एकान्त बास
कविता

कोरोनाको त्रास
बाँच्ने जिजीविषा बोकेर
विश्व मानव समुदाय
बसेको छ एकान्त बास ।
अलिकति सामल जोडेर
नोवेल कोरोनाको नाममा
सामाजिक दूरी कायम गर्दै
दैलोमा आग्लो लाएर
मान्छे आफ्नै घरमा
बन्दीजस्तो भएर
गर्दै छ एकान्त बास ।
अदृश्य व्याधिका सामु
त्रसित र भयभीत हुँदै
महाशक्तिको अहङ्कार मुसा भएको छ
आणविक शक्तिको धार कुँडिएको छ,
जङ्गलका जडीबुटीको मूल्य बढेको छ
मान्छे फेरि पुरानै युगमा फर्किएको छ
ऋषियुगको एकान्त बासमा ।
उदासी जीवन लिएर
गतिमान पाइला बिसाएर
धर्तीको सुन्दर सृष्टि मान्छे
एक मुठी प्राणको भिक्षा माग्दै छ
अदृश्य भाइरसको त्रासले
विश्व आतङ्कित छ
तर
लोभी, दम्भी र अहङ्ककारी अगुवा
निहित स्वार्थको दलदलमा फँसेर
फोस्रो तर्क र बकवास गर्दैछ
किंकर्तव्य विमूढ बनेर
किनकि
विश्व एकान्त बासमा छ ।
लाखौँ मान्छे मृत्युको सिकार भएको
करोडौँको चित्कार सुनेर पनि
लोभी अझै लोभ गर्दै छ
कोरोनाको जूठो खान
मर्दा कात्रो पनि नपाउने युगमा
भ्रष्टाचारको दलदलमा फँसेको देखेर
काल अट्टाहस गरिरहेछ
जनता एकान्त बासमा छ ।