काठमाडौं । बिहान ७–८ बजे भित्रिएको सलह किरा सुरुमा आकाश र जमिनमा मात्र देखिएको थियो । तर, दिउँसोबाट भने विभिन्न बालीमा छिरेर नष्ट गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सर्लाहीको नवलपुरमा फलफूलका बिरुवा र मकैमा बसेको थियो । सिमरा र जितपुरमा काउली, फर्सीको पातलगायत तरकारी बालीमा बसेको थियो भने बुटवलमा कागतीको बोटमा बसेको मन्त्रालयका उपसचिव गंगा आचार्यले बताए । उनका अनुसार अपराह्न ४ बजेपछि सलह किराले बाली नष्ट सुरु गरेको थियो ।
भारतमा विगतका वर्षहरूमा यो किरा साउनदेखि असोजसम्म झुन्डका रूपमा देखिने गथ्र्यो । तर, यो वर्ष गत वैशाखमा नै देखियो । भारतमा पाकिस्तानबाट सलह आएको थियो । वैशाखमा आएको किराले भारतको मध्यप्रदेश, गुजरात, राजस्थानलगायतका राज्यमा छोटो समयमै ५० हजार हेक्टरभन्दा बढी क्षति गरेको थियो ।
भारतमा क्षति बढ्दै गएपछि नेपालमा पनि यसको प्रवेशको सम्भावनाबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको नेतृत्वमा कार्यदल बनाइएको थियो । सो कार्यदलले नेपालमा भारतबाट सलह किरा यो वर्ष आउने सम्भावना न्यून रहेको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारले कुनै पूर्वतयारी नगरी बसेको थियो ।
तर, शनिबार बिहान एक ठाउँमा करिब १ लाखको संख्यामा रहेको सलह किराको झुन्ड पुष्टि भएको छ । शनिबार बिहान तराई क्षेत्रमा पानी परेकाले राति नै सलह किरा भित्रिएको अनुमान छ । दक्षिणबाट उत्तरतिर बगेको हावाले भारतमा रहेको सलहको ठूलो बथानबाट सानो झुन्ड मात्रै छुट्टिएर नेपाल आएको अनुमान गरिएको छ ।
मन्त्रालयका उपसचिव गंगा आचार्यले सलहको सानो झुन्ड देखिएको र आवश्यक सतर्कता अपनाउन आइतबार दिउँसो वैज्ञानिक सम्मिलित बैठक बस्न लागेको बताए । ‘यो किरा नियन्त्रण गर्न सकिने किसिमको छ । यसलाई कसरी नियन्त्रण गर्ने भनेर हामीले गृहकार्य गरी आवश्यक कदम चाल्नेछौँ,’ उनले भने ।
विषादी छर्केर भगाउन सकिन्छ, तर विषादी छैन
सलह किरालाई नियन्त्रण गर्न ‘मालाथियन ९६ पर्सेन्ट’ विषादी सबैभन्दा प्रभावकारी हुन्छ । तर, यो विषादी नेपालमा छैन । मन्त्रालयका सचिव डा। भारीले यो औषधि हाल मौज्दातमा नरहेको पुष्टि गरे । ‘हामीसँग यो औषधि छैन, किन्नुपर्ने हुन्छ,’ उनले भने । जेठ दोस्रो साता नै कमिटी गठन गरेर नियन्त्रणको उपाय खोज्न भनिए पनि नेपालमा यो किरा नै नआउने भनेर प्रतिवेदन दिएकाले सरकारले कुनै पूर्वतयारी गरेको थिएन । जसकारण अहिले यो रोग भित्रिएपछि नियन्त्रणका लागि छर्ने विषादीको अभाव भएको हो ।
त्यस्तै, क्लोरोसाइरिफियस विषादी पनि सलह किरा मार्न प्रयोग हुन्छ । यो औषधि भने नेपालमा उपलब्ध छ । तर, यसले तुलनात्मक रूपमा कम किरा मार्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा। डिल्लीराज शर्माले बताए । ‘क्लोरोसाइरिफियस विषादी पनि पर्याप्त मात्रामा छर्न सकिन्छ, तर ढिला गर्नुहुँदैन,’ उनले भने ।
उनका अनुसार सलह किरा दिनभर बाली खाने र साँझ परेपछि एकै ठाउँमा जम्मा भएर बस्ने गर्छन् । त्यसैले सलह किरा बसेको ठाउँमा स्प्रेका माध्यमबाट विषादी छर्केर मार्न सकिन्छ । ‘शनिबार बिहान भित्रिएको किरालाई मार्न साँझ नै स्प्रे हाल्नुपथ्र्यो,’ उनले भने, ‘हामीले यति गर्न नसक्दा ठूलो मूल्य चुकाउँछौँ ।’ तर, शनिबार साँझ विषादी छर्किने बारेमा कुनै तयारी नभएको कृषि ज्ञानकेन्द्र, बाराका प्रमुख जितेन्द्र यादवले बताए । ‘शनिबार नै विषादी छर्ने विषयमा कुनै निर्देशन प्राप्त भएको छैन,’ उनले भने ।
शर्माका अनुसार सलह किरा बसेको ठाउँमा ठूलो आवाजमा म्युजिक बजाएर पनि भगाउन सकिन्छ । तर, एक ठाउँबाट भगाएको किरा अर्को ठाउँमा बस्ने भएकाले देशको सिमाना नै कटुन्जेलसम्म सबै ठाउँबाट ठूलो आवाजमा म्युजिक बजाउने वा किसानले ड्रम, थाललगायत बजाएर भगाउन सक्ने उनले बताए ।
के हो सलह किरा ?
फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ । अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएको मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा। डिल्लीराम शर्माले बताए ।
‘यो किरा अहिलेसम्मकै सबैभन्दा खतरनाकसाबित भएको छ । नेपाल भित्रिनु भनेको निकै खतराको संकेत हो,’ उनले भने, ‘यसलाई नष्ट गर्न शनिबारबाटै काम थाल्नुपर्ने थियो, तर १–२ दिन पर्खेर गल्ती भइरहेको छ ।’ यो किराले छोटो समयमै बाली, पात, डाँठ सबै नष्ट गर्ने उनले बताए । यो किरा सुरुमा सन् २००३ मा अफ्रिकामा देखिएको थियो । त्यसपछि खाडी मुलुक, इरान हुँदै पाकिस्तानबाट भारतमा आएको हो ।
यो किरा एक दिनमा १ सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।
नयाँपत्रिका दैनिकबाट