विद्यानन्द राम सप्तरी । ‘गरिबी आफ्ना परिवारका लागि अभिसाप नै सावित भए, पतिको मृत्यु हुँदासमेत ५ दिनमै सबै किरिया गर्नु पर्दाको पिरलो छ, त्यसमाथि यही बेला अन्नपात सकिएर छाक टार्न समस्या आइलाग्यो’ उनी भन्छिन्–‘खै के ठुलो रोगबाट बचाउन बन्दाबन्दी गरिएको छ अरे ?, तर आफू जस्ताका लागि भोक पनि ठुलै रोग हो भन्ने कुरा सरकारले वुझ्न सकेकै छैन।’
यो दुखेसो सप्तरीको बोदे बरसाईन नगरपालिका–३ गौराकी ४८ वर्षीया भोगियादेवी रामको हो । जंगलवाट दाउरा ल्याएर बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका ५० वर्षीय पति गोविनको गत चैत्र १७ गते मृत्यु भएपछि भोगियादेवी समस्यामा परेकी छिन् ।
‘चैत्रको शुरुमै उहाँ बिरामी पर्नुभो, हातमुख जोर्नै समस्या खेप्दै आएकोले उहाँको उपचार पनि गराउन सकिएन’ रामले भनिन्–‘पैसा नहुँदा हिन्दू धर्म संस्कारअनुसार १३ दिनसम्म हुनुपर्ने किरिया पनि ५ दिनमै गर्नुपर्यो ।’ रामले बन्दाबन्दीका कारण यतिवेला छाक टार्न कठिन भएको दुःखेसो गरिन् । ‘बन्दाबन्दी भन्दाअघि त आफू पनि अरु घरमा भाडा सफा गरेर तथा बालबालिकालाई स्याहार गरेर पनि दुईचार पैसा र केही चामल ल्याइहाल्थे’ रामले भनिन्–‘तर यतिबेला घर बाहिर निस्किन पाएकै छैन, अर्कोतर्फ कसैले काम पनि दिँदैनन्।’
हुँन त रामका २२ वर्षीय छोरा रामचन्द्र र बुहारी पनि छन् । रामचन्द्रले पनि २ महिनादेखि काम पाएका छैनन् । जसका कारण तीन सदस्य परिवारको गुजारा कसरी चल्ने विषयले भोगियादेवीलाई पिरोलेको छ । ‘यस्तै रह्यो भने रोगले भन्दा पनि भोकले मर्ने पक्कापक्की नै छ’ उनले भनिन्–‘आफू जस्ता दलित अति विपन्नलाई कसले हेर्ने ?’
नगरपालिकाले अति विपन्न परिवारलाई राहत उपलब्ध नगराएको पनि होइन। पहिलो चरणमा १५ किलो चामल, २ दाल, १ लिटर तेल र १ किलो नून नगरपालिकाले उपलब्ध गराएको छ । तर त्याे खाद्यान्न पनि सकिएको र दोश्रो चरणमा कहिले राहत पाउने विषयमा कुनै टुङ्गो नरहेकाले भोकभोकै मर्ने अति विपन्न दलित परिवारको दुखेसो छ।
दलित अगुवा तथा अनुसन्धानकर्ता भोलाप्रसाद पासवानले सप्तरी जिल्लामा तत्काल दोश्रो चरणको राहत उपलब्ध गराउनुपर्ने आवश्यकता बताए । ‘भोगियादेवी जस्ता धेरै विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको छ, गत चैत्र ११ गतदेखि बन्दाबन्दी आह्वान गरिएसँगै श्रमिकहरुले काम गर्न पाएका छैनन्’ उनले भने–‘१५ किलो चामलले २ महिना कसरी परिवार चल्छ, त्यसमाथि दोश्रो चरणको राहत उपलब्ध गराउन स्थानीय सरकार गम्भीर देखिएकै छैन ।’