काठमाडौं । अनुसन्धानमा आधारित परोपकारी संस्था भोरले बागमती प्रदेशका ६० जना कोरोना संक्रमितका लागि इम्युनिटी बुस्टर तथा पोषण सप्लिमेन्ट प्याकेज प्रदान गरेको छ । इम्युनिटी बुस्टर तथा पोषण प्याकेज मंगलबार भोरका काठमाडौं सहजकर्ता शिव अधिकारी यदुवंशीले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको हो ।
प्याकेजअन्तर्गत प्रतिव्यक्तिलाई १४ दिनसम्म खान पुग्ने विभिन्न किसिमका आयुर्वेदिक औषधी तथा पोषिलो खानेकुरा रहेका छन् । काठमाडौंका आइसोलेसन र चितवनका आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि यो प्याकेल मन्त्रालयलाई प्रदान गरेको अधिकारी यदुवंशीले बताउनुभयो ।
उहाँले प्याकेज अन्तर्गत प्रत्येक व्यक्तिका लागि आधा केजी च्यावनप्रास, ५० ग्राम अष्टीमधु चुर्ण, ५० ग्राम त्रिफला चुर्ण, ५० ग्राम अश्वगंधा, ५० ग्राम गुडुची, एक केजी चनाको सातु, २५० ग्राम ड्राइ फुड मिक्स र ७ पिस कागती रहेको जानकारी दिनुभयो ।
यसअघि भोरले प्रदेश २ का दुई सय ४० जना कोरोना संक्रमितका लागि म्युनिटी बुस्टर तथा पोषण सप्लिमेन्ट प्याकेज प्रदान गरिसकेकाे छ ।प्रदेश २ का दुई सय ४० जनाले नै कोरोना जितेर डिस्चार्ज पाइसकेका छन् ।
भोरले यसअघि पनि देशका विभिन्न स्थानमा विभिन्न किसिमका प्याकेजहरु प्रदान गर्दै आएको छ । सुत्केरी तथा गर्भवती महिलाका लागि, कुपोषण भएका बालबालिकाका लागि पनि पटकपटक भोरले प्याकेज प्रदान गरेको थियो ।