कानुनकाे फितलाे कार्यान्वयनले माैलाएकाे जातीय विभेद

यतिबेला देश जातीय मुद्दाले तरङ्गित भएको छ । कानुनले २०२० सालमै छुवाछुत प्रथा अन्त्य गरेको थियो । त्यसपछि पनि विभिन्न चरणमा सामाजिक विभेद अन्त्य भएको घोषणा भयो । तर त्यसको पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन । छुवाछुतको मामिलामा हाम्रो समाज कहाँ छ ? भन्ने कुरा रुकुमको पाशविक हत्या प्रकरणले प्रष्ट चित्रण गर्छ । खास गरी जातीय संकीर्णताले हाम्रो समाजलाई यसरी गाँजेको छ कि यो अझ केही पुस्ता जानेवाला नै छ । प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितद्वारा लिखित ‘जातपात’ मा जातीय व्यवस्था विषयमा तथ्यगत उल्लेख भएको छ ।

भारतीय प्रायद्वीपमा आर्यको आगमन
केहि तथ्य  :  सन २०१५ मा हरियाणाको राखि गढीमा एउटा उत्खनन भयो जसमा । राखिगढी हडप्पा सभ्यताको नै एक हिस्सा थियो । राखिगढी करिब ५ हजार वर्ष पुरानो प्राचिन सहर थियो । उत्खनन्मा करिब ४५ सय वर्ष पुरानो मानव कंकाल भेटियो । त्यो अध्ययन लखनउको विरवल साहानी इन्टिच्यूट अफ पेलियो बोटनिका जेनेटिक विशेषज्ञ निरज रायको नेतृत्वमा भएको थियो । जसको जेनेटिक अध्ययन गर्दा सबै वैज्ञानिक अचम्मित भए, किन भने त्यो मानव कंकालको जिन R1a1 थिएन । आर्यको जिन R1a1 हो । त्यो जीन दक्षिण भारतीय जीनसँग मिल्थ्यो । द्रविडसँग मिल्ने त्यो जीन इरानी किसानसँग पनि अलि मेल खान्थ्यो साथै त्यो जीन तामिल नाडुको इरुला आदिवासीसँग पनि मिल्थ्योे । अध्ययनले मोहेन्जोदारो र हडप्पा सभ्यता आर्यको थिएन भन्ने प्रष्ट इसारा गरिरहेको थियो । अध्ययनको नतिजा यसरी निस्किँदै गयो । खासमा हाल आर्य भनिने मानव जाति इसापूर्व करिब ४ हजार वर्ष पहिले हिन्द प्रायद्वीपमा छिरेका थिए । इन्डो आर्य जाति पोलल्याण्डदेखि मध्य एसियाको घाँसे मैदानमा बस्थे ।

घुमन्ते तथा लडाकु त्यो जाति सिकारको खोजीमा लामो लामो यात्रा गर्थे । अन्य मानव जातिको कविलाहरुमा गइ आक्रमण गर्नु उनीहरुको पशु तथा अन्न लुट्नु उनीहरुको मुख्य स्वभाव थियो । त्यो जातिले सिन्धुघाँटीमा बसेको मोहन्जो दारो सभ्यताको पटक पटक आक्रमण गरे पश्चात उक्त शहरवासी दक्षिण भारत तर्फ भागेका थिए । आर्य जाति त्यति उन्नत सभ्यतामा पुगिसकेका थिएन त्यस कारण सिन्धुघाँटीमा बस्ने वासिन्दाहरुलाई जित्न पटक पटक आक्रमण गर्नु परेको थियो । आर्य जाति घुमन्ते प्रकृतीको भएको कारण हतियारको हिसावले त्यति उन्नत भइसकेको थिएन । ढुङ्गा हड्डीका हतियारले जात पनि सम्भव थिएन । धर्मशास्त्र अनुसार भनिन्छ देवराज इन्द्रको हतियार दधिचि ऋषिको हाडले बनेको थियो । यो कुराले प्रष्ट्याउँछ कि हतियारको मामिलामा उनीहरु कति पछौटे थिए भन्ने । आर्यहरु हिन्द प्रायद्वीपमा आउनु पूर्व हिमालय क्षेत्रमा किँरातहरु बस्ने गर्थे । जसको गण नायक रुद्र थिए । आज हामी उही रुद्रलाई शिव भनेर पुज्ने गर्छौ । किँरातहरुले तामा पत्ता लगाइसकेका हुनाले हतियारमा केही अगाडि थियो किँरात सभ्यता । सिन्धुवासी सँगको पटक पटकको हार पश्चात शिवलाई कन्या (सती, पार्वती ) भेट चढाए पछि सिन्धुवासीसँग लड्न शिवले हतियार सहयोग गरेका थिए । जसका कारण जित सम्भव भएको थियो । आर्यहरु शिवलाई उच्च सम्मानका साथ पुज्थे किन भने यस प्रायद्वीपमा बस्न उनले आर्यहरुलाई प्रसस्त सहयोग गरेको थिए । आर्य समुदाय माथी द्रविड वा भिल्लहरुले गर्ने विभिन्न हमलाको सोझै शिवले प्रतिकार गरि बचाइदिन्थे ।

भष्मासुर , त्रिपुरासुर, शंकचुर्ण, तार्कासुर जस्ता शक्तिशाली भिल्ल गण नायक र पुरै गण शिवको गणले सफाचट पारेका थिए । त्यस बेला काला जातीलाई असुर भन्ने गर्थे । सिंन्धु घाटीमा बसेको शहर गुमाउनु परेको कारण उनीहरु पलटवार पटक पटक गर्थे । आर्यहरुको रक्षाको लागि शिव आफ्ना गण सहित सधै तयार हुन्थे । द्रविडहरु नै वास्तवमा सिन्धु सभ्यताका मानिस थिए । पछि त्यसै सिन्धु शब्दबाट नै हिन्दू भएको हो । पारसीहरुले ‘स’ शब्दलाई ‘ह’ उच्चारण गर्थे । पछि त्यही ‘स’बाट ‘ह’ हुदै बोलीचालीमा सिन्धुबाट हिन्दू भएका हुन् । वास्तवमा असली सिन्धुवासी उनीहरु होइनन् । वेद भन्नु नै अन्नवाली, सुख प्राप्ति, धन प्राप्ति, सिकार प्राप्तिका लागि पंञ्चदेव सूर्य, वायु, अग्नि, जल र भूमिलाई पुकारेर गाइने गीत थियो । जुन करिब ई.पू १५ सय मा लेखिएको थियो पछि आफ्नो स्वार्थका लागि ब्राम्हणहरुले श्लोक थप्दै लगेका हुन् । त्यस सिन्धु घाँटीको चरणवद्ध युद्धपछि आर्य पनि छरिएर विभिन्न गण बनाएर बस्ती बनाएर खेती किसान गर्न थाले । राज्य स्थापना गर्न थाले ।

हिन्दूवादभित्र जातिवाद
भारतीय प्रायद्विपमा पहिला जातिवाद थिएन । त्यसअघि कर्मको आधारमा जात छुट्टिन्थे । मातृगमन, बहिनी गमन, हाडनाताको सम्बन्ध र अन्य जघन्य अपराध गरे मात्र शूद्रमा झारिन्थ्यो । त्यसबेला मानिसले आफूलाई मन नपरेको काम त्याग्न सक्थे । कामका आधारमा जात छुटिन्थे । यसै सन्दर्भमा गीतामा एक श्लोक छ । चातुर्वण्र्य मया सृष्टम्
गुणकर्म विभागश (गीता ४–१३)
चार वर्ण सृष्टि गुण र कर्मले विभाजन गर्यो ।

एक पटक गल्तीले शूद्र (चाण्डाल) भएको व्यक्ति ज्ञानको आधारमा वा ब्राम्हण खुशी पारेपछि उपल्लो जातमा सारिन्थ्यो ।वेदको एक ऋचा छ । जन्मना जायते शुद्रः संस्कारात् द्विज उच्यते  । वेदपाठी भवेत विप्रो ब्रह्मजानाति ब्राह्मणः ।अर्थात् मान्छे जन्मदा शूद्र हुन्छ , संस्कारले द्विज (उच्चवर्ण) हुन्छ । पढेपछि विद्वान हुन जान्छ र ब्रह्मज्ञानी (गहिरो ज्ञानवाला ) भएपछि ब्राह्मणको स्तरमा पुग्छन् ।

त्यसबखत अहिले जस्तो एक पटक शूद्र भएपछि सन्तान दर सन्तान दुःख पाउनु पर्ने चलन थिएन । ब्राम्हण लेखपढ गर्ने, पूजा गर्ने, क्षत्रीय शासन सत्ता चलाउने, बैश्य खेती किसान र व्यपार गर्ने र शूद्र शिपको काम गर्ने भनि छुट्याइयो ।
वैश्यहरु माथिको प्रहार नाकाम विशेष गरेर दुई जाति वैश्य र शुद्रलाई कडा नियम बनाउदै घाँटी निमोठ्ने काम भयो ।

वैश्य र शूद्रलाई धार्मिक नियम र तिरोको दर बढाएर कहिलै माथि उस्कन नमिल्ने गरि जंजाल स्वरुप मन्त्र ब्राह्मणहरुले थप्दै लगे । तर वैश्य अत्यन्तै मिहेनती र व्यपारमा निरन्तर सहभागी भएका कारणले आर्थिक रुपले सम्पन्न नै भइ रहे त्यस कारण दलितले जति हेपिनु परेन । वैश्यलाई तह लगाउन पनि नियम नबनाएका होेइनन् । मनस्मृतिका निम्न श्लोकको अर्थले प्रष्ट्याउँछ कति वैश्यमाथि पनि प्रहार गरेका थिए भन्ने ।

‘वैश्य जस्तै …. अरुलाई कर ( बलि ) दिनेवाला’
‘अरुद्वारा खान योग्य’, ‘इच्छा अनुसार दमन गर्न सकिने’
उपनिसद कालको शुरुबाट वैश्य र शूद्रलाई कज्याउन नियम कानुन ब्राह्मणहरुले थप्न थाले क्षत्रीयहरुले बनाईएको नियम निशर्त पालना गराउनको लागि राज्य सत्ताको शक्ति प्रयोग गरे जुन उनीहरुको हितमा थिए । उदाहणको लागि मनुस्मृतिको अर्को श्लोकको अर्थ यस्तो लाग्न जान्छ ।
वैश्यशूद्रौ प्रयत्नेन स्वानि कर्माणि कारयेत ।
तौ हि च्युतौ स्वकर्मभ्यः क्षोभयेतां इदं जगत् ।। (मनुस्मृति ८।४१८)
‘राजाले वैश्य र शूद्रलाई यत्नसाथ आ–आफ्नो काजमा लागाईरहनुपर्छ । किनभने,तिनीहरु आ–आफ्नो काजमा लागिदिएनन् या ती काम छोडिदिइनन् भने धनको घमण्डले गर्दा तिनीहरुबाट जगतमा उपद्रो मचिन्न थाल्छ ।’
यहा मनुस्मृतिको अर्को श्लोकको अर्थ यस्तो लाग्न जान्छ ।
यदि लोभ – लालचाले कुनै तल्ला जातले माथिल्ला जातको पेशा लिएर जीविका गर्न थाल्यो भने त्यसकाे श्रीसम्पत्ति खोसेर देश निकाला गर्नुपर्छ । मनुः२०–२६

अर्को पनि श्लोक यहा उल्लेख गर्न आवश्क छ ।
ब्राह्मणः क्षत्रियो वापि वृद्धिं नैव प्रयोजयेत् ।
कामं तु खलु धर्मार्थ दद्यात्पापीयसेकल्पिकाम् ।। (मनुः१०–११७)
अर्थात वैश्य वा शूद्रले ब्राह्मण र क्षत्रीयलाई दिएको धनमा व्याज खान पाइन्न ।
जति नै शासन व्यवस्था कडा र शोषणकारी भए पनि श्रमजीवि र व्यापार व्यवसाय गरेका कारण वैश्यहरु आर्थिक रुपले सम्पन्न नै भइ रहयो र ब्राह्मण र क्षत्रीयसँग मिठास पूर्ण सम्बन्ध त भएन तर हेपिनु पनि परेन । बहुसंख्यक भएको कारण राज्य र उनीहरुको रोजीरोटी वैश्यले दिएको तिरोबाट नै चल्ने गथ्र्यो । सम्बन्ध बिग्रदा विद्रोहको खतरा पनि छँदै थियो । त्यसकारण वैश्यलाई कज्याउन बनाएको नियम भए पनि वैश्यहरु माथिको प्रहार नाकामा भएको थियो ।दलितको अवश्था जर्जर हुँदै गयो ।

विशेष गरेर मनुस्मृतिको प्रहारले व.गुप्तकालमा (इ. ३२०–६००) मौलाउन पायो नेपालमा लिच्छवीहरुले जातपातको व्यवस्था कडाईका साथ पालना गर्न लगाए । लिच्छवीहरु भारतबाट नेपाल छिरेका थिए उनीहरुले भारतबाट जातपातको कुरा लिएर आएका थिए । त्यतिबेला भारतमा जातपात र छुवाछुतको अवश्था जर्जर थियो । दलितको अवश्था दयनीय थियो । हिन्दूधर्म अनुसार स्वायंभु मनु पृथ्वीका पहिलो पुरुष थिए जसका श्रीमती शतरुपा थिइन् । राज्य संचालन , अर्थशास्त्र र प्राचीन नियम बनाउनुमा मुख्य उनको मुख्य भूमिका मानिन्छ । कौटिल्य अर्थशास्त्रमा मनुस्मृतिको मुक्त कण्ठले प्रशंसा गरेको भेटाउन सक्छाैँ । तर जातीय सवालमा बडो अनुदार मानिन्छ ।

विद्वान अम्बेडकरले जातीय सवालमा मनुस्मृतिको चर्को आलोचना गरेको पाइन्छ । उनै स्वायंभु मनुद्वारा लिखित मनुस्मृति ग्रन्थ नै दलितमाथिको पहिलो एवं कहिलै उठ्न नसक्ने प्रहार थियो । करिब ई.पू १५ सय वर्ष पुरानो मानिएको त्यो ग्रन्थ दलितको मामिलामा कहिलै विवाद मुक्त हुनै सकेन । दलितको मामलामा मनुस्मृतिको कतिपय श्लोकको अर्थ जान्दा उनी जातीय सवाला कति अनुदार थिए ? भन्ने जान्न सकिन्छ ।
मनुस्मृतिको केही श्लोक र त्यसको अर्थ उल्लेख गर्न चाहे
नामजातिगहं त्वेषां अभिद्रोहेण कृर्वतः । निक्षेप्योकयोमयः
शङ्कुज्र्वलन्नास्ये दशाङ्गुला ।। –मनुस्मृति ८–२७१)
शूद्रले ब्रह्मणलाई होच्याएर वा अपशब्द बोले तातो झीर मुखमा रोपिदिनुपर्छ ।
धर्माेपदेश दर्पेण विप्रणां अस्य कुुर्वतः। तप्तं आसेचयृेत्तैलं वक्त्रे
श्रोत्रे च पार्थिवः ।। (मनुस्मृति ८–२७२)

शूद्रले द्विजातिय (ब्राह्मण,क्षत्रिय र वैश्य ) लाई धर्मको अर्ति दिएमा त्यसको मुख र कानमा तातो तेल खन्याइदिनु ।
पाणिं उद्ययम दण्डं वा पाणिच्छेदनं अर्हति ।
पादेन प्रहरन्कोपात्पादच्छेनं अर्हति ।।(मनुस्मृति ८÷२७२)
शूद्रले द्विजातिय (ब्राह्मण,क्षत्रिय र वैश्य )लाई हात वा लठ्ठिले हाने उसको हात काटिदिनु पर्छ र यदि रिसले लात्ताले हाने उसको खुट्टा काटिनुपर्छ ।
त्यसबेलाको धार्मिक ग्रन्थले शूद्र बाहेक अन्य जातिको यतिसम्म पक्षपोषण गरेको थियो कि सबै भन्दा तल शूत्र नै पर्थे । एउटा श्लोक र त्यसको अर्थले छर्लङ्ग हुन्छ ।
अर्थानर्थावुभौ बुद्ध्वा धर्माधर्मौ च केवलौ ।
वर्णक्रमेण सवाएणि पश्येत्कार्याणि कार्यिणाम् । (मनुस्मृति ८÷२४)
मुद्दा हेर्दा बाहुनको सबभन्दा पहिला र शूद्रको सबै भन्दा अन्त्यमा मुख हेर्नुपर्छ ।
मनुस्मृतिका माथिका श्लोकले दलितलाई धर्मशास्त्रको आडमा राज्यले कति थिचेको थियो भन्ने प्रष्ट्याउँछ । निरन्तर काममा खटिनु पर्ने कोही आरनमा, कोही गन्हाउने छालामा कोही लुगा सिलाउन पर्ने हुनाले उनीहरु सधै भरी पसिनामा भिज्नु पर्ने आवश्यकता थियो । उनीहरुले धन संचय गर्न पाउँदैन थिए । गरे धर्म शास्त्रको हवला दिदै खोसिन्थे । अर्थात् चर्को श्रम शोषण उपल्ला भनाउँदाहरुले गर्थे । उता ब्राहमण भने सधै सुकिला मुकिला हुन पाउँथे । उनीहरुद्वारा रचित धर्मशास्त्रको हवला दिदै आफूलाई श्रेष्ठ ठान्थे । बाह्मणलाई जस्तो सुकै पाप गरे पनि मृत्युदण्ड दिनु महापाप थियो ।
न जातु ब्राह्मणं हत्यात्सवर्पापैष्वपि स्थितम् ।
राष्ट्रादेनं बहिः कुर्यात्समग्रधनं अक्षतम् ।। ( मनुस्मृति ८÷३८०)
यदि ब्राह्मणले धेरै पाप गरे भने पनि उसको हत्या गर्नु हुँदैन । शारीरिक दण्ड पनि नदिइ आफ्नो राज्यबाट निकालिदिनुपर्छ ।
शतं ब्राह्मणं आक्रुश्य क्षत्रियो दण्डं अर्हति।
वैश्योकप्यर्धशतं द्वे वा शूद्रस्तु वधं अर्हति ।। ( मनुः८÷२६७)
ब्राह्मणलाई क्षेत्रीले गालि गरे सय पण (पैसा ) दण्ड ,वैश्यले गरे डेढ वा दुई सय पण दण्ड र शूद्रले गरे प्रण दण्ड दिनुपर्छ ।
यस्तै यस्तै कल्पोकल्पित श्लोकबाट थाहा हुन्छ कि ब्राह्मणहरुले आफूलाई कति श्रेष्ठ बनाएका थिए भन्ने । धर्मशास्त्रको हवला दिदै करिब ३५ सय वर्षदेखि दलित उत्पीडनको आगोमा निरन्तर जलि नै रहेका छन् । नवराज त हामीले देखेका प्रतिनिधि पात्र मात्र हुन् । वैदिक कालमा जति बेला ब्राह्मणलाई गाली गर्दा मात्र पनि दलितहरुले ज्यान गुमाउनु पर्थ्यो त्यतिबेला कति दलितले कति ज्यान गुमाउनु पर्यो होला ? अनि ३५ सय वर्षमा जातीय विभेदकै कारण अनाहकमा कति लाख वा करोड दलितले ज्यान गुमाउनु पर्यो होला ?

निष्कर्ष
दक्षिण एसियाली प्रायद्विपको मानिस जातीय मामिलामा तितो अतितसँग गुज्रिएको स्वीकार्नु नै पर्छ । पूर्वीय सभ्यताको यो एक तीतो यर्थात् हो । यहा मानव सभ्यताको विकाससँगै बाठाले आफूलाई उच्च जाति घोषणा गर्दै सोझा मानिसमाथि अत्याचार गरी नै रहे । मानिस वास्तवमा  बाँदरबाट विभिन्न चरण पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेकाे हाे । हामी फिरन्ते गण, मातृसत्तात्मक अववस्था हुँदै हालको अवस्थासम्म आइपुगेका हौं । मातृसत्तात्मक चरणमा मानिसको बाउ नै पत्ता लाग्दैन थियो । त्यसैले उच्च कुल भन्ने कोही छैन यहाँ । हावा पानी अनुसार रुप रंग फरक भए होलान् तर हामी सबैको विगत एकै प्रकारको हो । समाजमा भेदभाव गर्ने केही धुर्त थिए जसले आफूलाई ब्राह्मण र उच्च जात भएको स्वघोषण गर्दै निमुखा सोझामाथि निरन्तर शोषण गरे । साथै निमुखामाथि आफ्ना सन्तानले पनि नियमित शोषण गरोस् भनि धर्मशास्त्रको नाममा शोषणकारी नियम बनाएर राज्यसत्ताको प्रयोग गरी त्यही अनुसारको व्यवस्था कायम राखे । प्राचीन कालमा जन्मसिद्धको आधारमा कोही पनि ब्राह्मण  हुँदैन्थ्यो । ब्राह्मण जात होइन विद्वता थियो ।  जो विद्वान छ त्यही ब्राह्मण हुन्थे । ब्राह्मण हुनलाई बाउ वा आमा हेरिँदैन्थ्यो । पछि केही धुर्तहरुले ब्राह्मणलाई जातको रुपमा स्थापित गरे । अहिले बाहुन हुँ भनि हुकाँर लगाउनेहरुको पूर्वज ऋषिहरु वशिष्ठ , वेदव्यास, भारद्वज, अगस्त्य, नारद, द्रोणाचार्य, कृपाचार्य कुनै दासी, कोही शूद्र र कोही वेश्याका सन्तान थिए । यहाँ ऋषिहरुलाई आरोप लगाउन खोजिएको होइन । उनीहरुद्वारा रचित ग्रन्थले नै यसो भन्छ ।

विगतमा भएको अनुदार जातीयताको कस अझै हाम्रो समाजमा बाँकी नै छ । यसले किन यसरी समाजमा जरा गाड्यो ? विगतमा राज्यसत्ताले यसको रक्षा गर्यो र समाजमा जरा गाडने मौका पायो । त्यसैले जबसम्म राज्यसत्ता नै यसको उन्मुलन गर्न लाग्दैन, तबसम्म त्यो जरा सजिलै उखेलिन सक्ने अवस्था छैन । नेपालमा २०२० सालदेखि कानुनी तवरले छुवाछुत अन्त्य भए पनि कार्यान्वयन फितलो नै भयो । किन भने कार्यान्वयन गराउने तहमा दलित थिएनन् । तसर्थ जातीय विभेद अन्त्यको लागि छुवाछुत सम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन हुनु आवश्यक छ । कानुन पूर्ण रुपमा कार्यान्वयन नभएसम्म हजारौ दलित नवराज बन्न बाध्य हुनेछन् । दलितलाई नवराज नबनाउन छुवाछुत सम्बन्धी कानुन पूर्ण रुपमा कार्यान्वयन हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…