श्रावण २४, २०७७ शनिबार
Logo


धमिलिएको ओलीपथका लागि सुखद् उपाय

यतिखेर नेकपारुपी जहाज दुई पाइलटकै खटपटीका कारण डुब्छ कि उडिरहन्छ भन्ने संशय उब्जिएको छ । ०७५ जेष्ठ २ गते पार्टी एकता गर्दा आफू तरेर आएको पुल भत्काएर नयाँ जमिनमा आएको बताएका केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नयाँ विमानमा द्धिपक्षीय समू व्यवस्थापन गर्न नसक्दा उडानै असन्तुलित बनेको छ । तर यी दुई पार्र्टी दुई अलग संघर्षको पृष्ठभूमिबाट आएको कारण विचारधारात्मक र आन्तरिक जीवनमा अन्तरविरोध, गतिरोध उत्पन्न हुनु अनौठो विषय होइन । यहाँ प्रश्न भनेको अन्तरविरोधको व्यवस्थापन र हल गर्ने विधि के हो ? त्यसलाई कसरी बुझने ? कसरी व्यवहार गर्ने भन्ने विषय जस्ता व्यवहारजन्य समस्या मुख्य हुन् ।

अन्तरविरोधको पृष्ठभूमि :
पूर्वमाओवादी र पूर्व एमाले मिलेर नेकपा बनाइयो । एकताका मुख्य कार्यभार देशलाई अस्थिरताको विरासतीय निरन्तरताको अन्तय गरी दिगो शासन दिनु, परिवर्तनलाई संस्थागत गर्नु, देशलाई समृद्धितिर लैजानु हुन् । तर दुवै पार्टीमा रहेका गुटगत समूहको अन्तगर्ने घोषणा गरेका नेताहरुले एकता समायोजन प्रक्रियामा आफना गुट बलियो बनाउन नै बढता कसरत गरे ।

माओवादी पहिल्यै नै कैयौं टुक्रा भएर पुन जोडिएको अवस्था थियो । त्यसको व्यवस्थापन प्रचण्डले तुलनात्मक रुपमा सफलतापूर्वक नै गरे तर ओलीले नवौ महाधिवेशनको इगोको अन्त्य गरेर नयाँ बिधिसम्मत शिराबाट पार्टीलाई हाँक्न सकेनन, पूर्व एमाले पक्तिभित्र भावनात्मक एकता बनाउन सकेनन ।  महाधिवेशनमा आधाआधी संख्यामा निर्वाचित माधव समुहको शक्तिलाई कम आंकलन गर्दै प्रचण्डको आडमा पजनी गर्ने गरी अगाडि बढे । माधव नेपाल समुहले एक व्यक्ति एक पद नीति बनाएर पार्टी र सरकार दुवैलाई उत्तिकै शक्तिका साथ चलाउँ भन्ने मनासिव प्रस्तावलाई बारम्बार लत्याइयो, बिधिगत हैन टिका लगाएर पार्टीका नेता बनाइदिने प्रचलन शुरु गरियो ।

त्यतिमात्र सरकार सञ्चालनमा मन्त्रिमण्डल गठन, राजनीतिक नियुक्ति सबै ठाउँमा एकपक्षीय शैली अपनाइयो । पहिला घनश्याम र योगेशहरुले मात्र उठान गर्दै आएका विधि र संस्थागत रुपमा चल्नुपर्ने विषय पछिल्लो चरणमा माधव नेपालले दह्रो गरी नोटअफडिसेन्ट कै रुपमा बारम्बार दर्ज गर्नुभयो । तर यसलाई दुई अध्यक्ष मिलेर सबै ठिक हुन्छ भन्ने कार्यशैली अपनाएर सही मागलाई नजरअन्दाज गरियो । यही कुरा बढदै गएर झलनाथ र माधवको मर्यादाक्रम खोस्ने र वामदेवलाई सदनमा लैजाने सम्मका प्रकरणमा देखा परे । आफनै समकालीन र सहकर्मीहरुले धोका र अपमानको महशुस गरे ।

आफूलाई आवश्यकता पर्दा सम्झौता गर्ने, सहमति गर्ने अनुकुल अवस्थामा उल्लघन गर्ने अत्यन्त चरम अवसरवादी शैली देखियो । आलोपालो सहमतिमा प्रधानमन्त्री हुने सहमतिलाई प्रचण्डले स्थायित्वका लागि ५ वर्ष कै लागि ओलीलाई समर्थन गर्न तयार भए, तर उनको त्यागलाई पनि कमजोरी ठानियो । पहिला यो उहाँको निजी सचिवालय र सल्लाहकारको गलत सल्लाहले उनमा यस्तो शैली देखिएको ठानेर पुरै शंकाको सुविधा ओलीले पाउनु भयो । केही सल्लाहकार फेरबदल गरेपनि ओली शैली फेरिएन । आफनो आलोचकलाई मन्त्री बनाएर संकट टार्ने उपाय पनि प्रयोग गर्नु भयो । यसले अन्तरविरोध समाधान भएन बरु गहिरियो । अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई परेको समस्या यही प्रवृतिगत संकटको निरन्तरता हो ।

अन्तरविरोध हल गर्ने विधि :
पार्टी विधानले बहुमत अल्पमतको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, केन्द्रीय कमिटी महाधिवेशनको मातहत हुन्छ । पार्टी निर्णय जनवादी केन्द्रीयताको यही लेनिनवादी शैली अपनाउनु नै सैद्धान्तिक र विधिगत निर्णय हो । जनवाद भनेको पर्याप्त छलफलको अवसर हो, केदी्रयता भनेको निर्णयपछि एकमना एकताका साथ लागू गर्ने बाध्यता हो ।

यो कुरामाथि नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा लागू हुन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समेत स्वेच्छाचारिता बढेको छ । जनप्रतिनिधिमा चरम अराजकता छ । उनीहरु निर्वाचित भएको पार्टीको सहयोगले, पार्टी कार्यकर्ताको लगन र मेहनतले हैन केवल एकल व्यक्तिका क्षमताले मात्र आफू विजय भएको मनोविज्ञान स्थापित छ ।

ओलीको राष्ट्रवादको लोकप्रियताले मात्र जितेको, उनलाई प्रधानमन्त्री बनाउने गरी जनता समक्ष मत मागिएको जस्ता कुरा उठाएर व्यक्तिलाई देवत्वकरण गर्ने अवस्तुवादी कार्यशैली र संस्कृति भित्राउन खोजियो, त्यसकै असर हो । यसले अन्तरविरोध, गलत संस्कारलाई तलसम्म लगेको छ । हुँदाहुँदा पार्टीको बैठक प्रभावित गर्न युवा विद्यार्थी, कथित एकेडेमीका युवालाई सडकमा उतारेर रमिता गरिएको छ ।

ओली महाधिवेशनमा बिजयी हुँदा आफूसंग समय धेरै नभएको एक एक पलको हिसाव गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्री हुँदा भ्रष्टाचारको सुन्यसहनशिलताका साथ कामगर्ने अठोट गरेका थिए । आम युवाहरुलाई समृद्ध देश सुम्पन्ने संकल्प गरेका थिए । उनलाई देशको राजनेता बन्ने अनौठो अवसर हात परेको थियो । राजनेता सामान्य व्यक्ति हैन, त्यो त एउटा आदर्शको नमूना हुनुपर्छ शैलीमा, संस्कारमा, व्यवहारमा । तर ति अपेक्षा मात्र भए । यो समयको सही सदुपयोग इगोसेन्ट्रीक मनोविज्ञानले गर्दा हुन दिएन, भएन ।
भ्रष्टाचाचार आरोप लागेकालाई प्रधानमन्त्री कै ठाडो संरक्षण देखिने अभिव्यक्ति आए । यति समुह, कोभिड १९ का औषधी खरिद, वाइडबडि काण्डहरुले ओलीपथलाई धमिल्याई दिएको छ । जस एक्लै लिन खोजेर राष्ट्रवादी देखिने मनोविज्ञानले गर्दा राष्ट्रियता जोगाउन साथ दिने नेताहरुको अवमूल्यन र अपमान भएको महसुस भएको छ ।

ओलीले गरेका असल काम :
ओलीको छवि महाकाली सन्धिपछि भारत परस्त नै मानिन्थ्यो तर पछिल्लो नाकाबन्दी र संविधान निर्माणमा ओलीले देखाएको स्पष्ट अडानले उनको सम्मान र लोकप्रियता शिखरमा पुग्यो । जुन स्वभाविक पनि थियो । नेपाली मनोविज्ञानलाई टपक्कै समाउन ओली सफल बन्नुभयो , उहाँमा नेपाली जनताले आफना सपना साँचे र आफनो अनुहारको प्रतिबिम्ब हेरे । ओलीको पहिलो प्रधानमन्त्रीको कार्यकाल लोकप्रियताका हिसावले उल्लेखनीय हो । तर त्यतिखेर पनि सुशील कोइराला र ओलीविच भएको सहमति सुशीलले नमान्दा आलोचना भई संविधान बनाएको जस समेत लिन पाएका थिएनन, त्यो समेत विर्सेर प्रचण्डसँग भएको सहमतिमा धोकाकै कारण सत्ता संकटमा फसेको हो । जसले गर्दा आफैसँग सहकार्यमा रहेको माओवादीलाई कांग्रेससँग मिल्ने वातावरण ओलीकै कार्यशैलीले निम्ताएको हो । स्थानीय निकायको निर्वाचन परिणामले माओवादीले आफनो यथार्थ साइज थाहा पाउने र माओवादी बिना बहुमत र स्थिर सरकार दिन नसकिने भएपछि एकताको जबरजस्त पृष्ठभूमि बनेको हो । तर एकता गर्ने एतिहासिक निर्णय गर्न ओलीले जुन साहस गर्नुभयाे, त्यो निकै युगीन छ।

अर्को ओलीले अघिल्लो कार्यकालमा भारत र चीनको सम्बन्धमा नेपालको अडान र भूमिकालाई एउटा स्वाभिमानी राष्ट्रको रुपमा उभ्याउन सफल बन्नुभयो । आन्तरिक पार्टी राजनीतिको व्यवस्थापनमा जे भएपनि ओलीको त्यो भूमिका नेपाली जनताले सम्झिरहने घटना हुन । अर्कोतिर राष्ट्रिय विखण्डनविरुद्ध चटान झै उभिने उनको शैलीलाई नेपाली जनताले सलाम गरिरहने छन् । यसर्थ ओलीलाई सुझाव दिन पुगेका मन्त्री भुसालले भने झै ओली कमरेड तपाई व्यक्ति बलियो हुँदा लोकतन्त्र कमजोर हुन्छ र तपाई प्रधानमन्त्री कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुन्छ भने जस्तै अवस्था हो । भारतसँग झुक्ने हैन समान हैसियतमा आफना कुरा राख्न सक्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेर ओलीले छिमेकी सम्बन्धमा ठूल्दाई प्रवृतिविरुद्ध एउटा परिचय दिएका छन् । हो, कुटनीतिक मामिलाका हिसावले कतिपय कुरा अमिल्दा अवश्य भएका छन् । अर्कोतिर आन्तरिक एकता बलियो बनाउन नसक्दा राष्ट्रियताको आवाज मसिनो हुन्छ । यो मामिलामा ओलीले विशेष ध्यान दिन जरुरी छ ।

ओलीका लागि सुखद बाटो :
ओलीका लागि उपाय के हो ? अहिले सवत्र्र बहस छ । लाग्दैन कि ओलीले प्रधानमन्त्रीबाट राजीनामा नै दिनुपर्छ । उहाँले अध्यक्षको जिम्मेवारी छोड्दा नै राम्रो हुन्छ । तर यस्तो अवस्य लाग्छ कि उहाँले गुट रक्षाको आजसम्मको बाटो त्यागेको महशुस हुनेगरी, हिजो गरिएका एकपक्षीयता र एकाधिकारवादी चरित्रमा सुधार गर्ने गरी आफै प्रस्तुत हुने, सबैको नेता हुने अठोट गरे उनका सबै खड्गो टर्छन । तर उहाँले धेरै मौका चुकाइसक्नु भएको छ । त्यसका लागि उहाँ स्वयंले मेहनत गर्नुपर्छ अरुले मेहनत गरिदिएर समाधान हुँदैन ।

लिक छोडेको पार्टी एकतालाई विधिसम्मत लिकमा फर्काउन सहयोग गर्ने, पार्टी सचिवालय र स्थायि कमिटीको निर्णय शिरोपर गर्ने, क्षमताका आधारमा र निरन्तरताका आधारमा पार्टी एकताका बाँकी काम मापदण्ड बनाएर तत्काल सम्पन्न गर्ने, आज सम्मका कमजोरीको लागि पार्टी समक्ष आत्मोलोचना गर्ने, आफूले देखाएका सपना र राष्ट्रियताको मूल्यलाई जोगाइराख्न स्कुलिङ गरिराख्ने, पार्टीलाई जनवादी ढाँचामा उभ्याउने, सबै नेताको सल्लाहमा आफूलाई हिँडाउन तयार रहने । यो नै ओली, पार्टी र जनताका लागि सुखद बाटो हो ।

माधव–प्रचण्डको दिशा स्पष्ट हुन जरुरी :
अहिले बहुमत र अल्पमत भन्दा पनि पार्टीलाई सञ्चालन गर्ने मोडालिटीबारे स्थायी कमिटीको बहस हुनुपर्ने हो । अहिलेको लडाई भागबण्डाको होइन, पदको हानथापको लडाई होइन, भन्ने कुराको ग्यारेण्टी गर्न माधव प्रचण्डले स्थापित गर्न सक्नुपर्छ । पार्टी विधि र प्रकृयालाई मिच्दै जाने प्रवृतिबारे कुरा उठनु पनि अन्तरपार्टी लोकतान्त्रिक जीवनका लागि सुखद कुरा हो । तर स्वयं विधि नै के हो ? भन्ने बारेमा भने माधव प्रचण्डले मार्गस्पष्ट गर्न सकेको देखिदैन । जसले गर्दा २०७५ मंसिर २ र २०७६ मंसिर ४ का भागबण्डाकै एजेण्डामा आएर फेरि सहमति बन्ने हो भने यो त पदकै झगडा भएन र ? यो झगडा नेपालको इतिहासमा नयाँ झगडा होइन ।

यही व्यवस्थापन गर्न नसक्दा नेपाली कांग्रेसमा बीपी र मातृका कोइरालाको झगडाले लोकतान्त्रिक दल विभाजित बन्यो, त्यसको परिणाम २०१७ सालको निरंकुशता सिर्जना भयो । मुलुक ३० वर्ष पछि धकेलियो । दलीय प्रणालीमा सरकार र रुलिंग पार्टीको सम्बन्ध कस्तो हुने ? भन्ने सैद्धान्तिक वैचारिक बहसबाट नै एउटा टुंगो लगाउनुपर्छ र दिशा दिनुपर्छ । अर्कोतिर पार्टी एकतापछि अन्तरपार्टी कमिटी प्रणालीमा व्यवस्थित जीवन व्यति गरेको तत्कालिन एमाले संरचना भत्कियो नयाँ स्थापित हुन पाएन, त्यो दिनहुँ ढिला भयो अहिले देशव्यापी समस्या देखा परेका छन । युद्धबाट फर्केका माओवादी संस्थागत नहुँदै सरकार सञ्चालन र पार्टी सञ्चालन, व्यवस्थापन गर्ने चापमा सही ढंगले आफूलाई उभ्याउन नपाउँदै टुक्रा टुक्रा भए । यही वेलामा पुर्नएकीकृत भएको पार्टीको लागि ठूलो मन विशाल ह्दय भएको नेतृत्व आवश्यक थियो जसले आफूलाई केही नराखी अरुका लागि त्याग गर्दै सबैलाई संगै लिएर हिँडन सकोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…