व्यवसायीसँग सापटी मागेर गाउँपालिकाले बाँढ्यो भत्ता

दैलेख । गुराँस गाउँपालिकाले स्थानीय व्यवसायीसँग सापटी मागेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न देशमा लकडाउन जारी रहेको समयमा समस्यामा रहेका राउटेहरुलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितण गरेको हो ।
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चु नजिक बसाइँ सरेका छन् । गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताउनुभयो । सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार भत्ता दिँदै आएको छ । काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण समस्यामा परेको थियो ।
भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेलाई आवतजावतमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो ।