७ सञ्चारकर्मीसहित २ सय ६५ जनाको स्वाब संकलन

कपिलवस्तु । कपिलवस्तुमा ७ सञ्चारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लाका विभिन्न पालिकामा स्वाब संकलन गरी शुक्रबार प्रदेश नम्बर ५ को भैरहवास्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु अस्पतालमा १ सय १०, महाराजगञ्ज नगरपालिकामा १ सय ५ र विजयनगर गाँउपालिकामा ५० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । रिपोटिङका क्रममा जोखिममा परेका ७ जना पत्रकारले महाराजगञ्ज नगरपालिका–८ सिसवा स्वास्थ्य चौकीमा पिसिआर टेस्टका लागि स्वाब दिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । पत्रकार महासंघले जिल्ला स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयलाई पिसिआर टेस्टका लागि माग गरेको थियो । राजमार्ग क्षेत्रका २, तौहिलावाका २ र कृष्णनगर क्षेत्रका ३ जनाको स्वाब संकलन गरिएको हो ।
यस्तै ४ दिनअघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सक्रमित भेटिएपछि शुक्रबार अस्पतालका स्टाफ, प्रहरी, नर्सका परिवार गरी कुल १ सय ५ जनाको स्वाब संकलन गरिएको फोकलपर्सन थापाले बताउनुभयो । बिहीबार मात्र अस्पतालका मेसु र संक्रमति नर्ससहित ७ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै विजयनर गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ५० जनाको समेत शुक्रबार स्वाब संकलन गरिएको छ । भारतको विभिन्न शहरबाट फर्केर क्वारेन्टाइनमा ७ दिन बिताएकाहरुको स्वाब संकलन गरिएको हो । हालसम्म कुल ९ सय ३४ जनाको स्वाब संकलन गरिएको छ ।
पुरानो ६ सय ६९ मध्ये अब २८ जनाको मात्र रिपोर्ट आउन बाँकी छ । शुक्रबार साँझसम्म जिल्लामा ४० जना संक्रमति भेटिएका छन् । जसमध्ये ३३ जना भारतका विभिन्न शहरबाट फर्किका हुन् । यस्तै चार सुरक्षाकर्मी, एक नर्स, २ कर्मचारी र एक ६ वर्षीया बालिका छन् । शक्रबारसम्म पिसिआर टेस्टको स्वाब संकलनका लागि १ हजार २७० भिटिएम कीट प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो ।