काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । केहि दिन अघिसम्म एक सयको आसपासमा रहेको कोरोना संक्रमण दुईतीन दिनमै ह्वात्तै बढेर बुधबारसम्ममा संक्रमित संख्या २१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रदेश नम्बर २ प्रभावित छ । त्यहाँ ९६ जनामा संक्रमण देखिएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ७२ र प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ९, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको छैन् । संक्रमितमध्ये १ सय ७६ जना पुरुष र ४३ महिला छन् ।
मन्त्रालयका अनुसार यो २४ घण्टामा २ हजार ३ सय ५७ पिसिआर र ६ ससय ९२ वटा आरडिटी परीक्षण भएका छन् । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन् ।
देशभरीका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ५९, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४, बागमती प्रदेशमा १ सय १ र गण्डकी प्रदेशमा २ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन् ।
अहिले देशका विभिन्न अस्पलालमा २ सय ४५ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा ९८, बागमती प्रदेशमा २५ (उपत्यकामा ६ समेत गरी) र प्रदेश नम्बर ५ मा १ सय १ जना आइसोलेसनमा छन् ।