामोसमय सहकारी क्षेत्रमा आवद्ध रहेकाहरुलाई समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतीतर्फ ११ औं तहको सेवा पूरा गरेको र चार्टर्ड एकाण्टेन्ट गरी दुई जना नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो । आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएकाहरु नियुक्त गरिएको उहाँकाे भनाइ छ ।