दमका रोगी ७० वर्षीय वृद्धले जिते कोरोना

दाङ । बंगलाचुली गाउँपालिकाका एक ७० वर्षीय वृद्धले कोरोना जितेर घर फर्किएका छन् । लामो समयदेखि दम रोगबाट ग्रसित बंगलाचुली–१ का कोरोना संक्रमित वृद्ध कोरोना मुक्त भइ घर फर्किएका हुन् ।
गत जेठ २० गते भारतबाट आएर बंगलाचुली १ स्यूजाको क्वारेटाइनमा बसेका एक सय ३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका थिए ।
बाँच्नका लागि भनेर भारतबाट नेपाल आउँदा उल्टै कोरोना पोजेटिभ देखिएको र बाँच्ने आशा नै मरेको वृद्धको भनाइ छ । कोरोना देखिएपछि बाँच्ने आशा मारेका उनीले कोरोना जितेर घर फर्कँदा निकै खुशी लागेको बताए ।