काठमाण्डौ । नेपालमा ५४ हजारभन्दा बढीको कोरोनाभाइरस परीक्षण गरिएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार ५४ हजार ८ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा मात्र एक हजार एक सय ९३ जनामा कोरोना परीक्षण भएको छ । पीसीआर र र्यापिड टेष्ट विधिबाट गरिएका परीक्षणमा अहिलेसम्म ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
मंगलबार राति काठमाडौंमा एकजनामा भाइरस संक्रमणको आशंका गरिएको छ । र्यापिड टेष्टमा मुलपानीका एक युवामा संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । उनको अन्तिम परीक्षणका लागि उनकाे स्वाब टेकु अस्पताल पठाइएको छ ।
काठमाडौंको टेकु अस्पतालमा मात्र काेराेना परीक्षण गर्ने सुविधा भएकोमा हाल सातै प्रदेशका विभिन्न जिल्लामा परीक्षण गर्न सकिने व्यवस्था भएको छ ।
अहिलेसम्म प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा काेराेना परीक्षण भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छ । त्यस्तै प्रदेश २ मा ५ हजार २ सय ४९ जना, बागमती प्रदेशमा ८ हजार १४ जना तथा गण्डकी प्रदेशमा ४ हाजर ९ सय ३६ जनामा काेराेना परीक्षण गरिएकाे छ ।
प्रदेश पाँचमा ५ हजार ३ सय २८ जनामा काेराेना परीक्षण गरिएकाे छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १२ हाजर २ सय ८३ जनामा काेराेना परीक्षण भएकाे छ ।
कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ जनाको र्यापिड टेष्टबाट परीक्षण सम्पन्न भएको स्वास्थ्य मन्त्रालयकाे भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा २२ हजार ९९ व्यक्ति रहेका छन् । १ सय ७ जना सम्भावित संक्रमितको सूचीमा आइसोलेसनमा रहेको जनाइएको छ ।