काठमाडौं । शनिबार राजधानीबाट प्रकाशित कान्तिपुर र नयाँ पत्रिका दैनिकले विभिन्न फरक/फरक विषय प्रमुख समाचारका रुपमा प्रकाशित गरेका छन् । पत्रिकाले सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनीको भूमिकाबारे समाचार बनाएका छन् ।
शुक्रबार जनता समाचार डटकम मा राष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणप्रति सतर्कता अपनाउन गर्नुभएको आग्रह, सरकारले ध्यान दिनैपने केही बुँदा, ‘पोखरामा कोरोना देखिएको छैन’, वडाध्यक्ष तुम्बापोको निधन, ‘स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता छानविन हुनुपर्छ’, कपिलवस्तुमा आगलागी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको मास्क लगाउन चाहनेले लगाउन सक्ने तर अनिवार्य नभएको अभिव्यक्ति लगायतका समाचार प्रकाशन गरिए ।
कान्तिपुर दैनिक ले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर खरिदको जिम्मा नेपाली सेनालाई सुम्पेको विषयमा पूर्व मुख्यसचिव विमलप्रसाद कोइरालाले सेनालाई नै सबै राजकाज गर्न दिने हो कि भन्ने जस्तो सन्देश गएको टिप्पणी गर्नुभएको विषयलाई जोड्दै प्रमुख समाचार छापेको छ ।
यसअघि विभिन्न व्यापार–व्यावसाय र सरकारी आयोजनाका ठेक्कापट्टामा जोडिएको सेनालाई यसपटक कोभिड–१९ रोकथाम एवम् उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा संलग्न गराइएको हो। सरकारको यस्तो निर्णयसँगै नागरिक प्रशासनको विकल्पमा जंगी प्रशासनलाई किन सक्रिय पारियो ? भन्ने बहस पनि सुरु भएको समाचारमा विश्लेषण गरिएको छ ।
नयाँ पत्रिका दैनिक मा सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनी पनि बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै रहेको समाचार छापिएको छ । समाचारमा गलैंचा र गाडीका पार्टपूर्जा आयात गर्ने भनेर सञ्चालन गरिएको कम्पनीलाई सरकारले विना प्रतिस्पर्धा स्वास्थ्य सामग्री खरीद गर्ने ठेक्का दिएको उल्लेख छ ।
पत्रिकामा लेखिएको छ, ‘गलैंचा तयारी पोशाक तथा गाडीका पार्टपूर्जा आयात गर्ने र सफ्टवेयर उत्पादन गरी निर्यात गर्ने भनेर सञ्चालित कम्पनीले मेडिकल सामग्री आयात गर्ने ठेक्का पाएपछि के हुन्छ ?’ विद्यालयका पाठ्यपुस्तकहरु छाप्ने जनक शिक्षा सामग्रीको साढे ४७ करोडको कागज खरिद गर्ने ठेक्का पनि ओम्नीले नै पाएको समाचारमा उल्लेख छ ।