महामारी कोरोना : सरकार यसो गरौँ न !

महिलाहरु महिनावारीमा हुँदा उहाँहरुलाई अलग्गै बस्न लगाउने परम्परा बेठीक होला तर त्यसखाले कडा अनुशासनको पालनाको अभ्यास हाम्रा गाउँघरमा छ भन्न मात्रै खोजिएको हो । बा–आमाको मृत्यु हुँदा सन्तानहरुले किरिया बस्दा कसैसँग नछोइने गरी बसेको अभ्यास हामीसँग छँदैछ । कहाँसम्म भने विगतमा कतिपय जनावरसँग छोइदा खास समुदायका मानिस किरिया बस्ने चलन थियो । हामीले  विगतका कतिपय चलन खराब नै रहेछन् भने पनि तिनका सन्दर्भबाट सही अभ्यास गर्ने कुरा पत्ता लगाउन र अपनाउन सक्छौं ।

कोरोना महामारी बुझ्नै नसकिने एक मिथकजस्तै भएर मानवजातिका अगाडि उपस्थित भएको छ । संक्रमित व्यक्तिसँग छोईंदा मात्रै सर्छ भन्ने गरिएको यो बहुरुपी भाइरस संक्रमित आमाले जन्माएको बच्चामा चाहिँ नसरेको भेटिनु, श्रीमतीलाई डोकोमा बोकेर ल्याउने श्रीमानमा कोरोना नभेटिनु तर श्रीमती संक्रमित भेटिनु यस्ता केही मायावी चरित्र देखिए । यसको विश्लेषण चिकित्सा क्षेत्रबाट पनि यथोचित मात्रामा हुन सकेको छैन भने हामी सामान्य मानिसले बुझ्ने यस्तै हो । यस बीचमा विश्वको अर्थव्यवस्था डामाडोल भएको छ भने नेपालजस्ता गरिब देशहरु उठ्नै नसक्ने गरी धराशायी बन्दैछन् । लम्बिँदै गएको बन्दाबन्दीका कारण ‘रोगले भन्दा भोकले मर्ने’ खतरा बढ्दै गएको देखिन्छ । यसर्थ अब अगाडि कसरी जाने भन्ने बारेमा सरकारको ध्यान जाओस् भनी केही बूँदागत सुझाव प्रस्तुत गर्न चाहन्छु–

१ . सरकारले आजसम्मका कामको निर्मम समीक्षा गरोस्
कोरोना महामारी र यससँग जोडिएका यावत काम–कारबाहीबारे सरकारले निर्मम समीक्षा गरोस् । विगतको निर्मम समीक्षाले मात्रै भविष्यको ठोस योजना बनाउन सघाउँछ । हामी कहाँ ठोस समीक्षाको नितान्त अभाव रहँदै आएको छ । ‘जे गरियो ठिक गरियो, कुनै कमजोरी गरिएन । अब पनि जे गरिन्छ ठीक गरिन्छ, किन भने हामीले कहिल्यै गल्ती गर्नै सक्दैनौं’ भन्ने खालको मनोवृति पालेर समाधान निस्कँदैन । समीक्षाका लागि निम्नलिखित बूँदा उपयुक्त छन् जस्तो लाग्छ–

 १.१. सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

चीनमा यसको लक्षण पहिलोपटक आधिकारिक रुपमा पहिचान गरिएको थियो ३१ दिसम्बर, २०१९ मा । चीनको वुहानमा २३ जनवरी, २०२० (माघ ९ गते) नै कडा प्रकारको बन्दाबन्दी (लकडाउन) शुरु गरिएको थियो । पश्चिमाहरुले शुरुमा चीनको कदमलाई ‘मानव अधिकार विरोधी’ समेत भन्न भ्याए । शुरुमा यसबारे लापरवाही गरेको इलाटीले ९ मार्च (फागुन २६) मा कडा खालको बन्दाबन्दी शुरु गर्यो । नेपालले विश्वस्तरमा भयानक रुप धारण गरेको तीन महिनापछि, अर्थात् २४ मार्च (११ चैत्र, २०७६)  मा मात्रै बन्दाबन्दी शुरु गरेको हो । यसैले योजना बनाउन पर्याप्त समय थियो । नेपालले बन्दाबन्दी शुरु गर्दाका बखतसम्म यो महामारीका संक्रमित खासै देखिएका थिएनन् । योजनाविहीनता नै हो, अहिलेको समस्या । करिब तीन महिनाको बन्दाबन्दी खेर गएको छ र सरकारका तर्फबाट गरिएको व्यवस्थापन काम नलाग्ने प्रमाणित भएको छ । कोरोना महामारी उच्चस्तरीय समितिका संयोजक माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले उहिले उहिले बेलाबेलामा प्रयोग गर्ने थेगो थियो– ‘कठोर समीक्षा र योजनाविहीनताको प्रवृतिले हामीलाई ‘जता भत्क्यो त्यतै दैलो’ को अवस्थामा पुर्याएको छ ।’ जता भत्क्यो त्यतै दैलो मान्ने र त्यसैलाई निकास मान्ने प्रवृतिले ठूलो क्षति निम्त्याउन पनि सक्छ, जस्तो अहिले भएको छ । अब यस्तो नहोस्, आजसम्म भएका प्रयासका सकारात्मक पाटाको पहिचान र कमजोरीको समीक्षा ठोसरुपमा होस् ।

१.२. देशभित्रैका श्रमिकहरु खाली खुट्टा सयौं किलोमिटर पैदल हिँड्दा परिस्थितिबारे किन संवेदनशील हुन सकिएन ?

१.३. लकडाउन शुरु गरिएको सत्तरी दिन पुगिसक्दा पनि किन सबै ठाउँमा सहजतरिकाले जाँच्न सकिने व्यवस्थासहित पीसीआर मेसिन पुर्याउन सकिएन ? किन अहिले पनि विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको र भर पर्नै नसकिने आरडीटीबाट गरिने जाँचलाई निरन्तरता दिएएको छ ?

१.४. पकाएर खाइने परिकारबाट कोरोना सर्दैन भनेर शुरुमै विश्व स्वास्थ्य संगठनले भनेकै थियो । यसलाई किन ख्याल गरिएन, जसले गर्दा किसानहरुको तरकारी बारीमै सड्ने अवस्था आयो ?

१.५. स्थानीय स्तरमा बनाइएका तथाकथित क्वारेन्टाइन केन्द्रको अवस्था रोग संक्रमण तथा विस्तार केन्द्र को रुपमा रहेको विषय सार्वजनिक जानकारीमा आएकै थियो । यसको सुधार सम्भव थियो कि थिएन ? स्थानीय स्तरका क्वारेन्टाइन नामका यातनागृहको सुधार सम्भव थिएन भने विकल्पबारे किन सोचिएन ?

१.६. के नेपालीलाई सीमाना पारि महिनौं रोक्नु उचित र सम्भव थियो ? नेपाल र भारतको सिमाना खुला छ भन्ने त थाहै थियो ।

१.७. महामारीसँग जुध्ने विषय एजेण्डा राखेर पार्टीको बैठक किन बस्दैन ? कोरोना महामारीका कारण परेको संकटका बारेमा सत्ताधारी पार्टीको कम्तीमा पनि स्थायी समितिको बैठक त सामाजिक दूरी कायम गरेर बस्न सकिएला नि ? किन सामूहिक प्रयत्नका लागि बैठकसम्म बसिन्न ? हाम्रा बैठक र तिनका निर्णय भविष्यका सन्तानले अध्ययन गर्ने इतिहासका विषय बन्ने छन् । यति ठूलो महामारीका विषयमा सत्ताधारी कम्युनिष्ट पार्टीले छलफल गर्ने आवश्यकता पनि देखेनछ भन्ने सन्देश त जाने होला नि भविष्यका सन्ततिमा ! यस विषयको पनि समीक्षा आवश्यक देखिन्छ ।

१. ८.अबको तयारी के छ ? योजना के छ ?
यी र यस्तै बूँदामा गम्भीरतापूर्वक छलफल गरी ठोस समीक्षा गरियोस् । सामूहिक छलफल, निश्कर्ष र सामूहिक जिम्मेवारीले मात्रै हामीलाई संकटबााट पार लगाउन सक्छ । अब म यो संकटको कसरी सामना गर्ने भन्ने बारेमा आफूलाई लागेका सुझाव प्रस्तुत गर्न  चाहन्छु ।

२. क्वारेन्टाइन व्यवस्थापन बारे
विकसित देशले पनि चाहेअनुसार क्वारेन्टाइन व्यवस्थित गर्न नसकेको अवस्थामा  अल्पविकसित देशले नसक्ने कामको योजना बनाउनु नै हुँदैन । आफ्नो क्षमता जत्ति हो, त्यत्ति मात्राको योजना बनाउनु र कार्यान्वयन गर्नु नै फलदायी हुन्छ । हाम्रो देशको व्यवस्थापनको स्तर के छ, सार्वजनिक सूचना संप्रेषणको अवस्था के छ ? सरकारले जारी गर्ने सूचनाबारे आम जनताको त कुरै छोडौं, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको बुझाईको स्तर के छ ?  भन्ने कुरा छताछुल्ल भएकै छ । यसैले विदेशबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्ने बारेम नयाँ तरिकाले सोचौं ।

विदेशबाट आउने नेपालीलाई आ–आफ्ना घरमा जान दिने, घरमै छुट्टै कोठामा बस्न लगाउने र भौतिक दूरीका नियम पालन गर्नका लागि सम्झाउने कुरा नै व्यवहारिक र लाभदायी हुनेछ । छुट्टै कोठा र शौचालय उपलब्ध नहुने अवस्था रहेछ भने पनि आफ्नै आाँगनमा सानो पराले झुपडी वा छाप्रो बनाएर बस्न लगाउनु सम्बन्धित व्यक्तिको लागि सुरक्षित उपाय हुनेछ । आफ्नै घरमा जान पाउने हो भने गाई–भैंसीको गोठमाथि टाँड हालेर बस्दा पनि मानसिकरुपमा सन्तुष्टी मिल्छ । त्यसो हुँदा घरका मानिसले अलि परैबाट थालमा खाना दिन सक्छन्, रुखोसुखो भए पनि तात्तातो खाना उपलब्ध हुन सक्ने छ, एकान्तवासमा बस्नेले तातो पानी पाउन सक्ने छन् । सिकिस्त बिरामी भए भने मात्र अस्पताल लैजानु पर्नेछ, अन्यथा सानोतिनो रुघा–खोकीको घरमै उपचार हुन सक्नेछ । आफ्नै घरमा बस्न पाएपछि कसैसँग नछोइने गरी खेतबारीमा काम गर्न पनि सकिने छ ।

यसो गर्दा विदेशबाट आउनेले अपमानित हुनु पर्ने, मानसिक तनाव बेहोर्नु पर्ने जस्ता समस्या पनि आउने छैनन् । यसो गर्नका लागि व्यवस्थित आचारसंहिता बनाएर सिमानामै सम्झाउन सकिन्छ । हाम्रा गाउँघरमा यसखालो अभ्यास भएकै पनि छ महिलाहरुको महिनावारीका सन्दर्भमा । मैले यहाँनिर उदाहरण मात्रै दिएको हो । महिलाहरु महिनावारीमा हुँदा उहाँहरुलाई अलग्गै बस्न लगाउने परम्परा बेठीक होला तर त्यसखाले कडा अनुशासनको पालनाको अभ्यास हाम्रा गाउँघरमा छ भन्न मात्रै खोजिएको हो । बा–आमाको मृत्यु हुँदा सन्तानहरुले किरिया बस्दा कसैसँग नछोइने गरी बसेको अभ्यास हामीसँग छँदैछ । कहाँसम्म भने विगतमा कतिपय जनावरसँग छोइदा खास समुदायका मानिस किरिया बस्ने चलन थियो । हामीले  विगतका कतिपय चलन खराब नै रहेछन् भने पनि तिनका सन्दर्भबाट सही अभ्यास गर्ने कुरा पत्ता लगाउन र अपनाउन सक्छौं ।

यस बूँदाको निश्कर्ष के हो भने अव्यवस्थित रुपले बनाइएका, कुनै सुविधा नभएका क्वारेन्टाइन सेन्टर तत्काल बन्द गरियोस् र मानिसलाई आ–आफ्नै घरमा एकान्तवास वा सेल्फ क्वारेन्टाइन मा बस्ने व्यवस्था गरियोस् । एकजना प्रमुख जिल्ला अधिकारीले क्वारेन्टाइन सेन्टरलाई जेलको रुपमा तुलना गर्नु भएछ । वास्तवमा ती जेलजस्ता पनि छैनन्, ज्युँदा नरक हुन् ती सरकारी स्कूलमा बनाइएका क्वारेन्टाइन सेन्टरहरु । न साबुनको व्यववस्था छ, न सहयोगीको व्यवस्था छ, न बिजुली छ, न सौचालय ठीक छन्, न पानीको उचित प्रबन्ध छ, न केही खान मन लाग्दा क्यान्टिनको व्यवस्था छ । अनि मानिस कसरी बस्छ त्यहाँ ? जन्तीजस्तै लाम लागेर सुत्नु पर्ने अवस्था भएपछि मान्छे नभागेर को भाग्छ ?

जति ठूलो संख्यामा विदेशबाट नेपालीहरु आउनु भएको छ र अझै ठूलो संख्यामा आउने अवस्था छ, त्यति ठूलो संख्यालाई उचित सुविधासहितको क्वारेन्टाइन बनाउन नेपालका सन्दर्भमा असंभव छ । असंभव काम गर्दै नगरियोस् । फेरी पनि दोहोर्याएर लेख्न चाहन्छु, विदेशबाट आउनेलाई हरेक स्थानीय सरकारले घर–घर पुर्याउने जिम्मा लेओस् । बाहिरबाट आएका मानिस आफ्नै घरमा बसे वा बसेनन् तथा खेतबारीमा गए भने पनि व्यक्तिगत दूरीको अनुशासन पालना गरे वा गरेनन् भन्ने कुरा स्थानीय सरकारका जनप्रतिनिधिहरुले सजिलै अनुगमन गर्न पनि सक्छन् ।

३. बन्दाबन्दी वा लकडाउनका बारेमा
जतिसुकै आपत आइलागे पनि मानिस भोकले मर्न चाहँदैन । हावा, खाना र पानी जीवजगतका लागि अनिवार्य तत्व हुन् । नालापानीको लडाईंमा पानी बन्द भएरै हाेइन र हामीले हारेको ? अनि मानिसलाई ‘बरु भोकै मर, तर लकडाउन पालना गर’ भन्न मिल्छ ? यसैले यो लकडाउन तत्काल फिर्ता गरियोस् र निश्चित दुरी कायम गरे काममा फर्कनका लागि खुला गरियोस् । सार्वजनिक बसमा एक सिटमा एकजना बस्ने गरी यातायात पनि सुचारु गरियोस् । यसो गर्दा भाडा केही महँगो परे पनि आर्थिक गतिविधि अगाडि बढ्न सक्छ ।

सैनिक तथा प्रहरी क्याम्पमा सयौं–हजारौंको संख्यामा बस्नु भएकै छ, नियमित रोल कल र एसेम्बलिङ भएकै छ । अनि दूरी कायम गरेर काम गर्ने गरी कल–कारखाना स्कूल तथा कलेज खोल्न किन सकिन्न ? यसैले आवश्यक अनुशासन पालन गर्दै सबै आर्थिक गतिविधि तत्काल सुचारु गरौं । शैक्षिक गतिविधि पनि सूचारु गरौं । विभिन्न जोन छुट्याउने कुरा पनि बेकार अभ्यास हुने छ । त्यतापट्टि लाग्दै नलागौं किन भने कोरोना जाँचेका ठाउँमा हो थाहा हुने । यी पंक्ति लेख्दासम्म कूल १,९१,६८८ (एकलाख,  एकानब्बे हजार, छ सय अठासी) जनाको मात्रै कोरोना जाँच गरिएको छ । यो भनेको कूल जनसंख्याको ०.६५ (शुन्य दशमलव पैसट्ठी) प्रतिशत मात्रै हो । तीन महिनाको कठोर बन्दाबन्दीमा १ प्रतिशत पनि जनसंख्याको जाँच गर्न सकिएको छैन र पनि कुनै ठूलो महामारी देखिएको छैन भने हामीले बुझ्नुपर्छ– नेपाली प्रकृतिले नै प्रतिरोध गरिरहेको छ । यसैले जाँचलाई बढाउने र संक्रमण देखिएका ठाउँमा विशेष सतर्कता अपनाउने हो, अरु कुनै उपाय गर्नु बेकार छ ।

४. कोरोना र मृत्युबारे केही तथ्यांक
कोरोना नामको यो विश्वव्याधि कुनै पनि हालतमा तत्कालै नियन्त्रण हुने कुनै सम्भावना देखिन्न । तत्काल खोप बनेको पनि छैन, बनेको भए पनि परीक्षणको सफलताबिना व्यवसायिक उत्पादन हुन सक्दैन । यसैले यससँग प्रतिरोध गर्दै अगाडि बढ्नुको विकल्प छैन । यो महामारीका बारेमा अलि बढी नै आतंक सिर्जना गरिएको छ भन्ने मेरो बुझाई छ । उदाहरणका लागि विश्वमा दैनिक १,५०,००० (एकलाख पचासहजार) मानिसको विभिन्न कारणले मृत्यु हुन्छ । मार्च महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना महामारीलाई वैश्विक महामारी वा विश्वब्याधि (पान्डेमिक) भनेर घोषणा गरेको हो । आजका मितिसम्मको औसत तथ्यांकलाई हेर्दा यो कोरोना महामारीले दैनिक (औसतमा) ४,५१७  (चार हजार पाँच सय सत्र) जना मानिसलाई मारिरहेको छ । यो तथ्यांकमा शुरुका दिनमा यसलाई महामारी स्विकार्न तयार नभएका सं.रा. अमेरिका, इटालीजस्ता पश्चिमा देशको लापरवाहीका कारणले सिर्जना भएको भयावह अवस्थाबाट सिर्जना भएको डेथ रेट पनि समावेस छ है ! यो के हो त ? यो त धेरै अल्प संख्या हो । यो संख्या त पाचन प्रणालीमा आउने समस्याका कारणले हुनै दैनिक मृत्युदरभन्दा पनि कम हो । स्मरणीय छ, सन् २०१७ मा गरिएको गहिरो अध्ययनले देखाएको छ कि पाचन प्रक्रिया सम्बन्धी रोगबाट विश्वभरीमा दैनिक ६,५१४ (छहजार पाचसय चौध) जनाको मृत्यु हुन्छ । कोरोनाका कारणले संसारभरीमा दैनिक पाँचहजारभन्दा कम मानिस मारिने कुरालाई धेरै ठूलो आतंकको रुपमा लिन जरुरी छैन तर सर्तकता भने अपनाउनु पर्दछ । विश्व स्वास्थ्य संगठनले नै वैश्विक महामारी (पानडेमिक) भनिसकेपछि अन्यथा तर्क गर्ने ठाउँ त छैन तर अहिलेसम्म औषधि नै पत्ता नलाग्दा पनि यसका कारणले मर्नेहरुको संख्या झाडा–पखाला लागेर मर्नेहरुको संख्याभन्दा कम छ, जब कि झाडा–पखालाको नियन्त्रणका लागि अनेकन औषधि बनिसकेका
छन् ।

यो लेखबारेआलोचना गर्नेहरु थुप्रै भेटिएलान्, खिसी–ट्युरी गर्नेहरु पनि प्रशस्तै निस्किएलान् तर सत्य यही हो कि यो कोरोना नामको महामारीसँग लड्दै नै यो संसार अगाडि बढ्नेछ । यसो गर्नुको कुनै विकल्प छैन । यो कोरोना नामको रोग समूल नष्ट कुनै हालतमा हुने छैन तथा सामान्य सावधानी अपनाइएमा यसले आम विनाशकारी मृत्यु पनि ल्याउने छैन । संसारले एकपटक विफर उन्मुलन गरेकै हो, औलो पनि उन्मुलन भयो भनिएकै हो । ती रोगहर अझै पनि फाट्ट–फुट्ट देखिएकै छन् । यसैगरी कोरोनाको खोप पनि पत्ता लाग्ला, तर समूल नष्ट हुँदैन नै । यति भन्नका लागि चिकित्साशास्त्रबारे कुनै ज्ञान नभएको मजस्तो मानिस पनि डराउनु पर्दैन भन्ने लाग्छ । नृत्य निर्देशकले मात्रै हैन, कसैले राम्रो नाच्यो वा नाचेन भनेर आम दर्शकले पनि भन्न सक्छन् किन भने मानव सभ्यताको अनुभवले सिकाएको हुन्छ ।

५. निष्कर्ष
आवश्यक सर्तकता अपनाउने बारेमा जनतालाई सुसूचित गर्दै सरकारले तत्काल लकडाउन खोलोस् र सम्पूर्ण आर्थिक, शैक्षिक लगायतका सामाजिक गतिविधि सुचारु हुन देओस् । मानिसलाई बिना काम भोकभोकै मर्ने अवस्थामा पुर्याएर कुनै फाइदा छैन न त विद्यार्थीहरुको परीक्षा र पठन–पाठन रोकेर नै राष्ट्र उँभो लाग्न सक्छ । सरकारले आपूर्ति व्यवस्थामा रहेको आफ्नो सीमित क्षमता चिनोस् । राहत बाँडेर अब मानिसलाई बचाउन सकिन्न । अव्यवस्थित रहेका तथाकथित क्वारेन्टाइन केन्द्र तत्काल बन्द गरी मानिसलाई आवश्यक अनुशासन पालन गर्न लगाएर घरमै बस्न दिइयोस् । कोरोना नामको महामारीले शरीरमा लक्षण देखाइसकेपछि मात्रै अस्पताल जाने हो भन्ने कुराको व्यापक प्रचार गरियोस् । विदेशी तरकारी आउन दिने तर नेपाली तरकारी बारीमै सड्न दिने गलत तरिका हटाइयोस् । हरेक स्थानीय सरकारले दिने प्रमाणपत्रको आधारमा नेपालमा उत्पादिन कृषि उपजलाई देशभरी बेरोकटोक आउन जान दिइयोस् । हरेक रोगजस्तै कोरोना पनि मानव जीवनको एक अंग हो । अब नभागौं, प्रतिरोध गरौं ।

तथ्यांक र स्राेत : वर्ल्ड इकाेनाेमिक फाेरम

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।