काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमण झन जटिल बन्दै गएपछि अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न सचेत गराएको हो ।
कोभिड १९ को संक्रमण बढ्दै गएपछि यसबाट सुरक्षित हुन स्वास्थ्यसम्बन्धी सबैखाले सुरक्षा सतर्कता अपनाउन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।
केही व्यक्तिले स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य गरिरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले विश्वव्यापी महामारीका विरुद्ध लड्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने प्रष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा समाजमा अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । मन्त्रालयको आदेशमा भनिएको छ, ‘बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानूनबमोजिम हदैसम्मको कारवाही गरिनेछ ।’
मन्त्रालयले सरकारको निर्णय अनुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने जोसुकैलाई कानून बमोजिम सजाय दिइने पनि स्पष्ट गरेको छ ।