काठमाडाैं । विद्याले विनीत भएपछि मानिस सरल बन्छ । सहज बन्छ । सरस बन्छ । प्राज्ञ गोपीरमण उपाध्यायमा विद्याले दिने गुण फलिभूत भएको पाइन्छ । उपाध्याय अध्ययन, अध्यापन लेखन राजनीतिक प्रशिक्षण र टेलिभिजनको कार्यक्रम प्रस्तुतिको क्षेत्रमा सक्रिय हुँदै आउनुभएको छ । नेपाली टेलिभिजन प्रस्तोतामा गोपीरमण उपाध्याय सम्भवतः सबैभन्दा ज्येष्ठ हुनुहुन्छ । गोपी गुरुका नामले लोकप्रसिद्ध उपाध्याय जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
स्याङजाको बिरुवा किचनासमा विसं २००३ मा जन्मनुभएका उपाध्याय आमा उमादेवी र पिता हरिप्रसाद उपाध्यायका साहिँला छोरा हुनुहुन्छ । घरमै आमाबाट उहाँको प्रारम्भिक शिक्षा शुरु भयो । व्रतबन्धपछि गुरुकहाँ गएर उहाँले ज्योतिषको अध्ययन थाल्नुभयो । स्याङ्जाको मातृभूमि विद्यालयमा कक्षा पाँचसम्म पढेर उहाँ थप अध्ययनका लागि भारतको मथुरास्थित गोवर्धन पुग्नुभयो । मथुरामा उत्तरमध्यमासम्मको अध्ययन गरी उहाँ सन् १९६५ मा वनारस जानुभयो । वनारसबाट संस्कृत साहित्यमा स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्नुभयो ।
२०३२ सालमा स्वदेश फर्केपछि उहाँले रुपन्देहीको गीर्वाण माध्यमिक विद्यालयमा संस्कृतको शिक्षक बनेर सेवा शुरु गर्नुभयो । शिक्षणका क्रममा उहाँ रुपन्देहीका विभिन्न स्थानमा सरुवा हुनुभयो । ३६ वर्ष शिक्षण सेवापछि २०६८मा उहाँ सेवा निवृत्त हुनुभयो । सेवानिवृत्त अवधिमा उहाँले लुम्बिनी बौद्धविश्वविद्यालयमा पनि पढाउनुभयो । विसं २०७१ पछि नेपाल प्रज्ञाप्रतिष्ठानको प्रज्ञासभासद् बन्नुभयो । त्यस अवधिमा प्राज्ञ उपाध्यायले पूर्वीय भौतिकवादी दर्शन, प्राकृतिक भौतिकवाद,बौद्धदर्शनलगायतका विषयमा गहन अध्ययन गरी पुस्तक प्रकाशित गर्नुभयो । यो योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट उहाँ पुरस्कृत हुनुभएको छ । बुद्धिचाल वा चेसका सम्बन्धमा पनि पुस्तक लेख्नुभएका उपाध्यायको सानैदेखिको रुची चेस खेल्नु पनि हो ।
साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ । गाउँमै पञ्चायती चुनावको राजनीतिक रन्को देख्नुभएका उपाध्यायले वनारसमा बसेर पढ्दा विद्यार्थी राजनीतिमा सहभागी हुँदाहुँदै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई भेट्नुभयो । नेकपा केन्द्रीय कार्यालयमा बसेर पुष्पलालसँग उहाँले चार वर्ष सहकार्य गर्ने अवसर पाउनुभयो । खेमराज पौडेल, प्रदीप नेपाललगायतका मित्रसँग वनारसमा बसेर उहाँले राजनीतिक विमर्श पनि गर्नुहुन्थ्यो । नेपाल फर्केपछि रुपन्देहीमा रहेर उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका लागि विभिन्न काम गर्नुभयो । त्यस क्रममा उहाँले विष्णु पौडेल, डा. विजय पौडेल तथा घनश्याम भुसाल लगायतलाई पनि प्रशिक्षित गर्नुभयो । २०५२ देखि उहाँ स्कूल विभागमा रहेर प्रशिक्षणको काम गर्दै आउनुभएको छ ।
गोपीरमण उपाध्यायको विवाह २०२६ सालमा टुकुमारी उपाध्यायसँग भयो । उहाँहरु २ छोरी र १ छोराका मातापिता बन्नुभयो । ५० वर्ष जीवनको सहयात्रा गर्नुभएकी पत्नी टुकुमारीले उहाँ पढ्न र लेख्नमै मस्त हुने बताउनुहुन्छ । पितालाई ज्ञाविज्ञानका आदर्शका रुपमा पाउँदा आफू गौरवान्वित भएको र यस्तो परिवारमा जन्मन पाउँदा खुशी लागेको छोरी अनुराधा उपाध्यायको भनाइ छ ।
२०७५ सालदेखि गोपीरमण उपाध्यायले जनता प्रसारण तथा प्रकाशनबाट सञ्चालित जनता टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै आउनुभएको । सत्तरी नाघेको व्यक्तिबाट दर्शनजस्तो गहन विषयमा फूर्तिलो शैलीमा कार्यक्रम प्रस्तुत गर्नु युवा सञ्चारकर्मीका लागि उदाहरणीय बनेको छ । उहाँद्वारा सञ्चालित कार्यक्रम दर्शन दिग्दर्शनमा हिमाली उपमहाद्वीपका मुलुकमध्येको राष्ट्र नेपालमा विकसित भएको वैदिक वाङ्मयदेखि लिएर उपनिषद्, त्रिपिटक, सूत्र साहित्य तथा काव्यग्रन्थमा संगृहित सामग्री प्रस्तुत गरिन्छ । पूर्वीय दर्शनका स्रष्टा ऋषिमहर्षि, दार्शनिक र नीतिशास्त्रकारको व्यक्तित्व र कृतित्वकाबारेमा परिचयात्मक प्रस्तुति नै दर्शन दिग्दर्शन हो ।
टेलिभिजन तथा रेडियो जनतामा प्रस्तुत गरिएका यी सामग्री उहाँकै कृतिबाट लिइएका हुन् । आज आएर उहाँले आफूद्वारा लिखित अनुवादित पुस्तकको प्रकाशन तथा संरक्षणको जिम्मा जनता प्रसारण तथा प्रकाशन लिमिटेडलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ । आफ्नो इच्छानुसार उहाँले विसं २०७७ जेठ २२ गते जनता प्रसारण तथा प्रकाशन कम्पनी लिमिटेडलाई २१ ओटा पुस्तकको सर्वाधिकार हस्तान्तरण गर्नुभयो । सर्वाधिकार हस्तान्तरणसम्बन्धी सम्झौतामा प्राज्ञ गोपीरमण उपाध्याय र कम्पनीका अध्यक्ष डा. विजयकुमार पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।
उहाँको यो उदात्त भावनाको हामी उच्च कदर गर्छौ । यस संस्थालाई आफ्नो उत्तराधिकारी बनाउनुभएकोमा हामी कृतज्ञता व्यक्त गर्दछौं र उहाँबाट प्राप्त अमर अमूल्य निधिलाई युगयुगसम्म संरक्षण गरी जनताका माझमा पुर्याइरहने जिम्मेवारी वहन गर्ने प्रतिवद्धता जनाउँछौं ।
https://youtu.be/rCggWhsp4GI