फाइल तस्बिर
बन्दना पोखरेल पाल्पा । अहिले विश्व कोरोना भाइरसका कारण लकडाउनमा छ । त्यसका कारण कैयौ कलकारखाना, होटल व्यावसाय सबै बन्द छ, जसले गर्दा भारत तथा तेस्रो मुलुकमा काम गर्ने नेपालीहरू राेजगारी बन्द भएसँगै अलपत्र परेका खबर आएका छन् ।यसैबीच पाल्पाले सीमामा अलपत्र परेका नागरिकलाई उद्वार गरेको छ ।
पाल्पाका स्थानीय तहको पहलमा कृष्णनगर र सुनौली नाकामा अलपत्र अवस्थाका नेपालीलाई पाल्पा ल्याइएको छ । भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउँन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताउनुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसीआर गरिएको छ । रामपुर नगरपालिकामा-२४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा ३, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहुँका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसीआर परीक्षण गरिएको संयोजक भट्टराईले बताउनुभयो । कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको हो ।
कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७ र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टिनमा राखिएको संयोजक भटटराईले बताउनुभयो । तानसेनस्थित होल्डिङ क्वारेन्टिनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो ।
कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको बताइएको छ । गाह्रो साह्रो पर्दा नागरिकलाई सहयोग गर्नु सरकारको कर्तव्य हो । अहिले आफ्नो माटो सम्झेर आफ्नो जन्मभूमि सम्झेर आउन चाहने भारत तथा तेस्रो मुलुकमा काम गर्ने नागरिक घर फर्कन चाहेका छन् यस बखत सरकारले सहयोग गर्न जरुरी छ ।