Logo बैशाख ३, २०७८ शुक्रबार


‘तरकारी बेचेरै छोरालाई इन्जिनियर बनाएँ’

सन्तकुमार चौधरी
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका एक किसानले तरकारी बेचेरै छोराहरुलाई इन्जिनियर बनाउन सफल भएको बताएका छन् । नगरपालिकाको वडानम्बर ५ भण्डारामा स्थायी बसोबास गर्ने कृषक पुरन चौधरीले तरकारी खेतीको माध्यामबाट ३ छोरासहित ५ जनाको परिवारको दैनिकी सञ्चालनदेखि छोराहरुलाई उच्च शिक्षा दिलाउन सकिएको बताएका हुन् ।

२०४० सालदेखि खेतपातीमा सक्रिय रहँदै आएका चौधरी पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा सक्रिय बनेका हुन् । भण्डारामै उनले २ बिगाह जमिनमा तिराई, भेडें खुर्सानी र गोलभेँडा मनग्ये उत्पादन गर्दै आएका छन् । तरकारी उत्पादनमा सामेल बनेदेखि कहिल्यै पछाडी फर्किनु नपरेको नपरेको बताउँछन, चौधरी । भन्छन्, ‘तरकारी खेतीमा लाग्नुअघि सिलाई कटाई गर्थें । सिलाई कटाई सम्बन्धि मलाई राम्रो ज्ञान पनि छ । तर सिलाई कटाईमा धेरैजसो उधारो जान थालेपछि पेशा नै परिवर्तन गरेँ र तरकारी खेतीमा हात हालेँ ।’

सुरुवातमा साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार रुपैयाँ ऋण लिएर शुरु गरेको व्यवसायिक खेतीमा होमिएका चौधरीलाई हाल तरकारी खेतीमा भ्याई नभ्याई छ । पछिल्लो समय लकडाउन लम्बिँदै जाँदा खेतबारीमै तरकारी कुहिन थाले पनि चौधरीले खेतीपातीबाट आशा मारेका छैनन् । झन नयाँ, नयाँ जातका तरकारी लगाउनमा उनको रुचि बढिरहेको छ ।

‘अघिल्लो वर्ष नेपालमै पहिलो पटक तिराई खेती गरेर परीक्षण गरेँ । यो पटक व्यवसायिक रुपमै तिराई खेती शुरु गरेको छु’ भन्छन्, ‘७ कट्ठा क्षेत्रफलमा लगाएको तिराई अहिले छपक्कै फलेको छ । काठमाडौं, पोखरा, नारायणगढ र बुटवलका बजारसम्म तिराईको माग बढिरहेको छ ।’ काठमाडौंमा पनि चौधरीको बारीमा उत्पादन हुने तिराई बिक्री हुँदै आएको छ । नेपालमा पनि तिराइ खेतीको राम्रो सम्भावना भएकाले अरुले पनि शुरु गर्दा हुन्छ, चौधरीको भनाइ छ । आगामी वर्षमा तिराई खेती थप विस्तार गर्छु, उनले भने ।

कृषक चौधरीले यो पटक उन्नत जातको गोलभेँडा खेती परीक्षणको रुपमा शुरु गरेका छन् । उनले सजिन्डा र सेन्चुरी कम्पनीले वितरण गरेको बिउ ल्याएर परीक्षणको रुपमा गोलभेँडा खेती अघि बढाएका हुन् । उन्नत जातको गोलभेँडा वर्षाको मौसममा टनेल बिना खुल्ला क्षेत्रमा पनि उत्पादन गर्न सकिने उनको भनाइ छ । ‘यो पटक सोचे भन्दा राम्रो भयो, आगामीे वर्ष व्यवसायिक रुपमै यो खेती लगाउँछु’ उनले थपे । एउटा गोलभेँडाको बोटमा ५० केजीदेखि १ क्विन्टलसम्म फल्ने गरेकाले यो जातको गोलभेँडा लगाउन चौधरी कस्सिएका हुन ।

चौधरीको बारीमा भेडें खुर्सानी पनि लटरम्म फलेको छ । प्रति कट्ठा २ हजार भाडा तिर्ने सम्झौतासहित २ बिगाह क्षेत्रफल जग्गामा उनले तरकारी खेती गर्दै आएका छन् । लामो समयदेखि खेतीपातीमै व्यस्त रहँदै आएकाले तरकारी खेतीमा राम्रो अनुभव भएका चौधरी बालीमा लाग्ने रोगदेखि तरकारी गोडमेल र छाँटकाँट गर्नेबारे पनि उत्तिकै जानकार छन् । व्यवसायिक तरकारी खेती गर्न थालेपछि आफूहरुले दुखका दिनहरु बिर्सिंदै गएको तरकारीको रेखदेमै दिन बिताउने कृषक चौधरीकी श्रीमती कामिनी चौधरीले सुनाइन ।

यसरी तरकारी बिक्री वितरण गरेरै तीनजना सन्तानलाई हुर्काएर राम्रो शिक्षा दिन सक्नु चानचुने कुरा होइन । चौधरी परिवारका ३ छोरामध्ये जेठो छोरा विजय कम्प्युटर शिक्षक छन् । विजय कठार माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका छन् । माइला छोरा काठमाडौंमा बिपिएच तेश्रो वर्षमा अध्ययरत्त छन् भने कान्छो छोरा मेकानिकल इन्जिनियर हुन । ‘तरकारी बेचेर नै तीनै छोरालाई पढाएका हौं’ पुरनकी धर्मपत्नी कामिनीले भनिन् ।

उसो त फुर्सदको समयमा पुरनका छोराहरु पनि खेतबारीमै काम गर्छन् । ‘आफूहरुको पृष्ठभूमी नै खेतबारीसँग जोडिएकाले समय मिलेसम्म बारीमै काम गर्छौं’ जेठा छोरा विजयले भने । भन्छन्, ‘तरकारी खेतीमा थोरै परिश्रम गर्ने हो भने दुई, चार पैसा कमाउन विदेश जानै पर्दैन, कृषिबाट स्वदेशमै राम्रो प्रगती गर्न सकिन्छ ।’ ‘हाम्रा बुबा आमा धेरै पढेका छैनन, उहाँहरुले त यही माटोमा राम्रो गर्नुभयो भने हामी त झन पढेलेखेका छौं, अझै राम्रो गर्न सक्छौं’ विजयले भने ।

पुरन चौधरी अहिले गाउँघरकै अगुवा कृषक बनेका छन् । पछिल्लोपटक यिनको देखासेखी गर्ने कृषकको संख्या पूर्वी चितवनमा बढीरहेको छ । बालीमा लागेको रोग नियन्त्रणका लागि होस् या बाली लगाउँदा बिरुवा छनौटमा, चौधरीसँगै धेरै किसानले राय सल्लाह लिने गरेका छन् ।

आजभोली लकडाउनका कारण चौधरी परिवारले उत्पादन गरेको तरकारीले बजार पाइरहेको छैन। तर यो अवस्था सधैं नरहनेमा पुरनको परिवार विश्वस्त छ । नेपाली बजारमा स्थानीय उत्पादनले भन्दा भारतीय उत्पादनले बढी प्राथमिकता पाउँदा भने मन दुख्ने गरेको पुरन सुनाउँछन् । कृषकको उत्पादन खेतबारीमै पुगेर सरकारले नै उठाउन सके किसानलाई फाइदा पुग्ने पुरनको बुझाई छ । विचौलियाले कम मूल्य तिरेर लैजाने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने कारणले नेपालको कृषि उत्पादनले प्रगती गर्न नसकेको चौधरीको ठम्याई छ । भन्छन्, ‘विचौलियालाई सिन्डिकेट लगाउने र सरकार आफैले उत्पादन उठाएर बजारसम्म पुर्याउने हो भने कृषक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने थियो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…