सिन्धुली । हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रि श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइन्छ । आइतबार (आज ) परेको ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । यसै क्रममा सिन्धुलीमा पनि श्रमिक नारी दिवस मनाइएको छ । तर सिन्धुलीमा भने केही फरक तरिकाले नारी दिवस मनाएको देखियो ।
कमलामाई नगरपालिले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर गीट्टी कुटेर जीवन निर्वाह गरिरहेका श्रमिक महिलालाई सम्मान गरेको छ ।
कमलामाई नगरपालिका नगरप्रमुख खड्ग खत्री जिल्लाका संचारकर्मी सहितकको टोलि लिएर सिन्धुलीमाढी भएर बग्ने ग्वाङखोलालगायत खहरे खोलामा गिट्टी बनाउन ढुङगा फोर्दै गरेका महिलालाई काम गरिरहेकै स्थानमा गएर दोसल्ला ओढाएर नगद १ हजारसहित सम्मान गरेको हो । नगरपालिकाको मेयर आफ्नो काम गर्ने स्थानमा नै आएर सम्मान गरेको देख्दा आफू अचम्मित भएको र खुसी भएको फुलकुमारी श्रेष्ठ बताउनुहुन्छ ।
फुलकुमारी मात्रै हैन वर्षौँदेखि गिट्टी कुटेर जीवन निर्वाह गर्दै आउनु भएकी रत्नकुमारी मगर पनि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको बारेमा जानकारी नभएको तर सम्मानीत हुदैँछु भन्ने कुरा साथीहरुबाट थाहा पाएको र सम्मानित हुदाँ खुसी लागेको बताउनुहुन्छ ।
भिडभाड र सभा सम्मेलन गरेर कुनै पनि कार्यक्रम नगर्नु भन्ने नेपाल सरकारको निर्देशनअनुसार महिलालाई काम गरिरहेको स्थानमै गएर सम्मान गरेको नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझिले बताउनुभयो । उँहाका अनुसार काम गरिरहेकै स्थानमा गएर ६५ जना श्रमिक महिलालाई नगदसहित सम्मान गरिएको छ । नगरपालिकाका प्रमुख खड्ग खत्रीले आफूहरुले गरेको मजदुर स्वास्थ्य बिमाको प्रभावकारिता बुझ्न समेत यस किसिमको कार्यक्रम गरेको बताउनुभयो ।
महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका विषय हुने गरेका छन् । सर्वप्रथम २८ फरवरी १९०९ मा मनाउन शुरू गरिएको यो दिवस १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सिन्धुलीको कमलामाई नगरपालिकाले जस्तै अन्य नगरपालिका गाउँपालिकाले पनि श्रमिक महिलम दिवसको अवसरमा आएको रकम सभा समारोह गरेर खर्च गर्नुको साटो यस्तै खालका रचनात्मक काम गररे लक्षित वर्गसम्म पुग्नुपर्ने देखिन्छ ।