शीर्ष नेतालाई दबाब दिँदै नेकपा कार्यकर्ताको धर्ना

रूपन्देही । शीर्ष नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले आइतबार भैरहवामा धर्ना दिएका छन् । केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै उनीहरुले दबाब दिएका हुन् ।
नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघका नेताहरुले भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने माग गरेका छन् ।
‘व्यक्तिभन्दा पार्टी ठूलो हो’, ‘एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्दैन’, ‘जस्ता प्लेकार्डसहित उनीहरुले शीर्ष नेताले विधिको पालना नगरेको प्रति आक्रोश व्यक्त गरेका छन् ।
धर्नामा सहभागी युवा–विद्यार्थी तथा पार्टीका नेता–कार्यकर्ताले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाउन नेताहरुलाई खबरदारी समेत गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य लक्ष्मी के.सी.ले बताउनुभएको छ । पार्टीभित्रको आन्तरिक बहसको विषयलाई लिएर सत्ता पक्ष नै सडकमा जानु लोकतन्त्रको उपहास भएको स्थानीयस्तरका नेकपा नेता तथा कार्यकर्ताको भनाइ छ । पार्टी विवादलाई सडकमा छताछुल्ल पार्दा त्यसले प्रतिक्रियावादीको सेवा गर्ने भन्दै उनीहरुले नेतृत्वलाई खबरदारी गरेका छन् ।