काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष तहमा देखिएको अविश्वास घटाएर विवादको निरुपण गर्ने गरी छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बढ्दो टकरावका कारण पार्टी विभाजनको खतरा देखिएपछि पार्टी स्थायी कमिटीको शुक्रबारको बैठक स्थगित गर्दै नेताहरु आपसी सहमति निर्माणमा जुट्न थालेका हुन । सहमतिकै लागि बिहिबारकाे बैठक शनिबार सारिएकाे हाे ।
सचिवालय सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा देखिएको संकट समाधानका लागि बिहिबार स्थायी कमिटीको बैठक स्थगित गरिएको र अध्यक्षद्वय ओली र प्रचण्ड तथा सचिवालयका नेताहरूबीच संकट समाधानमा केन्द्रित रहेर छलफल चलिरहने बताउनुभएकाे थियाे। ‘पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न, पार्टी र सरकारको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण शुक्रबारको बैठकलाई शनिबार ११ बजेसम्मका लागि सारिएको हो’ उहाँकाे भनाइ छ ।
बिहीबार बिहान ११ बजे राखिएको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी बने पनि त्यसविपरीत संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गरेपछि नेकपाको शीर्ष तहमा पुन: अविश्वास बढेको देखिन्छ । स्थायी समिति बैठककै बीचमा बसेको मन्त्री परिषद् बैठकले पार्टी सल्लाह बिना संसद अधिवेशन अन्त्यको सिफारिस गरेपछि नेकपाभित्रको राजनीतिले गम्भीर मोड लिएको निश्कर्ष निकाल्दै नेताहरु पुन: पार्टी एकताबद्द बनाउने अभियानमा जुटेका हुन् । पार्टी एकतामा खतरा उत्पन्न भएको स्वतः स्पष्ट भए पनि छलफल जारी राखिने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।
दुई पक्षीय संवाद जारी रहनेप्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापा भन्छन्, ‘नेकपा फुटको संघारमा पुग्यो भनेर गरिएको प्रचार केवल हल्ला मात्रै हो । आजको आवश्यकता, जनताको चाहना र कार्यकर्ताको मनोभावना बमोजिम नेताहरु अघि नबढी सुखै छैन र त्यही अनुसार नेताहरुका बीचमा संवाद चलिरहेको छ ।’
स्थायी समितिको बैठक स्थगित भएपछि नेताहरु व्यक्तिगत तथा सामूहिक रुपमा अध्यक्षद्वयलाई भेटेर पार्टी विग्रहबाट जोगाउन सल्लाह सुझाव दिइरहेका छन् । दुई अध्यक्षहरुबीचको अविश्वास समाधान गरी पार्टी एकताबद्द बनाउन प्रधानमन्त्री पक्षीय नेताहरु महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरल, स्थायी समिति सदस्यसमेत रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सक्रिय देखिनुभएकाे छ । त्यस्तै अर्का अध्यक्ष प्रचण्ड निकट मानिने स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल र हरिबोल गजुरेल तथा मन्त्रीसमेत रहनुभएका वर्षमान पुनले अध्यक्षद्वयसँग छुट्टै र एकापसमा दुई पक्षीय संवाद गरिरहनुभएकाे छ ।
पार्टीमा विवाद समाधान हुने भन्दा बढ्नेतर्फ केन्द्रित हुन थालेपछि नेकपाको दोस्रो तह र खासगरी युवा पुस्तामा निराशा बढेको छ । नेता कर्यकर्ताहरुले सामाजिक सञ्जालमा आफ्नो धारणा प्रकट गर्दै नेताहरुलाई ऐतिहासिक पार्टी एकता जोगाउन अपिल गरिरहेका छन् ।
कार्यकर्तामा देखिएको यस्तै निराशालाई नजिकबाट नियालिरहेका नेताहरुले दुई दिन घनिभुत संवाद गर्ने मनसाय बनाएकै कारण बिहीबारको बैठक स्थगित गरेर शनिबार ११:०० बजे बोलाइएको हाे। त्यसैले पनि बिहीबार साँझदेखि नेताहरु अनौपचारिक छलफलमा बढि केन्द्रित भइरहेको देखिन्छ । शनिबार बैठक बस्नुअघि अनौपचारिक छलफलका माध्यमबाट सहमतिको विन्दु पहिल्याउन लागि परेका नेताहरु पार्टीभित्र उत्पन्न संकट जोगाउन सफल हुने/नहुने बारे भने शनिबारको बैठकपछि मात्रै टुंगाे लाग्नेछ ।