पुष्पराज अधिकारी मकवानपुर । स्थानीय तहसँगको सहकार्यमा बागमती प्रदेश सरकारले ३ सय ३७ वटा आइसोलेसन बेड तयार पारेको छ । सरकारले प्रदेशका विभिन्न जिल्लामा स्थानीय तहसँगको सहकार्यमा सम्भावित कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेड तयार पारेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
संक्रमण फैलिएको आशंकामा उपचारमा आएकाको उपचारलाई उच्च सतर्कताका साथ सरकारले काम गरी रहेको मन्त्रालयका मन्त्री युवराज दुलालले बताउनुभयो ।
सरकारले पहिलो चरणमा हेटौँडा, चितवन, भक्तपुरमा आइसोलेसन बेड तयार गरेर काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा तयार भएका बेडमा बिरामीको संख्याको आधारमा नयाँ बेडको व्यवस्थापन गर्ने तयारी सरकारले गरेको छ ।
सरकारले अहिले तयार पारेका बेडलाई विश्व स्वास्थ्य संगठनले तयार पारेको न्यूनतम मापदण्ड लागू गर्ने मन्त्री दुलालले जानकारी दिनुभयो । अहिले भएका आइसोलेसनको संख्या नबढाई मापदण्डमा ध्यान दिने मन्त्रालयले जनाएको छ । सरकारले अहिले देश र विदेशबाट आएकाको संख्या खोजी गरी क्यारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदै संक्रमण फैलन नदिनका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रोगको संक्रमण फैलिन नदिनका लागि सरकारले हेटौँडा, चितवन र धुलिखेलमा रहेको ल्याबलाई सञ्चालन गर्ने तयारी सरकारले गरेको मन्त्रालयले जनाएको छ ।
संक्रमण फैलन नदिनका लागि सरकारले संघीय सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको मन्त्री दुलालले बताउनुभयो । उहाँका अनुसार बागमती प्रदेशमा कोरोना संक्रमणको आशंकामा २६ जनाको नमूना संकलन र परीक्षण गरिएकोमा २५ जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
सरकारले कोरोना संक्रमितको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण पठाउन शुरु गरेको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा आइपुगेका सामग्री चितवनबाट धादिङ हुँदै नुवाकोटतर्फ र सिन्धुलीबाट रामेछाप हुँदै काभ्रेसम्म बाड्नका लागि टोली परिचालन गरेको बताइएको छ । मन्त्रालयले १ सय ७५ वटा पीपीई प्रदेशका सरकारी अस्पताललाई उपलब्ध गराइसकेको छ भने ४ सय बटा बाँड्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीपीई, थर्ममिटर, मास्कसहितका सर्जिकल सामग्री जिल्ला अस्पतालमा पुर्याउन टोली गठन गरेर परिचालन गरिसकेको बताइएको छ ।
हेटौँडामा ३० बेडको आइसोलेसन तयारकोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हेटौँडा अस्पतालले हेटौँडामा ४ आइसियुसहित ३० बेडको आईसोलेसन तयार भएको छ । सरकारले लकडाउन गरेको चौंथो दिन अस्पतालले हेटौँडा–४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलेसन तयार पारिएको हो । विद्यालयको नयाँ भवनमा आइसोलेसन निर्माण गरिएको हो ।
तयार पारिएको आइसोलेसन निर्माणको काम सकिएकाले अब बिरामी देखापरिहालेमा राख्न सकिने भएको छ । विद्यालयका विभिन्न कोठामा ३० बेडको आईसोलेसन निर्माण गरिएको हेटौँडा अस्पताल अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । ४ वेडको आइसियूसहित दुईवटा भेन्टिलेटर समेत रहेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो । अस्पतालले आइसोलेसन तयार पारेसँगै शनिबारमात्रै ३ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा चिकित्सकका लागि १९ वटा पीपीई (सुरक्षा सामग्री) आएको हेटौँडा अस्पतालले जनाएको छ ।