काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश गर्दै आएको बताउनुभएको छ । नेकपा स्थापनाको ७१ औं वर्ष प्रवेशको अवसरमा आफ्नो शुभकामना सन्देशमा प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनले विश्व कम्युनिष्ट आन्दोलनलाई पनि नयाँ र मौलिक सन्देश दिएको उल्लेख गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा ‘सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद हुँदै साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको’ उल्लेख छ ।
कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान र सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धी हासिल भएको स्मरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले आफूहरुलाई लक्ष्यप्रति समर्पित हुन प्रेरणा दिएकोको जोड दिनुभएको छ ।
सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीद तथा वेपत्ताहरुको योगदानको स्मरण गर्नुहुँदै अध्यष प्रचण्डले भन्नुभएको छ, ‘यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।’
तर नेकपाको ऐतिहासिक एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागिरहेको उहाँको भनाइ छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो ।’
नेकपाको एकतालाई मजबुत पार्न अपिल गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीभित्र खुला र जनवादी छलफलका माध्यामबाट तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् एकतालाई थप सुदृढ बनाउन सकिने र यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको उल्लेख गर्नुहुँदै प्रचण्डले सरकारका प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायलाई दृढतापूर्वक अवलम्बन गर्न पनि आम नागरिकलाई आह्वान गर्नुभएको छ ।