पुष्पराज अधिकारी मकवानपुर । सरकारले शत प्रतिशत बालबालिकालाई खोप लगाउने भनेपनि मकवानपुरमा अझै २६ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको तथ्याङ्क स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।
जिल्लामा दोश्रो चरणको खोप अभियान सञ्चालनको तयारीमा रहेको स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षको तथ्याङ्क देखाउँदै भौगोलिक बिकटता र सचेतनाको अभावका कारण २६ प्रतिशत बालबालिका पुर्ण खोपविहीन बनेको बताएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा मकवानपुरमा ७४ प्रतिशत बालबालिकाले दादुरा–रुवेलाको खोप लगाएपनि २६ प्रतिशतले नलागाएको बताउनुभयो । मकवापुरको जस्तै तथ्याङ्क देशभरको रहँदा सरकारले २०१९ सम्म दादुरा–रुवेला नियन्त्रित मुलुक घोषणा गर्ने भनेपनि अभियान सफल नभएपछि सन् २०२३ सम्म पुर्याएको जानकारी दिनुभयो ।
जिल्ला स्तरीय खोप समन्वय समितिले सञ्चालन गर्ने अभियान जिल्लामा दुई चरण चल्ने बताइएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा पहिलो चरणमा चैत १ गतेबाट बकैया, राक्सिराङ, कैलाश, बागमती र मनहरी गाउँपालिकामा र दोश्रो चरणमा हेटौँडा उपमहानगरपालिका, थाहानगरपालिका सहित भिमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकामा सञ्चालन हुने अभियान चैत्र २३ गते सकिने बताइएको छ ।
अभियानमा ९ देखि २४ महिना उमेर समूहका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २ सय ५ जना गरी ४३ हजार ३ सय ३ जना बालबालिकालाई खोप लगाईने समितिले हेटौंडामा पत्रकार अन्तरक्रिया गर्दै जानकारी दिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायाका अनुसार बालबालिकालाई खोप लगाउनका लागि ४४ वटा स्वास्थ्य चौंकी र १ सय २ वटा बडामागरी ५ सय ४१ वटा खोपकेन्द्र मार्फत ४ हजार ६ सय ६२ भाइल खोप लगाईने बताइएको छ । एक भाइल बराबर १० जना बालबालिकालाई खोप दिन मिल्ने छ ।
खोपका लागि ५ सय ८९ खोप कार्यकर्ता, १ हजार १ सय ७८ जना स्वयंसेवकले दिनमा ७३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उनका अनुसार मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिका दादुरा–रुवेला खोपको जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको छ ।