मलाइ एक्कासी रुन मन लाग्यो, डर लाग्यो, दुखेको पेट झन् बेस्सरी दुख्न लाग्यो । के गरौँ, कसो गरौँ झैँ भयो । मेराे सानाे दिमागमा डर र त्रासले डेरा जमायाे । म कुदेर आमाकहाँ गएँ । कसरी भनौँ, के भनौँ झैँ भयो । डर पनि लाग्यो । एक्कासी रुन थालेँ । आमाले मलाई फकाउँदै सोध्नुभयो, ‘के भयो ? भोक लाग्यो ? कसैले केही भन्यो ? किन रोएको ? मैले रुदै भने, सानो पेट दुख्या छ, भित्री कपडामा कसरी हो कसरी रगत देखा पर्यो ।’
मात्र १२ वर्षकी भएकी थिएँ म । १२ वर्ष पुग्दासम्म कहिल्यै त्यसरी दुखेको थिएन मेरो पेट । बिस्तारै दुख्दै दुख्दै एक्कासी भक्कानिने गरी मेरो पेट दुख्न थाल्यो । यसो सम्झिन खोजेँ हिजो अमिलो पिरो पनि केही खाएको सम्झना भएन । नत्र पखाला लाग्नलाई दुखेको हो भन्ने सोच्न पनि सक्थेँ ।
कसरी यो दुखाई निको पार्न सक्छु भन्ने उपाय सोच्न लागेँ । एक रुपैयाँमा आउने एक प्याकेट हाजमोला मेरो दुखाईको एकमात्र असली औषधी हो भन्ने उपाय मेरो कलिलो बुद्धिले सोच्न लाग्यो । उपाय सोच्न सकेकोमा म दङ्ग भएँ । कुदेर गएर एउटा हाजमोला किनेर उत्तिखेर नै खाएँ पनि । तर त्यो मेरो उपायले छेउ टुप्पो पनि काम गरेन । मलाई दिक्क लाग्यो । पेटले दुखाई कम गर्न केही उपाय गर भनेको जस्तो भान हुँदैथियो । मलाई कता कता ट्वाइलेट जाउँजाउँ पनि भइरहेको थियो । यसै बीचमा म ट्वाइलेटभित्र पसेँ । पिसाब गर्दैगर्दा रातो केही बगे झैँ देखेँ । मलाई डर लाग्न थाल्यो । यसोभित्री कपडामा हेर्ने दुस्प्रयास गरेँ । त्यहाँ त झन् रातो रगत लतपत्तिएको रहेछ । अब भने म कत्ति हो कत्ति आत्तिएँ ।
मलाइ एक्कासी रुन मन लाग्यो, डर लाग्यो, दुखेको पेट झन् बेस्सरी दुख्न लाग्यो । के गरौँ, कसो गरौँ झैँ भयो । मेारे सानाे दिमागमा डर र त्रासले डेरा जमायाे । म कुदेर आमाकहाँ गए । कसरी भनौँ, के भनौँ झैँ भयो । डर पनि लाग्यो । एक्कासी रुन थालेँ । आमाले मलाई फकाउँदै सोध्नुभयो, ‘के भयो ? भोक लाग्यो ? कसैले केही भन्यो ? किन रोएको ? मैले रुदै भने, मलाई पेट दुख्या छ, भित्री कपडामा कसरी हो कसरी रगत देखा पर्यो ।’
यति भनेपछि आमाको अनुहारमा हेर्ने प्रयास गरेँ । आमा मुसुक्क हाँस्नु भयो र भन्नूभयो ‘सबै केटी मान्छेलाई उमेर पुगेपछि यस्तै हुन्छ । महिनामा ४ दिन यस्तै हुन्छ । अब तेरो पनि शुरु भयो ।’
मलाई झल्यास्स याद आयो मेरो काकाको छोरी पनि पहिलो पल्ट महिनावारी हुँदा काका, दाइ र भाइले मात्र होइन केटा मान्छे कसैले नदेख्ने गरी सात दिनसम्म स्कूल नै नपठाई लुकाएर राखिएको थियो । मैले सोचेँ अब म पनि कसैले नदेख्ने गरी लकेर बस्नुपर्छ होला, स्कूल पनि जान नपाउने भएँ । सम्झिदा नै नराम्रो लाग्यो मलाई ।
उत्तिखेरै आमालाई सोधिहालेँ, आमा अब म पनि लुक्नुपर्छ हो ? आमाले मुसुक्क हाँसेर भन्नुभयो, ‘पर्दैन ।’ एकैछिन् म छक्क परेँ म चाहिँ किन लुक्नु नपर्ने होला । खुशी पनि लाग्यो । उत्सुकताका साथ मैले आमालाई सोधिहालेँ, ‘काकाकी छोरी त सात दिनसम्म लुकेकी थिइन नि त कोही पनि केटा मान्छेले नदेख्ने गरी, स्कूल पनि गएकी थिइनन् । किन त ? आमाले दिक्क मान्दै भन्नुभयो, ‘अन्धविश्वासी भए काका काकी । महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने कुरा बुझेनन् । आराम गर्नु त पर्छ तर भान्छामा नै पस्न नहुने होइन, कसैलाई हेर्न नै नहुने होइन, बोटबिरुवा छुनै नहुने होइन भन्ने कुरा बुझेनन् । त्यसैले लुकाएर राखे, स्कूल पनि पठाएनन् ।’
ओहो ! मेरा बाआमा अशिक्षित हुँदा पनि कति बु्ज्झकी, कति ज्ञानी, कति राम्रा, कति भलाद्मी । भान्छामा चिया पकाउन छिर्दै गर्दा मैले सोचेँ । म अतिनै खुशी थिएँ, सन्तानमा म पहिलो छोरी थिएँ जसले पहिलो महिनावारीमा लुक्नु परेन, भान्छामा परिवारसगैँ बसेर खान पाएँ, बोटबिरुवालाई छुन पाएँ, छुवाछुत बार्नु परेन, महिनावारी जस्तो जटिल समयमा आमा, दाजु र बाबाको साथ, सहयोग र न्यानो माया पाएँ । ओहो ! म कति आशिशीत छोरी ।
महिनावारी एउटा प्राकृति प्रक्रिया हो । जसलाई हामी सबैले बुझेको हुनुपर्छ । महिनावारीको समयमा महिलालाई फरक ठाँउ र फरक ओछ्यान होइन मायालु भाव, साथ र सहयोगको जरुरत पर्छ ।
महिनावारीको समयमा महिलालाई कम्तिमा पनि चारदेखि ६ दिनसम्म अरु दिन भन्दा थप पौष्टिक खानेकुराको आवश्यकता, सरसफाई र आरामको जरुरत पर्छ । परिवर्तन आफैबाट शुरु हुन्छ । एक कदम आफू बढाउने कोशिस गराैँ बाँकी कदम अघि पछिकाले पक्कै बढाउनेछन् ।