काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपणपछि उहाँलाई हिँडडुल गराउन थालिएको र ठोस खानेकुरा दिन थालिएको विषयलाई समेटेर समाचार बनाएका छन् । त्यसैगरी पत्रिकाहरुले सरकारले बजारमा वस्तु अभाव नहुने र अनावश्यक धेरै सामान किनेर थुपार्ने काम नगर्न सर्वसाधारणलाई गरेको आग्रहलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
शुक्रबार जनता समाचार डट कम मा ‘६ महिनाका लागि औषधि मौज्दात छ, अभाव हुँदैन’, घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा, ‘पपुलिष्ट कुरा मात्र गर्ने लिडरै होइन’, बागमती सरकारले थाल्यो भीमफेदी–कुलेखानी सुरुङमार्गको गृहकार्य, पूर्व प्रधानमन्त्री नेपाल र भारतीय राजदूतबीच भेट, ग्यासको कालोबजारीप्रति आपूर्तिमन्त्रीको एक्सन, डेढ अर्बको आइपियो निष्काशन गर्दै पुनर्बीमा कम्पनी र प्रतिनिधिसभा बैठक: कोरोना भाइरस सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावलगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
गोरखापत्र दैनिक मा ‘बजारमा वस्तु अभाव हुँदैन’ शीर्षकमा मुख्य समाचार छापिएको छ । समाचारअनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताउनुभएको हो । बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्ला फैलिएको बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताउनुभएको समाचारमा उल्लेख छ ।
मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताउनुभएको छ । शुक्रबार बिहानमात्रै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, नेपाल आयाल निगम लगायतका संस्थाहरुसँग रिपोर्ट मागिएको र व्यवसायीहरुले दिएको रिपोर्टले पनि कुनै कुराको अभाव नहुने देखाएको उहाँले उल्लेख गर्नुभएको पत्रिकाले लेखेको छ । भट्टले बजारमा लसुनको मूल्य बढेकाले केही अभाव रहेको र अरु कुनै पनि वस्तुमा अहिलेसम्म मूल्य वृद्धि नभएको समेत प्रष्ट पार्नुभएको छ ।
सर्वसाधारणले ग्यास नपाउने अवस्था आएमा सिधै मन्त्रालयमा फोन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । मन्त्रालयले छिट्टै निःशुल्क हटलाइनको व्यवस्था गर्ने जानकारी दिँदै मन्त्री भट्टले ग्यास नपाउने अवस्थामा फोन गर्न आग्रह गर्नुभएको हो । गुनासो आएको क्षेत्रमा हस्तक्षेप गरेर भएपनि ग्यासको आपूर्ति गर्ने उहाँले बताउनुभएको छ ।
कान्तिपुर दैनिक ले कोइलाखानीका नेपाली मजदुरबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार दाङको घोराहीस्थित उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् ।
कोइलाखानीमा काम गरिरहेका मजदूरका अनुसार ‘खानीको सुरुङभित्र बाटो हुँदैन । आफैं खन्दै हिँड्नुपर्छ । कतै भत्कन थाल्छ । काठ लिएर टेकासो लगाउनुपर्छ । ढुंगा र चट्टान काट्दै अघि बढ्नुपर्छ । भित्र अन्धकार भइरहने हुनाले रात परेको पनि थाहा हुँदैन । बिहान बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बेलुकी बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ ।’ उदयपुरका ५७ वर्षीय निरबहादुर मगरले काम खोज्दै जाँदा दाङ पुगेको र कोइलाखानीको सुरुङभित्र पसेपछि अन्य कामबारे सोच्नै नसकेको बताएको पत्रिकामा उल्लेख छ ।
नागरिक दैनिक ले विदेश जाने ७५ प्रतिशतले घटेको समाचारलाई प्रमुख समाचार बनाएको छ । दैनिक एक हजारको हाराहारीमा वैदेशिक रोजगारीमा युवाहरु जाने गरेको पाइएपनि अहिले यो संख्या घटेर तीन सयभित्र झरिसकेको समाचारमा लेखिएको छ । रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएकोले नेपालीहरु विदेश जाने क्रम रोकिएको पत्रिकामा उल्लेख छ ।