काठमाडौं । पर्यटकीय गन्तव्यको रुपमा चिनिने युरोपियन मुलुक माल्टाले नेपालीहरुको भिसा धामधम रद्द गर्न थालेको छ । कोरोना भाइरसको संक्रमणले चपेटामा परेपछि नेपालीहरुको भिसा रद्द थालेको हो । रोजगारदाता कम्पनीहरुले भिसा रद्द थालेपछि त्यहाँ कार्यरत ३ हजार ५ सय भन्दा बढी नेपाली अन्यौलमा परेका छन् ।
होटल, रेष्टुरा, लज, बार, सिनेमा हल, क्यासीनो लगायतमा कार्यरत नेपालीहरु भिसा रद्द हुन थालेपछि चिन्तित बनेका हुन् ।माल्टामा मार्च ७ मा १२ वर्षीया इटालियन बालिकाबाट सुरु भएको कोरोना संक्रमण शनिबार दिउँसोसम्म १ सय ५० जनामा पुगेको छ । अहिलेसम्म कोही पनि नेपाली संक्रमित छैनन् ।
कोरोना भाइरसको संक्रमणले व्यवसाय बन्द हुन थालेपछि रोजगारदाता कम्पनीहरुले अब काम दिन नसकिने बताउँदै नेपाली श्रमिकहरुलाई धमाधम जागिरबाट निकाल्न थालेका छन् । रोजगादाता कम्पनी एसएसएमले आफ्ना ४० जना कामदारको भिसा रद्दका लागि प्रकृया थालेको गैह्र आवासीय नेपाली संघ माल्टाका अध्यक्ष राजु अर्याल “बाबु” ले बताएका छन् ।
यस्तै टोटल म्यानेज्मेन्ट कम्पनीले २ सय ३४ जनाको भिसा रद्द गर्न कामदारहरुलाई निवेदन दिइसकेका छन् । केही कम्पनीहरुले भने अहिले आफ्ना कामदारहरुसँग भिसा रद्दको सट्टा केही शर्तनामा अघि सारेका छन् । कम्तिमा २ देखि ३ महिनासम्म समय दिने, त्यतीबेला सम्म अन्य कम्पनी खोजेर काम गर्न भनेका छन् । सो अवधिमा खान र बस्न दिए पनि तलब नदिने बताएका छन् ।
करिब ५ लाख जनसख्या रहेको टापु राष्ट्र माल्टा दक्षिण इटालीबाट ८० किलोमिटरको जल यात्राको दूरीमा पर्दछ । सन् १९८३ मा नेपाल र माल्टाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । माल्टामा नेपाली राजदूताबास तथा नियोग छैन, बेलायतस्थित नेपाली नियोगले नै माल्टालाई पनि हेर्दै आएको छ ।