आइतबारदेखि सवारी सञ्चालनमा कडाइ, कार्यालय आउने जाने समय तोकियो

काठमाडौं । भोलि (आइतबार) देखि काठमाडौं उपत्यकामा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच आज (शनिबार ) भएको छलफलले सो निर्णय गरेको हो । छलफलले सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने पनि निर्णय गरेको छ ।
यो निर्णयसँगै अब तोकेको समयमा मात्र सवारी चलाउन पाउने छ । सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनुपर्नेछ । त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ ।
निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।