काठमाडौं । २९ डिसेम्बरमा चीनको वुहानमा देखिएको कोराना भाइरस अर्थात् कोभिड नाइन्टिनले यतिखेर संसारका ५० देशमा समस्यामा पारिरहेको छ । प्रधानमन्त्री केपी ओलीले केहीदिन अघि मन्त्रीहरुसँग छलफल गरेर नेपालमा पनि यसमा सचेत रहन आग्रह गर्नु भएको छ । सरकारी तयारी भइरहेको छ । यति मात्र होइन, कोरोना प्रभावका कारण काठमाडौंमा गरिने भएका मेला महोत्सवहरु रोक्न थालिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको प्रभावमा पर्न सक्ने संकेत गरेपछि हामीले अब सचेतना अपनाउनै पर्छ । यो सचेतनामा सबैभन्दा बढी अहिले समस्या देखिएको छ भ्रमण वर्ष । भ्रमण वर्ष नै रोक्न नागरिक समाज अपील गरिरहेका छन् । यति मात्र होइन, केहीदिनमा एसइइ शुरु हुँदैछ । कतै एसइइ नसकिँदै हामी कोरोनाको त्रासले मनोवैज्ञानिक त्रासमा पर्छौँ कि भन्ने भयले घर गरेको छ । बरु एसइइ सकिए छोराछोरीसहित परिवार गाउँ जाने भन्ने मानसिक अभिभावकहरुले बनाइसकेका छन् । कतै काठमाडौं सुनसान पो हुन्छ कि भन्ने भय छ । राज्यले गर्नुपर्ने तयारी कस्तो छ ?
चीनबाट शुरु भएको कोभिड–नाइन्टिन कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर चुनौती बनेको छ । विश्वकै ठूलो शक्तिराष्ट्र चीनबाट फैलिएको भाइरस नेपालबाहेकका चीनसहित १२ देशमा फैलिएको छ । यो विश्वभर नै चुनौतीपूर्ण ढंगले देखिएको भाइरस हो । नेपाल भ्रमण वर्ष २०२० शुरु भएकै बेला यो भाइरस महामारीका रुपमा देखा परेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ ।
यद्यपि नेपालले कोरोना संक्रमण कम गर्नेबारे कुनै उपाय अपनाएको पाइँदैन । भ्रमण वर्ष सफल पार्न उल्टै विभिन्न देशमा नेपाल संक्रमणबाट मुक्त रहेको प्रचारप्रसारमा सरकार आफैँ खटिएको थियो । तर, अहिले भने यसबारे सरकार सचेत बनेको छ । यसपछि मात्र मुलुकमा केही निर्णय लिइएका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको बैठक बोलाएर छलफलसमेत गर्नुभएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेका कारण पनि सरकारले यसमा कडाइ गरेको हो । नेपालमा बाक्लो आवतजावत रहेका चीनबाहेकका अन्य देशमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएर छलफल गर्नुभएको थियो । शुक्रबारसम्म नेपालमा जोखिम नरहेको बातउँदै आएको सरकारले बालुवाटार बैठकपछि कोरोना रोकथामको पूर्व तयारी थालेको हो ।
सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री सदस्य छन् । समितिले नेपालसँग हवाईसहित यातायात सञ्जाल जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने बैठकले तय ग¥यो । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट उडान आजत–जावत रोक्ने विषयमा समेत छलफल गरिएको थियो । यसभन्दा पछि यस्ता खालका निर्णय समितिले नै अध्ययन गरेर आवश्यक निर्णय गर्ने जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णय यही समितिमार्फत गर्न निर्देशन दिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी विदेशमा हुने पर्यटन प्रचार प्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरसले विश्वका धेरै देशमा असर गरिरहेका बेला सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवद्र्धनका निम्ति काठमाडौंमा भएको पदयात्रा कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काममा सरकार केन्द्रित भएको बताउनुभयो । भ्रमण वर्षलाई भव्य रुपमा मनाउन र लक्ष्यअनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका काम अगाडि बढे पनि नयाँ वर्ष २०२० शुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित भएको छ ।
विश्वमै सकसकोरोनाले विश्व सकसमा छ । तर, स्वास्थ्यका हिसाबले वर्तमान सरकार अन्यौलमा छ । एकातिर भ्रमण वर्ष खेर गयो । २० लाख पर्यटक भित्र्याउने सपना अधुरै रह्यो । सोहीबेला प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओली फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदै हुनुहुन्छ । फागुन २१ गते मृगौला प्रत्यारोपण गरिने भएको छ । विगतमा डायलसिस गर्न विदेश गएपछि विवादित बन्नुभएका प्रधानमन्त्रीले यसपटक नेपालकै अस्पतालमा उपचार गराउन लाग्नु भएको हो ।
यतिबेला प्रधानमन्त्री आफैँ पनि उपचारमा हुनुहुन्छ । एकातिर सरकार अनिर्णित छ । अर्कोतिर कोरोना भाइरसले भ्रमण वर्ष असफल हुने संकेत गर्दैछ । मुलुकमा कोराना नफैलिओस् भनेर प्रधानमन्त्रीले शनिबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच, उपकरण र औषधि पर्याप्त भण्डारण गर्न र चिकित्सकलाई परिचालन गर्न निर्दशनसमेत दिइसक्नु भएको छ । यद्दपि, खतरा नै नहोस भन्ने उहाँको चाहना छ । यसअघि कोरोना भाइरसबाट संक्रमित एकजना नेपालमा पनि भेटिएका थिए । तर, उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् । कोरोना संक्रमणको आशंकामा दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको आएको छ । तर, पछिल्लो समय इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमण फैलिएको छ भने मध्ययूर्व र युरोपका देशमा पनि देखिएको छ । चीनमा कोरोना संक्रमण बढे यता करिब ८० हजार जनामा संक्रमण भएको रेकर्ड छ ।
भिडभाड कम गरौँ, सतर्कता अपनाऔँबालुवाटार बैठकपछि सरकारले मेला, पर्वमा रोक लगाएको छ । काठमाडौंको टोखा नगरपालिकाले फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित गरेको छ । जसका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यसैगरी, कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँ स्थित नेपालीलाई अपील गरेको छ । कतारका एक नागरिकमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराइएको हो । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर भक्तपुरको खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १ सय ९३ नेपालीको पुनः स्वास्थ्य परीक्षण गरिएको छ । उद्धार गरिएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएको छ भने नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमका १८ जना चालकलाई आइतबार घर पठाइएको छ । कोरोना भाइरस ५० देशमा फैलिएको छ । तर, मृत्यु हुनेमा सबैभन्दा बढी चिनियाँ छन् । पछिल्लो तथ्यांकअनुसार वुहान प्रान्तमा २ दशमलव ९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र शून्य दशमलव ४ प्रतिशत मात्रै मृत्युदर छ । अध्ययनअनुसार, कोभिड–नाइन्टिनको मृत्युदर २ दशमलव ३ प्रतिशत छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार ७२ हजार ४ सय ३६ संक्रमणका घटनामा १ हजार ८ सय ६८ ले ज्यान गुमाएका छन् । त्यसमा ९८ नयाँ मृत्युका घटना समेटिएका छन् । सोमबार हुबे प्रान्तमा १ हजार ८ सय ८६ वटा नयाँ घटना भेटिएका छन् । चिनियाँ अधिकारीका अनुसार १२ हजार बढी मानिस स्वस्थ भएका छन् । अध्ययन अनुसार चीनभर फेब्रुअरी ११ सम्म पुष्टि भएका, शंका गरिएका र कुनै सकेत नदेखिएका तर कोभिड नाइन्टिन पहिचान गरिएका सबै ७२ हजार ३ सय १४ घटनाको विवरण उल्लेख छन् । अध्ययनमा ४४ हजार ६ सय ७२ संक्रमणका घटनाको विस्तृत विवरण समावेश छ । अध्ययनको वर्गीकरणमा झण्डै ८० दशमलव ९ प्रतिशत संक्रमणलाई मध्यम भनिएको छ ।
यसैगरी १३ दशमलव ८ प्रतिशतलाई कडा र ४ दशमलव ७ प्रतिशतलाई संवेदनशील भनिएको छ । उमेर समूहमा ८० वर्ष र त्यसभन्दा बढी उमेरका १४ दशमलव ८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ । ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन र ३९ वर्षको उमेर समूहकाको मृत्युदर शून्य दशमलव २ प्रतिशत र त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य दशमलव ४ प्रतिशत, ५० देखि ५९ सम्मका १ दशमलव ३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३ दशमलव ६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम छ । लैङ्गिक अनुपातमा पुरुष २ दशमलव ८ प्रतिशत, महिला १ दशमलव ७ प्रतिशत कम जोखिम रहेको पाइएको छ । अधिकांश बिरामी मुटुसम्बन्धी छन् भने मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ । अध्ययन अनुसार कोरोना प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख छ । प्रकोप घट्नुका पछाडि कैयौँ शहरलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ । अध्ययनकर्ताले लामो बिदापछि मानिसहरू घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन् ।