काठमाडौं । विश्वभर भइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रकोपको मौका छोपेर खाना पकाउने एलपी ग्यास लगायतका खाद्य सामग्रीमा कालोबजारी गर्नेहरु अपराधी भएकाले तिनीहरुलाई कडा कारबाही गर्नुपर्ने सरोकारावालाहरुले बताएका छन् । जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चका सहभागीहरुले प्रकोप बढेकाे अवस्थामा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा व्यापारीहरुले कालोबजारी गरेर कानूनलाई समेत चुनौति दिएकाले सरकार आँखा चिम्लिएर बस्न नहुने त्यस्तालाई साेझै जेल हाल्नु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरसले धनी गरिब, ठूला साना कोही नभन्ने भएकाले संकटको बेलामा सबै एकजुट भएर त्यसको सामना गर्नुपर्ने बताउनुभयो । कोरोनाले प्रधानमन्त्री, मन्त्री, डाक्टर, प्रशासक, सर्वसाधारण कोही चिन्दैन । त्यसैले कालोबजारी गरेर धन थुपार्नुको पनि कुनै अर्थ छैन । महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘सरकारले आवश्यक सुरक्षाको बन्दोबस्त गरेको छ, त्यसलाई सबैले सहयोग गर्नुपर्छ ।’
नेपाल चिकित्सक संघका सहकोषाध्यक्ष डा. विश्वराज दवाडीले कोरोनाको जाँचदर कम भएकाले भाइरस नेदेखिएकाे हुनसक्ने बताउँदै जाँचदर बढाउनुपर्ने माग गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी नै कोरोना भाइरसको उच्च जोखिममा रहेकाले स्वास्थ्यकर्मीलाई सुरक्षित गराउने उपकरण जोहो गर्न सरकारलाई सुझाव दिनुभयो । त्यसो गर्न नसक्दा स्वास्थ्यकर्मीकै भागाभाग हुनसक्ने उहाँको भनाइ थियो ।
ग्यास व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले केही व्यापारीले कालोबजारी गरेका भएपनि सबै व्यवसायीले त्यसो नगरेको एक दुई दिनमै ग्यास आपुर्ति सहज हुने बताउनुभयो । उहाँले कालोबजारी गर्ने व्यापारीलाई सरकारले कडा कारबाही गर्न माग पनि गर्नुभयो । आफूले धेरै ग्यास उठाउँदा छिमेकीको चुल्हो नबल्नेतर्फ पनि ध्यान दिन उपभोक्तालाई उहाँको आग्रह थियो ।
प्याब्सनकी उपाध्यक्ष दीपिका रिमाल थापाले एसइई स्थगित र विद्यालय बन्द भएको भएपनि शिक्षक कर्मचारीको तलब र घरभाडा बुझाउनु पर्ने भएकाले चैत महिनाको शैक्षिक शुल्क फिर्ता नहुने स्पष्ट पार्नुभयो ।
https://www.youtube.com/watch?v=eGy1_-oK_uI&list=PLT8LMrml4tPGwvpdQ7IOz1tt1qxWSyF4G