सडक निर्माणमा ठेकेदारको मनमानी

विद्यानन्द राम
राजविराज । सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीद्वारा राजविराज नगरपालिकामा सञ्चालित सडक तथा नाला निर्माण कार्यमा ठेकेदार कम्पनीले मनमानी गरिरहेको पाइएको छ । ठेकेदारको मानमानी विरुद्ध सर्वसाधारणले नै विरोध जनाएपछि गुणस्तरीयतालाई समेत ध्यान नदिइ निर्माण कार्य भइरहेको खुलेको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले राजविराज नगरपालिकामा–३५ करोड रुपैयाँको लागतमा सडक तथा नाला निर्माण कार्य थालेको छ । तर आयोजनाले निर्माणस्थलमा रेखदेख नगर्दा निर्माण कार्यको जिम्मा पाएका ठेकेदार कम्पनीले मनपरी ढंगले निर्माण कार्य गरिरहेको भन्दै सर्वसाधारणहरुले विरोध गर्न थालेका छन ।
आयोजनाले ३ वटा प्याकेजमा नगरभरी कुल ९ दशमलव ६ किलोमिटरमा सडक तथा नाला निर्माण कार्य शुरु गर्न थालेकोमा पहिलो प्याकेजमा ५, दोश्रोमा ६ र तेश्रो प्याकेजमा ८ स्थानमा सडक तथा नाला निर्माण भइरहेको छ । तर निर्माण गर्ने जिम्मा पाएका कान्छाराम जेभीले कतिपय स्थानमा निर्माण कार्य अधुरै छोडेर काम ठप्प गरेका छन् भने निर्माण कार्य भइरहेको स्थानमा पनि गुणस्तरीयतालाई ध्यान नदिएको स्थानीय बताउँछन् ।
वडा नम्वर २ स्थित तेतरीगाछीमा दुई वर्षअघि शुरु गरिएको नाला तथा सडक निर्माण कार्य अलपत्र अवस्थामै छोडेका कारण आवागमन कठिनपूर्ण भएको छ भने खुल्ला छोडिएको नालाले असुरक्षा बढेपछि बालबालिकालाई पनि घरभित्रै राख्नुपर्ने बाध्यता खेप्दै आएको उनीहरुको दुःखेसो छ ।
निर्माणस्थलमा होडिङ्ग बोर्ड पनि नराखेको तथा कामदारलाई हेड गार्ड, पन्जा नै लगाई काममा खटाउँदासमेत ठेकेदार कम्पनीको लापरवाहीप्रति आयोजनाले ध्यान नदिएको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले पनि कुनै कुनै ठाउँमा त्रुटिहरु देखिएको स्वीकार गर्दै सो ठाउँहरुमा त्रुटि सच्याउन प्राविधि खटाइएको जनाएको छ । आयोजक प्रमुख थिङ्गले असारसम्ममा त्यस्ता कुनै पनि गुनासाहरु नरहने दाबी गर्नु भएको छ ।