काठमाडौं । नेपाली सेनाभित्रको भ्रष्टाचारबारे छलफलका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिकाे बिहीबारको बैठक स्थगित भएको छ । रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित हुँदा सांसदहरुले आपत्ति जनाएपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गर्नुभएको हो । उहाँले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पु¥र्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिनुभयो । माननीयहरुले उठाउनुभएको विषयको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु’ उहाँले भन्नुभयो ।
बैठकमा सांसद अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापतिको अनुपस्थितले समितिको मर्यादामाथि प्रहार भएको बताउनुभयो । सांसद सिंहले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेही हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने बताउनुभयो । ‘लोकतात्रिक प्रणालीमा पार्लामनेन्ट्री सिस्टममा मन्त्री संसदप्रति उत्तरदायी हुने प्रधानमन्त्री मन्त्री उत्तरदायी हुने संसदीइ समिति भनेको मिनिपार्लामेन्ट हो’ उहाँले भन्नुभयो, ‘त्यसैले मन्त्री नआइकन छलफलको औचित्य छैन् र ब्रिफिङ पनि चिफले नगरीकन अन्यको त्यति महत्व राख्दैन् ।’ सांसद सिंहले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो की ? सेनाको गरिमा कायम राख्न खोजेको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत माग गर्नुभयो । ‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं की नेपाली सेना बनाउन खोजेका छौं ? त्यसको जवाफ सरकारले जवाफ दिनुपर्छ’ उहाँले भन्नुभयो, सरकार नै छैन भने कसले जवाफ दिने । सचिवज्युको हैसियत होइन जवाफदिने ? संसदलाई जवाफदिन सचिव को हैसियत पुग्दैन् । त्यो पोर्टोकलको पनि कुरा हुन्छ । त्यसकारणले सचिव जीको जवाफ म सुन्ने पक्षमा छैन् । बोलेर म बहिस्कार गरेर हिंडछु । ’ उहाँले नेपाली सेनाभित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताउनुभयो ।
सांसद झपटबहादुर रावलले विभागीयमन्त्री र सेनाको प्रमुख बिना छलफल अगाडि बढ्न नसक्ने बताउनुभयो । ‘संसदको गरिमा र महत्वलाई बेवास्ता गरिएको छ। बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले सम्बन्धित विभागीय मन्त्रीज्यू र सेनाको प्रमुख उहाँहरुको उपस्थिति बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनि संसदको गरिमा यसको महत्वलाई बेवास्ता गरेको भन्ने मेरो बुझाई रहेको हुनाले म बोल्दिन भनेर बोलिरहनु भन्दा पनि यसलाई यसरी नै टुङ्ग्याउँ भन्ने पक्षमा छु ।’
सांसद डिला संग्रौलाले नेपाली सेनाभित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताउनुभयो । ‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ’ उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा पनि तपाईहरुको स्पस्टता चाहिन्छ । उच्च सैनिक अधिकृतहरुले आफुखुशी मनपरेको गणगुल्ममा रहि बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ । यो के हो ? यसको पनि सत्य तथ्य आउनुपर्छ । बढुवा गर्दा शैक्षिक योग्यताको कुरा पनि आएको छ । फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ । सेनाले त्यहाँ पनि भ्रष्टाचार गरेको छ . अख्तियारले हेर्न मिल्दैन् ?’
सांसदहरुले अख्तियारले हेर्न मिल्दैन ? भन्दै सेनाभित्र ठूलाठूला अनियमितता हुने गरेको बताए । नेपाली सेनाभित्र भ्रष्टाचार भएको दाबी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई ८ महिना लगाएर अध्ययन गरेको थियो । नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । त्यही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।