सचिवालय बैठकअघि ओली–गौतम भेटवार्ता : नेकपामा फेरि तरङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपाका अध्यक्षसमेत रहनु भएका ओली र उपाध्यक्ष गौतमबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह छलफल भएको हो । दिउँसो ४ बजेपछि नेकपाको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले सचिवालय बैठक बस्नुअघि उपाध्यक्ष गौतमसँग छुट्टै छलफल गर्नुभएको हो । उहाँहरुबीच के विषयमा छलफल र सहमति भयो ? दुवै पक्षले त्यसलाई गोप्य राखेका छन् ।
नेकपा (एमाले) को नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन गौतमको निर्णायक भूमिका रह्यो । त्यसबेला ओलीले केही समयपछि गौतमलाई पार्टीको कार्यवाहक दिने सहमति समेत गर्नुभएको थियो । ओली गौतमकै भूमिकामा पार्टी अध्यक्ष, संसदीय दलको नेता हुँदै संविधान जारी भए लगत्तै प्रधानमन्त्री समेत बन्नुभयो । तर प्रधानमन्त्री बनेपछि भने ओलीले गौतमसँगको सहमति पालना नगरेको आरोप समेत लाग्यो ।
त्यस्तै एमाले र माअेवादी केन्द्रबीचको एकतामा पनि गौतमको उल्लेखनीय भूमिका छ । एमाले र माओवादी तालमेलसहित चुनावमा होमिए पनि गौतम भने गृह जिल्ला बर्दियाबाटै अकल्पनीय रुपमा पराजित हुनुभयो । अन्य सबै नेता विजय भए । निर्वाचनपछि ओली फेरि प्रधानमन्त्री बन्नुभयो । गौतमको सहयोग र सक्रियताकै कारण पार्टीको नेतृत्व गर्ने अवसर पाउनु भएका ओली अहिले पनि मुलुकको प्रधानमन्त्री हुनुहुन्छ ।
उता गौतम भने चुनावमा अप्रत्यासित रुपमा पराजित भएपछि भूमिकाविहीन हुनुभयो । केही महिनाको मौनतापछि गौतमले पार्टीमा आफूले गरेको योगदानको फेहरिस्त देखाउँदै भूमिका खोज्न थाल्नुभयो । नेकपाले गौतमलाई त्यसपछि केही महिना अघि उपाध्यक्ष बनाएको हो । उपाध्यक्ष भएपछि गौतम केही समय फेरि मौन बस्नुभयो । केही समयको मौनतापछि गौतमले थप जिम्मेवारी र भूमिका खोज्न थाल्नुभएको छ । उपाध्यक्ष गौतम पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर प्रधानमन्त्री फेर्ने खेलमा समेत लाग्नुभएको छ ।
उपाध्यक्ष गौतम अध्यक्ष दाहालसँग मिलेर आफ्नो विरुद्धमा लाग्न थालेपछि प्रधानमन्त्री ओलीले यसअघि बुधबार भएको सचिवालय बैठकमा उहाँलाई प्रधानमन्त्री बनाउने आश्चर्ययुक्त प्रस्ताव राख्नुभयो । प्रधानमन्त्रीले अचानक त्यस्तो प्रस्ताव राखेपछि गौतमको अध्यक्ष दाहालतिर भन्दा फेरि ओलीतिर झुकाव बढ्न थालेको छ । प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच शनिबार भएको छुट्टै भएको भेटवार्ताले त्यसको पुष्टि गरिसकेको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र गौतमबीच भएको भेटवार्ताले पार्टीमा फेरि अर्को तरङ्ग आउने देखिएको छ ।