प्रधानमन्त्रीको भनाइ घरमा सुनाइदिनुहाेस्

‘आमालाई सञ्चो छैन, तपाई तुरुन्त घर आउनु दाई’ माइत आएकी बहिनीले २०७७ जेठ २३ गते एक्कासी यसरी फोन गर्दा मनै चिसो भयो । बेलाबेला विसञ्चाे भइरहने आमाको पहिल्यैदेखि समस्या नै हो । लाग्यो, यसपटक पनि सामान्य नै होला । तर आमाको स्वास्थ्य समस्या सामान्य थिएन । उहाँ विल्कुलै फरक स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । कतै सुनेको तर थाहा पाए अनुसार पारिवारिक पुस्ताले नै नभोगेको स्वास्थ्य समस्या थियो त्यो ।

लकडाउनमा पनि नियमित रिपोर्टिङ गर्नुपर्ने र पत्रकारहरुलाई पनि कोरोना लागेको घटना घरसम्म पुगिसकेको थियो । मेसो मिलाएर फोनमा कुराकानी हुन्थ्यो । बाआमाको मन न हो, आत्तिहाल्नु भयो । ‘केही हुन्न, बचेर हिड्ने गरेको छु’ भनेर सामान्य आश्वासन दिनु बाहेक अरु के नै गर्न सकिन्थ्यो र ? ‘बरु यतै आइज’ बाआमा बारम्बार भनिरहनु हुन्थ्यो । ‘असारमा दिनभर पानी पर्यो भने खेतै नखन्ने हो र ? प्लाष्टिक ओढेरै भएनी रोपाइ गर्नुपर्छ’ भन्दै आफूले कोरोनाबाट बच्न उपाय भन्दिन्थे । उहाँहरु केही कन्भिन्स पनि हुनुहुन्थो । तर पछिल्लो समय कुराकानी पनि पातलो हुँदै गईरहेको थियो ।

‘के भयो फेरि बुढीमाऊलाई ?’ बहिनीसँग फोनमै सोधेँ । ‘आमा बिहानै भोटेचौर पुलिस चौकी जानुभएछ, पुलिस घरमा आएका थिए’ बहिनीले भनिन् । ‘किन आएका घरमा पुलिस ?’‘आमा पुलिस चौकी गएर सेतो कपडा लगाएका मान्छे आएर घरमा कोरोना छर्केर गए भन्नुभएछ, अनि पुलिस चेक गर्न आएका रे’ उनले भनिन् ।

आँखाभरी आँशु बोकेर प्रहरी चौकी पुगेको एक परिपक्क उमेरकी महिलाको कुरा सुनेर प्रहरी घर पुगेको थियो । घरमा कसैलाई पनि अत्तोपत्तो थिएन । आमा त गाउँभरी रुँदै जंगलकाे बाटो पुलिसलाई बोलाउन जानुभएछ । रातभरी एउटै घरमा सुतेका बा, भाइ र बहिनीलाई समेत थाहै नदिई एकघण्टा लाग्ने बाटो हिडेर आमा प्रहरी चौकीसम्म पुग्नुभएछ । लगत्तै प्रहरी पनि घर पुगे । किराले खाएको काठको सेतो धुलोलाई उहाँले कोरोना ठान्नुभएछ । बिहान घर सफा गर्दागर्दै आमा प्रहरी चौकी जानुभएको थियो, कुचो भूइँमै थियो ।

प्रहरी घर पुगेपछि नै आमाको स्वास्थ्य अवस्था सामन्य नरहेको प्रष्ट भयो । अनि मात्रै परिवार र टोल हुँदै मलाई पनि थाहा भयो । घटनाबारे बहिनीले आत्तिदै सुनाएपछि, के गर्ने के नगर्ने ? आफै आत्तिएको थिए । तर पनि थप कुरा थाहा पाउन प्रहरी मै फोन गरें । चौकीमा महत थरका एक असई हुनुहुन्थ्यो । उहाँले आमा आएको अवस्थादेखि घरको अवस्थासम्म सबै बताइदिनुभयो । एकपटक अस्पताल लैजान सुझाव दिनुभयो ।

आमा त छैनन्’ भाइ बोलेको आवाजसँगै बिहानी निन्द्रा भताङभुतुङ भयो । तत्काल उठेँ । ‘भर्खरै यही त थिइ त’ उता बाले भन्नुभयो। घरका सबैजाना उठेर यताउता हेर्दा कतै फेला नपरेपछि म गाउँतिरै लागेँ । प्रहरी चौकी जाँदाको जंगलतिर पनि पुगें । सम्भावित सबै ठाँउमा घुमेँ, कतै भेटिन । टोलका मान्छेहरु भखरै उठ्दै थिए, उनीहरुले देख्ने कुरै भएन । आमालाई कतै भेटिएन । सारा घुमेर घर फर्किएँ ।

प्रहरी चौकीबाट फर्किदा रुँदै फर्किनु भएको थियो रे, निकै निरासाजनक कुरा गर्दै । म अफिसमै थिएँ, तत्काल घर जान पाउने अवस्था  थिएन । आमा घरमै आराम गर्दै हुनुहुन्छ भन्ने थाहा पाएँ । घरमा नआत्तिन भने, तर आफै आत्तिएको थिएँ । साँझपख आमालाई फोन गरें । आँशुबाटै कुरा शुरु भयो । बिहानको घटना उहाँकै मुखबाट सुने । उहाँले भन्नुभएको कुरा र गर्नुभएको व्यवहार फरक थियो । भोलिपल्ट घर जानै थियो । घर सिन्धुपाल्चोक, मेलम्ची–२ । त्यसदिन बिहानैदेखि आमा रोइरहनु भएको थियो । घर पुग्नु अघि गाउँलेहरुले सुनाउँदै थिए । उहाँका विल्कुलै फरक व्यवहार । गाउँटोलका मान्छेहरु पनि उहाँको अपत्यारिलो व्यवहारबाट चकित थिए, उत्तिकै दुखी पनि‘के भयो बुढीमाऊ?’ चमक गुमेको अनुहारमा केही मन्द मुस्कानका साथ उहाँले भन्नुभयो ‘खै के भयो भयो ? सबै जिऊ काँपेर गाउँ नै उल्टेला जस्तो भयो, धन्न तिमीले मुख देख्न पायौ ।’ त्यसदिन आमा सुतेको खाट छोडिन । उहाँ जीवनको अन्त्य देख्नुहुन्थ्यो । आठ सन्तानकी आमा दिदीबहिनीलाई माया गर्न, दाजुभाइ मिलेर बस्न र बालाई आफूसँगै राख्न आग्रह गर्नुहुन्थ्यो । कुरा गर्दा आफ्नै आँशु थाम्न सकिन । तैपनि बा, भाइ र बहिनीको अघि आँशु लुकाउथेँ।

‘आमा त छैनन्’ भाइ बोलेको आवाजसँगै बिहानी निन्द्रा भताङभुतुङ भयो । तत्काल उठेँ । ‘भर्खरै यही त थिइ त’ उता बाले भन्नुभयो। घरका सबैजना उठेर यताउता हेर्दा कतै फेला नपरेपछि म गाउँतिरै लागेँ । प्रहरी चौकी जाँदाको जंगलतिर पनि पुगेँ । सम्भावित सबै ठाँउमा घुमे, कतै भेटिन । टोलका मान्छेहरु भखरै उठ्दै थिए, उनीहरुले देख्ने कुरै भएन । आमालाई कतै भेटिएन । सारा घुमेर घर फर्किएँ। आफ्नै टोल, छिमेक, खेलेहुर्केको ठाउँले नै आमालाई गायव पारे जस्तो… अहँ कतै भेटिन । बा, भाइ र बहिनीले पनि नखोजेका होइनन्, कतै भेटेनन् ।

बुबालाई आफू सुतेर उठेको खाटको ओछ्यान बिग्रिएको जस्तो लागेछ, ढुकुटी खाटभित्र हेर्नुभयो । विचरा आमा…बुबा उहाँलाई देख्ने बित्तिकै डाँको छोड्न थाल्नुभयो । निकै हक्की स्वभावका बुवाको आँखामा आँशु छचल्कियो । स्वास फेर्नै उकुसमुकुस हुने खाटभित्र कसरी बस्नुभयो होला… ? बुबाको आँखामा आँशु, बहिनी र भाइको निपट्यारोलो अनुहार, आमाको मुहारको कालोबादल । अनि मेरो आत्तिएको मन । विरक्त लाग्दो वातावरण थियो, तर निकै बेर खोज्दा पनि नभेट्टिएकी आमालाई भेट्दा खुशी नलागेकाे भने हाेइन ।

किन गाको ढुकुटीमा ?–‘आनन्द आयो। अहिले ठिक भयो।’ प्रत्येक दुःखलाई हाँसेर जित्ने मेरी आमा । दुःख, निरास र पीडालाई जितेकी मेरी आमा, हिम्मतिलो, निकै जोश जाँगर भरिएकी मेरी आमा । त्यस्ता मान्छेको आखाँमा आँशु र निरासाले भरिएको मात्रै कुरा । अहँ सुहाउँदै सुहाएको थिएन, पत्यारै लागेको थिएन ।  दिन छिप्पिदै जाँदा केही निको भएजस्तो पनि देखिने । अनि केही अनौठा कुरा पनि गर्ने। ‘गंगटो मार्यो भने खड्को काटिन्छ रे’, ‘कुकुरबाट पनि कोरोना सर्छं रे’, ‘गाई मारेर गाडेको ठाँउमा फलफूल रोप्यो भने राम्रो हुन्छ रे’ आदि इत्यादि…।

सबै भन्दा अत्यास लाग्दो कुरा त, ‘मलाई क्वारेनटेन नलैजा है बाबु, बरु सिधै घाटमा लगेर जलाइदे । ’ उहाँको बुझाईमा क्वारेन्टाइन मर्नुअघि राखिने स्थान हो, त्यहाँ दुख पाउनु भन्दा घाट मै लगेर जलाउँदा सुख पाइन्छ भन्ने आशय थियो । आमाको त्यो आवाज आउने बित्तिकै मैले रेडियो अफ गर्न बुबालाई भने । समाचार सुन्न मन लाग्यो भने आफै सुन्नु, चौविसै घण्टा रेडियो नबजाउन आग्रह गरे । मिनेटै पिच्छे कोरोनाबारे बज्ने सुचनाले आमाको मनोवृत्तीलाई यसरी कमजोर बनाएछ की…

आमाको मन शान्त भएको देखेर म तेस्रो दिन बिहान काठमाडौं फर्कें तर दिउँसो फेरि आमा हराउनुभयो । भाइबहिनी र बुबाका साथै छिमेकीले पनि खोजे कतै भेट्न सकेनन् आमालाई र मैले प्रहरी चौकीमा आमा हराउनु भएको खबर गरें । चौकीमा पनि नआउनु भएको प्रहरीले बताए । भाइले ‘आमा–आमा’ भनेर चिच्याउँदै आमालाई खोजिरहेको थियो ।भिरालो र खोंच पहाड, बाक्लो जंगल, पानी परेको मौसम, फोनबाट मैले सबै त्यहाँको अवस्था सुनिरहेको थिए। ‘आमा प्रहरी चौकी जाँदै हुनुहुँदो रै’छ, हामीले यहाँ राखेका छौं, चौकी नजिकै घर भएका भान्जाले फोन गरेपछि मन ढुक्क भयो । भाइलाई आजै आमालाई काठमाडौं ल्याउन भनेँ । तर दुई दिन पर्खिन दिदीको घरबाट आग्रह भयो । फेरि त्यसै गरी हराउनु भयो भने के गर्ने? अर्को तनाव… ।

कोरोनाले एउटा दीर्घरोग छोड्यो । त्यो हो, कोरोनाबारे अत्याधिक हल्ला, अफवाह र तथ्यहीन समाचार, अनि जताततै कोरोनाका सूचना । आफू, आफ्ना परिवार र छिमेकीलाई मानसिक रोगी हुनबाट बचाउनुस् ।

आमाको अवस्थालाई मानसिक रोग हो भन्न गाउँले जानेनन् वा बुझेनन्, वनझाँक्री लाग्या हो भनेर झरफुक पनि गरे । झारफुक गरेपछि कम भएकाले अस्पताल नल्याउन घरबाट भएको आग्रहलाई मेरो ढिपीले ल्याउन सक्ने अवस्था पनि थिएन। न त मैले चाहने वित्तिकै गाडी तथा एम्बुलेन्सकै व्यवस्था हुन्थ्यो । फोनमा त्यही दिन आमासँग कुरा गर्दा कसरी आफू यहाँ आइपुगेँ भन्ने कुरा आफैलाई थाहा नभएको बताउनु भयो । अफ्ठेराे बाटो थियाे, लड्या भए के हुन्थ्यो ? आफू जंगलको एक ओडारमा बसेको भने उहाँलाई याद थियो । दिदीभिनाजुले उहाँलाई कम भएको बताइरहनु भएको थियो । म भने उहाँलाई निको भएको पत्याउने अवस्थामा थिइन । यतै ल्याउने तरखरमा थिएँ । तर कुन अस्पताल ल्याउने टुंगो थिएन ।

लकडाउन अवधिभर दर्शकलाई महामारीमा सचेत रहन आग्रह गर्दै निकै रिपोर्ट तयार गरेका थियौं । कोरोना भाइरसबाट मात्रै हाेइन मानसिक तनावबाट बच्न पनि हामीले रिर्पोटिङ गर्यौ । विषेशज्ञका भनाइ समावेश गर्यौ । तर आज आफ्नै आमा मानसिक तनावबाट पीडित हुनुहुन्थ्यो । यो मेरो कस्तो दूर्भाग्य… । त्यसैबीच सहकर्मी सन्तोष गिरीले मनोचिकित्सक कमल गौतमको नाम लिनुभयो।  ठूलो आशले त उहाँसंँग फोन गरेको थिइन । तर सबैभन्दा पहिला उहाँले मेरो आत्तिएको मनको उपचार गर्नुभयो ।अनि आमाको उपचार विधि भन्दिनुभयो । उहाँको अनुसार आमालाई ‘स्कि जो फेनिया’ भएको हो। आमाको सबै अवस्था बताएपछि उहाँले औषधि सिफारिस गर्नुभयो। तत्कालै मैले औषधि आमालाई पठाएँ । आमाले त्यही रातबाट औषधि शुरु गर्नुभयो । हो, उहाँको मुहारमा पुरानो खुशी फर्केको छैन । हाम्रो परिवारमा कोरोनाले एउटा दीर्घरोग छोड्यो । कारण केहो थाहा छ ? कारण कोरोनाबारे अत्याधिक हल्ला, अफवाह र तथ्यहीन समाचार, अनि जताततै कोरोनाका सूचना ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्नुभएको कुरा निकै विवादित बन्यो र कोरोनालाई सामान्य रुपमा लिन उहाँले गर्नुभएको कुरालाई निकै उडाइयो । ‘कोरोना भनेको रुघाखोकी जस्तै हो, लागि हाल्यो भने हाच्छिउँ साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाईदिनु पर्छ’ प्रधानमन्त्रीले सम्बोधनको शुरुमा भन्नुभएको थियो,‘कोरोनाले छोयो भन्ने वित्तिकै मर्छु, अब गए म भन्ठान्यो भने त बाँच्न गाह्रो हुन्छ ।’

प्रधानमन्त्री जस्तो व्यक्तिबाट कोरोना जस्तो संवेदनशील विषयमा यति सस्तो टिप्पणी ? सायद धेरैलाई यही लागेको हुनुपर्छ। तर म भन्छु,‘थ्याङ्क्यू पिएम’ प्रधानमन्त्रीले कोरोना रोगबारे यही कुरा ३ महिना अघि नै भनिदिनु पर्थ्याे । ताकी हाम्री आमाले कोरोनाबारे धेरै नकारात्मक भएर मानसिक रोगको सिकार हुनु पर्ने थिएन। के कोरोनालाई जटिल रोग भन्दिनु पर्ने हो ?

सचेत हुनुहाेस्, प्रधामन्त्रीले भनेको जस्तै उच्च आत्मवल राख्नुहोस्, आफू, आफ्ना परिवार र छिमेकीलाई मानसिक रोगी हुनबाट बचाउनुहाेस् । कोरोना भाइरसलाई सलिजै जितेका उदाहरण प्रशस्त छन् तर मानसिक रोग निको हुन गाह्रो हुन्छ । मिल्छ भने प्रधानमन्त्रीको भनाइलाई एकपटक घरमा सुनाइदिनुस्।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…