काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य एकिन्द्र कुँवरले कोरोना संक्रमण महामारीका कारण जारी लकडाउनमा अफ्ठयारोमा परेको समुदायलाई राहत वितरण गरेका छन् । कुँवरले लकडाउनमा दैनिकी चलाउन मुस्किल हुने दैनिक ज्यालादारीबाट जिवन निर्वाह गर्दै आएका मजदूर र विद्यार्थीलाई व्यक्तिगत रुपमा राहत वितरण गरेका हुन ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर कुँवरले बिहीबार १ सय १० परिवारलाई राहत वितरण गरेका छन् । आवश्यकता पर्दा राहत सहयोग जारी राख्ने कुँवरको भनाइ छ । ‘विश्वव्यापी असहज स्थितिको अन्त्य होस् भन्ने कामना गर्दै कसैले पनि असहज स्थितिको सामना गर्नु नपरोस्, अफ्ठ्यारो पर्नेहरुलाई सकेको सहयोग गर्छु’ कुँवरले भने ।
कुँवरले यसअघि पनि कीर्तिपुरमा केही दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, बिरामी कुरुवा, मजदुर, अपाङ्ग, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई पनि कुँवरले राहत उपलब्ध गराउनुभएको छ ।
कुँवरले गत चैत १२ गते सुदूरपश्चिममा पहिलो कोरोना भाइरस संक्रमित भेटिएपछि संकलन गरिएको ७० जना भन्दा बढीको स्वाब आफ्नै गाडीमा परिक्षणका लागि काठमाडौं ल्याएको बताए । उनले राहत वितरणमा भिडभाड नहोस् भन्ने उद्देश्यलेघर घरमै पुगेर राहत वितरण गर्दै आउका छन् ।
केही दिनमै गृह जिल्ला अछामको वयलपाटास्थित न्याय हेल्थ नेपाललाई स्वास्थ्य मन्त्रालयको सहकार्यमा स्वास्थ्य सामाग्री दिने तयारी गरिरहेको उनले जानकारी दिए । कुँवरका अनुसार १० थान ज्वरो नाप्ने थर्मगन, १ सय थान केएन ९५ मास्क, १ सय थान पीपीई सेट, १० हजार थान सर्जिकल मास्क, १० हजार थान पञ्जा र २ सय लिटर सेनिटाइजर न्याय हेल्थ नेपाललाई उपलब्ध गराइनेछ । सामग्री कुँवरले आफ्नै खर्चमा उपलब्ध गराउने र त्यसका लागि सोमबार अछाम जान लागेको उनले बताए ।