बागलुङ । वैदेशिक रोजगारीका लागि भारत पुगेर जिल्ला फर्किएकाहरुको कोरोना परीक्षण शुरु गरिएको छ । जिल्ला फकिएका बडिगाड गाउँपालिकाका स्थानीयको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । भारतका विभिन्न स्थानबाट नेपाल फर्किने क्रममा सीमामा अलपत्र परेकाहरुलाई उद्दार गरेर जिल्ला पुर्याइएपछि कोरोना जाँच गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार त्रिभुवन मावि र भानु माविमा निर्माण गरिएका क्वारेन्टाइनमा राखेर उनीहरुको कोरोना परीक्षण गरिने भएको छ । आइतबार त्रिभुवन माविमा राखिएका ६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिने भएको छ ।
गाउँपालिकाले आइतबारसम्म भारतको विभिन्न राज्यबाट फर्केर सिमामा अलपत्र परेका ७६ पुरूष, ३ महिला र १ जना बच्चा गरी आइतबारसम्म ८० जनाको उद्वार गरिएको जनाएको छ। भारतबाट आउनेमध्ये बडिगाड गाउँपालिका वडा नम्बर १ का ३, वडा नम्बर २ का २, ३ का ११, ४ का १९, ५ का १५, ७ का १६, ८ का ९ र ९ का ५ जना रहेको ‘केस इन्भेष्टिगेशन एण्ड कन्ट्रयाक ट्रेसिङ’ का प्रमुख चुरामणी कँडेलले जानकारी दिनुभयो ।
हालसम्म भानु मावि र त्रिभुवन माविको क्वारेन्टाइनमा ४०/४० जना राखिएको र अब थपिने नागरिकलाई बुद्व मावि र भीमगिठे माविको क्वारेन्टाइनमा राख्ने तयारी अध्यक्ष पाइजाको भनाइ छ । उहाँका अनुसार आइतबार मात्रै करिब ३० पालिकामा भित्रिने क्रममा छन् । क्वारेन्टाइनमा बस्नेहरुका लागि गाउँपालिकाले गास र बासको व्यवस्थासमेत गरिएको जनाएको छ ।
त्यस्तै, जिल्लामा भित्रिएका नागरिकको स्वास्थ्य परीक्षणबारे शनिबार बडिगाड, ढोरपाटन, निसी र तमानखोलाका प्रमुखबीच पनि छलफल भएको छ । छलफलमा आ-आफ्नो स्थानीय तहका नागरिकको उद्वार तथा व्यवस्थापनमा ध्यान दिइने सहमति भएको बताइएको छ ।