काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपालीले पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो ।
साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार ४ सय ४१ रूपैयाँमा कांग्रेस प्रवक्ता तथा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर हस्तान्तरण गर्नुभएको हो ।
‘कोरोना जस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔँ भन्ने आग्रहका साथ साइप्रसको नेपाली जनसम्पर्क समिति, साउदी, युएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको एक लाख ३५ हजार ४ सय ४१ रुपैयाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ, श्रदेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ,’ प्रवक्ता शर्माले भन्नुभयो ।
महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देश बाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताउनुभयो । ‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला', पुनले भन्नुभयो, 'सीमित स्रोत साधन होला, आशा गनुपर्छ, बिस्तारै दायरा फराकिलो हुनेछ ।'