८३ दिनपछि खुल्यो कार्यालय, सेवाग्राही न्यून
सबै कार्यालय २ सिफ्ट संचालन, कर्मचारी र सेवाग्राहीलाई ज्वरो नापेर मात्र प्रवेश दिइने

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लकडाउन शुरु भएपछि बन्द रहेको सरकारीसहित विभिन्न कार्यालय आजदेखि संचालन भएका छन् । ८३ दिनदेखि बन्द रहेको कार्यालय सरकारले लकडाउन खुकुलो बनाएपछि सोमबारबाट खुलेका हुन् ।
सरकारले लकडाउनसँगै अत्यावश्यक सेवाका बाहेक अन्य सबै कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । लकडाउनका कारण बन्द रहेको सबै कार्यालय सोमबारबाट खुलेका हुन् ।
सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गरिँदैछ । लकडाउनको कारण लामो समय सेवा बन्द हुँदा रोकिएको कामलाई छिटो गर्न सरकारी कार्यालय २ सिफ्ट संचालन गरिएको हो । सरकारी कमर्यालय पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म खुला हुनेछ । सरकारी कार्यालय सोमबार बिहान ८ बजेदेखि खुलेका छन् । कार्यालय बिहानैदेखि खुले पनि सेवाग्राी भने न्यून छन् । सार्वजनिक सवारी साधन बन्द भएको कारण सेवाग्राही कम भएका हुन् ।
कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सबै कार्यालयले मूल प्रवेशद्वारमा कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम नापेर मात्र प्रवेश गराउनका लागि थर्मल गनसहित सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ ।
ज्वरो नाप्दा १०४ डिग्रीभन्दा बढी ज्वरो देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याउन स्थानीय प्रशासन, पालिका र सुरक्षा निकायसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने छ । यसैगरी हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । कामको चाप बढी पर्ने कार्यालयमा सेवाग्राहीलाई छुट्टै सेवा प्रवाह गर्न छुट्टै काउन्टरको व्यवस्था गर्नुपर्ने व्यस्था गरेको छ ।