Logo मंसिर १७, २०७७ बुधबार


आत्मनिर्भर छोरी

मसँगै एसएलसी दिन गएकी मेरी दिदी (काकाकी छोरी) लाई परीक्षा सकेपछि खाेजेँ तर कतै भेटिँन मैले । निकैबेर खोजेँ, पर्खिएँ, नभेटिएपछि एक्लै घर फर्किएँ । तर म घर पुग्नुभन्दा पहिला दिदी पोइला गएको (भागी विवाह) खबर घर पुगेछ । म घर पुग्दा परिवारका सबै सदस्यको अनुहारमा सन्नाटा छाएको थियो । सबै मौन थिए । म पुग्नासाथ मम्मी जुरुक्क उठेर दिदीको बारे केरकार गर्न लाग्नुभयो । दिदी र म केही महिनाका मात्र फरक थियौँ । दिदीबहिनी भन्दा हामी धेरै चाहिँ साथी थियौँ । त्यही भएर दिदीकाे बारेमा मलाई सबै थाहा छ भनेर मम्मीले सोध्नुभएको होला । तर विचरी मलाई त सबैको अनुहारमा १२ किन बजिरहेको छ भन्ने कुरा पनि मम्मीको केरकारपछि मात्र थाहा भएको थियाे ।

त्यही साँझ दिदीको बारे सबै पत्ता लगाएर ठूलोबुवा घर आउनुभयो । सबैले कौतुहलता बोकेको अनुहारले ठूलोबुवाको मुखमा टुलुटुलु हेरिरहेका थिए । ‘ज्वाईँ भर्खरै विदेशबाट आएका रहेछन्,’ भन्दै ठूलोबुवाले कोटको भित्रि खल्तिबाट फोटो निकाल्नुभयो । सबैले तछाडमछाड गर्दै हेरे । गोरो, मोटोघाटो, खाइलाग्दो ज्यान, हेर्दा राम्रा थिए भिनाजु । काकीले हतार सोध्नुभयो, ‘घर कहाँ रहेछ ? जग्गा जमिन कति रहेछ नि ?’ ‘इटहरी हलगडा नजिकै चारतले घर, दुहवीमा दुई बिघा खेती छ रे…ठूलोबुवा बोल्दाबोल्दै… अनि दाजुभाइ दिदीबहिनी नि ? यो ठूलो मम्मीको प्रश्न थियो । ‘दिदीको बिहे भइसकेको, दाइहरु पनि बिहे गरेर छुट्टिसकेका, आमाबुवा ज्वाईँसँग रहेछन् ।’

यति सुनिसक्दा घरमा एउटा उत्सव आए झैँ भयो, केही बेरअघिको निरासा, सन्नाटा र कौतुहलता एकाएक मेटियो । एसएलसी दिन गएकी छोरी परीक्षा नै नदिइ पोइला गएकोमा कसैलाई कुनै आपत्ति थिएन । अझ राम्रो घर हेरेर गएकीमा भने सन्तुष्टिको भाव सबैको मुहारमा स्पष्ट देखिन्थ्यो ।

अर्को महिना साइत हेरेर दिदीको बिहे धुमधामले गरियो । धनाड्य परिवारमा भएको दिदीको विवाहप्रति सबै खुशी थिए । ‘गतिलो केटो भेटिछे है रमाले त’, ‘कति लाइदिएको रहेछ सुन पनि’, ‘इटहरीमा चार तले घर छ रे नि त,’ गाउँमा चलेका यस्ता गाँइगुँइ कुराले हाम्रो परिवारको खुशीमा अझ घमण्डनै थपिदिएको थियो ।

दिदीको बिहे भएको पनि १० वर्ष भएछ । ८ वर्ष र ६ वर्षका गरेर दुई छोरा छन् अहिले । भिनाजु विदेश जानेआउने गरिरहनुहुन्छ । दिदी माइत आएको भिनाजुले खास्सै मन पराउनु हुँदैन । कहिलेकहीँ केही बहाना बनाएर आउँछे । सासुससुरा र छोराहरु स्याहारेर बसेकी छ । सम्पत्ति कमाएकै छन् भिनाजुले खुशी नै त होली । दिदीसँगै एसएलसी दिन गएकी मैले सबै परीक्षा राम्रोसँग दिएँ । स्कूलको मात्र होइन गाउँकै नाम राखेकी थिएँ एसएलसीमा । खुब सान बढेको थियो त्यो बेला ।

इटहरी नमुना कलेजबाट शुरु भयो कलेज यात्रा । ५ किलोमटिर साइकलको यात्रापछि बल्ल कलेज बस भेटिन्थ्यो । एकाउन्टको हिसाबले तताएको दिमागलाई घर फर्कँदा १२ बजेको घामले पगाले झैँ लाग्थ्यो । साइकलको पाइडलसँगै भोकले रन्थनिएको टाउको पनि घुम्थ्यो । यसरी नै बित्यो दुई वर्ष । प्लस टूको नतिजा पनि नमूना कलेजमा नमूना विद्यार्थी बनाउन सहायक बन्यो ।

पढाई पूरा गरौँला, जागिर खाउँला, राम्रो काम गरौँला र आत्मनिर्भर बनौला भन्ने सानो सपनाको पोको बोकेर राजधानी छिरेँ । शुरुमा बानी बसाउन र पछि दैनिकी चलाउन खुब संघर्ष गर्नुपर्यो । किताबमा आँखा र कापीमा कलम मात्र ठोक्काएकी मैले पढाई पूरा गर्दा र जागिरका लागि दौडधुप गर्दासम्म यो टाउको, मन र दिमागलाई कति ठाउँ ठोक्काएँ, कहिल्लै हिसाब भएन । एसएलसी सकिएर अहिलेसम्मको यो १० वर्षको अवधिमा घरबाट करिब एक सयबढी बिहेका प्रस्ताव सुनाइए । कहिले डाक्टर, कहिले सरकारी जागिरे, कहिले वकिल, कहिले इन्जिनियर त कहिले व्यवसायी । मम्मीको लागि भएपनि सुनिदिन्थे । अनि अनेक बहाना बनाउँदै ती प्रस्तावहरुलाई टार्थेँ ।

औपचारिक पढाई पूरा भयो, भने जस्तै जागिर पाएँ । अब उमेर पनि भयो, बल्ल बिहेका लागि आफू योग्य भएको महशुस भयो । मम्मीड्याडी, ठूलोबुवा ठूलोमम्मी, काकाकाकी र दाइलाई अघि राखेर भने, ‘बिहे बिहे भनेर कराउनुहुन्थ्यो, अब गर्छु म बिहे । तपाईँहरुलाई जसरी पर्खाएर राखेकी थिएँ त्यसैगरी विगत चार वर्षदेखि कोही मसँगै बिहे गर्न भनेर पर्खिएर बसेको छ । म उसैसँग बिहे गर्छु ।’ मेरो कुरा सुनेर सबै छक्क पर्नुभयो । छक्क पनि किन नपर्नु जब हाम्रो जस्तो संकुचित धारणा भएको समाजमा एउटी छोरीले परिवारसँग आँफैले आफ्नै बिहेको कुरा निर्धक्क भन्दै थिई ।

केही समयको मौनतालाई तोड्दै ड्याडीले भन्नुभयो, को हो केटा ? कहाँको हो ? के गर्ने हो ?’ ताप्लेजुङ जिल्ला, फक्तालुङ गाउँपालिका, नाम दिपेश क्षेत्री, सँगै पढेका हौँ, जागिर प्रोसेसिङमा छ, घामपानी छल्ले टहरा पक्कै होला, जग्गा सोधेकी छैन ।’ मेरो कुरा सुनिसक्दा अघिसम्म सबैमा देखिएको आश्चर्य एकाएक डरमा परिणत भएको थियो । असन्तुष्टिका रेसाहरु सबैका नजरमा स्पष्ट देखियो । दाइ बसेको ठाउँबाट जुरुक्क उठ्नुभयो र भन्नुभयो, ‘आवश्यकता भन्दा धेरै नै पढिछस् तैँले, यसकै लागि पठाएका थियौँ हामीले तलाइँ काठमाडौं ?’ यति भनेर दाइ बाहिरिनुभयो । अब ठूलोबुवाको गनगन शुरु भयो । ‘हामीले दुःख पायौं तिमीहरुले नपाउ भनेर तराई झारियो, पढ्न शहर पठाइयो अब त्यही पहाड रोजिस्, त्यस्तो विकट ठाउँ, न जागिर छ न जग्गाजमिन के भन्छन् मान्छेले, कसरी दिनु त्यस्तो ठाउँमा बिहे गरेर हामीले…, उहाँको गनगन निरन्तर चल्यो ड्याडीले नि थप्नुभयो बीचबीचमा । आमाहरु कोही केही बोल्नु भएन ।

परीक्षा दिन गएकी छोरी पाेइला गएपछि उसको परिवारको पृष्ठभूमि सुनेर मख्ख परेको मेरो परिवारले एउटी आत्मनिर्भर छोरीले आफैले हेरेको केटाको पुष्ठभूमि सुनाउँदा नाक खुम्च्यायो । धनाड्य परिवारमा भागेर बिहे गरेकी दिदीको परिवारको सम्पत्तिमा गर्व गर्ने मेरो परिवारले मेरो पढाई, मेरो काम र मेरो आत्मनिर्भरताप्रति गर्व गर्न सकेन ।

घरका सबैलाई बिस्तारै सम्झाएँ, मलाई अरुको जागिर, अरुको सम्पत्तिको कुनै मोह छैन, म आफ्नो लागि आफै कमाउन सक्षम छु भन्ने विश्वास दिलाएँ । धेरै असन्तुष्टि र गुनासाका बीच परिवारले मेरो प्रेमलाई बिहेका लागि अनुमति दियो । दिदीको बिहेमा जस्तो धुम मच्चाउने कुनै रहर थिएन । सामान्य ढङ्गले थोरै खर्चमा बिहे भयो ।

‘फलानाकी छोरी केके नै गर्ली जस्ति थिई ताप्लेजुङको केटोसँग बिहे गरिछे…,जागिर नि छैन रे केटोको…जग्गा त दुई चारमाना कोदो फल्ने बारी मात्र छ रे…, केही नभएर त होला बिहे नि झारो टार्ने काम मात्र गरे’ यसै खिन्न भएको मेरो परिवारमा गाउँलेको यस्तो गाँइगुँइले घाउमा नुन छर्किएझैँ हुँदोरहेछ ।

हाम्रो घरभित्र र बाहिरको काम बराबर छ । श्रीमान श्रीमतिबीच हुने सम्मान बराबर छ । मलाई आफ्नो आवश्यकताका लागि कसैको अघि हात फैलाउनु पर्दैन । म मेरो लागि कुनै पनि कुराको निर्णय आँफैले गर्न सक्छु । श्रीमानबाट आदेश होइन अनुरोध पाउँछु । कुनै काममा हस्तक्षेप होइन सुझाव पाउँछु । म सन्तुष्ट छु । म खुशी छु । तर एउटी छोरीको परिवार छोरीको प्रगतिमा होइन ज्वाईँको प्रगतिमा खुशी हुने रहेछ । छोरीको क्षमतामा होइन ज्वाईँको पुख्र्यौली सम्पत्तिमा गर्व गर्ने रहेछ ।

ज्वाईँको सम्पत्ति र जागिरमा भर परेको छोरीको जीवन सधैँ धरापमा हुन्छ । छोरीका आवश्यकताहरु ज्वाईँका चाहनामा भर पर्छन् । श्रीमानले छोडिदिए भने आफ्नो जाने ठाउँ हुँदैन भनेर एउटी श्रीमतीले हरेक कुरामा सम्झौता गरेर बस्नुपर्छ, यी कुरा कहिले बुझ्ला मेरो समाजले ? कहिले भन्नुहोला हाम्रा आमाबुवाले, ‘छोरीलाई सक्षम बनाऔँ, ज्वाईँको जागिर र सम्पत्ति नभए पनि फरक पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…