वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

सप्तरी । वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियाँलाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँ क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आउनुभएको बताइएको छ ।
उहाँसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताउनुभयो ।
वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।