काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण गरिएको विषयलाई मुख्य शीर्षक बनाउँदै उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको सन्दर्भलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै पत्रिकाहरूले कोरोना संक्रमण रोकथामका लागि मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोकथाम लगाइएको विषयलाई पनि प्रमुख समाचार बनाइएको छ ।
बिहीबार जनता समाचार डट कम मा हराएका चार बालबालिका प्रहरीको सम्पर्कमा, हतियारसहित विप्लव समूहका जिल्ला सदस्य पक्राउ, ‘भारतले औषधि प्रतिबन्ध लगायो, खोल्ने प्रयास भइरहेको छ’, अस्पतालको ठगी धन्दास् शव ३ दिनसम्म आईसीयूमा, प्रधानमन्त्रीको उपचारमा १६ डाक्टर, कसलाई के छ जिम्मेवारी ? (सूचीसहित), बलात्कार अभियोगमा सांसद पक्राउ, ‘सेनाले भ्रष्टाचार गर्यो अख्तियारले हेर्न मिल्दैन ?’ र मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्युलगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
राजधानी दैनिक ले सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने विषयलाई प्रमुख समाचार बनाइएको छ । समाचार अनुसार बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।
समाचारमा लेखिए अनुसार केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरुले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्दता बम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बेंकहरुले सुनको शुद्दत राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको विषयमा प्रमुख समाचार बनाएको गोरखापत्र दैनिक ले कोरोनाविरुद्द सरकारले गरेको तयारीलाई पनि शीर्ष समाचार बनाएको छ । अर्थ एवं सूचना, सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण रोक्न विदेशी प्रवेश गर्ने मुख्य मार्ग तथा सिमानामा कडा सुरक्षा जाँच सुरु गरिएको बताउनुभएको हो ।
मन्त्री खतिवडाले मुलुकभित्र कोरोना अहिलेसम्म् नदेखिएको उल्लेख गर्दै कोरोनाबारे भय, त्रास होइन, सर्तक र सचेत हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरस सम्भाव्य चुनौती हो र यसबारे नागरिकलाई सजग बनाउन सञ्चार माध्यामको भूमिका महत्वपूर्ण हुन्छ ।
नागरिक दैनिकले मास्क कालोबजारी गर्नेमाथिको कारबाहीबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी शुरु भएको छ । मास्कको कारोबजारीको कारण पोखरा र नेपालगञ्जलगायतका बजारमा अस्वभाविक मूल्य तिर्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् ।
समाचारमा लेखिए अनुसार मास्कको माग बढेसँगै औषधि पसलले अस्वभाविक मूल्य बढाएर बेच्न थालेको पाइएको छ । कृतिम अभाव देखाएर महंगोमा मास्क बेचेर रातारात पैसा कमाउने समूह् यस्तो धन्दामा लागेका छन् । कास्की प्रशासनले बिहीकार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वभाविक मूल्य लिएर मास्क बिक्री गरिएको फेला परेको छ । अस्वभाविक मूल्यमा मास्क बेच्ने औषधि पसलेलाई कारबाही गर्ने प्रशासनले जनाएको छ । ‘अधिक मूल्य असुल्ने ३ वटै मडिकल पसलेलाई शुक्रबार प्रशासन हाजिर हुन निर्देशन दिएका छौ’ ढकालले भन्नुभयो, कालोबजार ऐन अनुसार ती मेडिकललाई कारबाही हुन्छ ।’ अनुमगन टोलीले ती मेडिकल बन्द गराएको छ ।