सरकारी कार्यालय टोकन नै दलालको कब्जामा

काठमाडौं । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प-यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आएका थिए । श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले आफ्नो काम गराउन टोकन लिनुपर्ने नियम राखिएपछि एउटै कामका लागि शर्माले दोहोरो आउजाउ गर्नुपरेको हो ।
सेवाग्राहीले टोकन पनि अनलाइनबाटै लिनुपर्ने नियम छ । आमसेवाग्राहीलाई अनलाइन फाराम भर्न जति असहज छ, टोकन लिन पनि त्यत्तिकै झन्झट बेहोर्नु पर्ने बाध्यता परेपछि शर्मा फाराम भराउन र टोकन लिन यस अगाडि आउनुपरेको थियो । सेवाग्राहीको पहुँचमा टोकन लिनदेखि फाराम भर्नसम्म अनलाइन सुविधा नभएपछि कार्यालय परिसरका दलालकै शरणमा पुग्नुपर्दछ । एक सातामा दोहोरो आउजाउसहित आठ हजार रुपियाँ खर्चेपछि पुनः श्रम स्वीकृतिको काम भयो, शर्माले भने, टोकनमा पनि दलालको हालिमुहाली चल्दो रहेछ ।
सरकारी कार्यालयले जारी गर्ने टोकन सेवाग्राहीको हातमा आउनु अगावै दलालसँग मोलमोलाइ गरेर लिनुपर्ने अवस्था रहेको छ । तत्काल काम गर्नुपर्ने सेवाग्राहीलाई १५ दिनपछि मात्र काम सम्भव हुने बताउँदै दलालले रकम बढाबढ गर्ने गरेको कार्यालय प्रमुख सम्म पुगेको छ तर कार्यालयमा स्रोत साधनको उपलब्धता अभावका कारण अनलाईन फारम भर्न सम्भव छैन् । सेवाग्राहीलाई सेवा दिने भन्दै अनलाइन फाराम भराउने काम गराउँदै आएका सञ्चालकको पनि आफ्नै दुःखेसो छ ।
अनलाइन एसोसिएसन गठन गरेका उनीहरूले दस दिनसम्मको टोकन खुलाउनुपर्ने भन्दै कार्यालयमा दबाब दिँदै आएका छन् । एसोसिएसनका संयोजक नवराज काफ्लेका अनुसार छोटो अवधिका लागि टोकन खुलाएका कारण समस्या परिरहेको छ । तत्कालीन विराटनगर बुद्धचोकमा रहेको श्रम तथा रोजगार कार्यालय विराटनगर कन्चनबारीमा सारिएको छ । सरेको दुई महिना नबित्दै कार्यालय परिसर भने अनलाइन फाराम भराउने पसलदेखि चिया, नास्ता र खाना खुवाउने होटलले घेरी सकिएको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।