काठमाडाैं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।
आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी गराउनुभयो। यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई स्वदेश फर्काइने उहाँले बताउनुभयो । सरकरले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उनीहरुको उद्वार गर्नेछ।
समितिले भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन देशका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ । सचिव बिडारीका अनुसार पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, विरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकेको छ ।