मोहनप्रसाद मैनालीमान्छेको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा असल व्यक्तिहरुको संगत गरेर थाहा पाउन सकिन्छ । असल व्यक्ति कस्ता हुन्छन् र संगत कसरी गर्न सकिन्छ ? भनेर चिन्नका लागि आफूमा सकारात्मक कुराप्रति ध्यान जगाउनु पर्छ ताकि प्राप्त भएको ज्ञान आफ्नो लागि भन्दा पनि अरुका लागि उपयोगी हुन सकोस् ।
असल मान्छेको संगत गर्न सकिएन भने विश्वमा ख्याति कमाएका असल व्यक्तिहरुको जीवनी पढेर पनि मानिसमा हुनुपर्ने असल चरित्रबारे थाहा पाउन सकिन्छ । विश्व राजनीतिक इतिहासमा भारतका महात्मा गान्धी र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला त्यस्ता असल व्यक्ति हुन् जसको जीवन चरित्र हामी सबैका लागि प्रेरणाको स्रोत हो । उहाँहरुको जीवनीका एक-एक अंश सकारात्मक कर्ममा विश्वास गर्नेहरुका लागि प्रेरणाको स्राेत बन्न सक्छ ।
हाम्रा कुनैपनि क्षेत्रका काममा सफलता प्राप्त गर्नका लागि दृढ इच्छा शक्ति र त्यसलाई पुरा गर्न सकारात्मक सोचको आवश्यक पर्दछ । सकारात्मक सोच र इच्छा शक्तिलाई व्यवहारमा उतार्नका लागि धैर्य र सालिनता पूर्वक कर्ममा लाग्नु पर्छ । यसका लागि सकारात्मक साेचका असल व्यक्तिहरूकाे संगत वा त्यस्ता व्यक्तिका जीवनी अध्ययन गर्नु जरूरी हुन्छ ।
नेल्शन मण्डेलाको जीवनीको एक प्रसंगबाट हामीलाई असल कर्ममा लाग्न सँधै प्रेरणा मिलिरहन्छ । विश्वभरबाट प्रकाशित भएका विभिन्न जर्नलहरूमा मण्डेलाका बारेमा विभिन्न प्रसंगहरू लेखिएकाे पाइन्छ । तिनैमध्ये याे राेचक र प्रेरणादायी प्रसंग :
नेल्शन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आआफ्नो मनपर्ने खाना अर्डर गरे र खानाको प्रतिक्षा गर्न थाले। मण्डेला पनि सुरक्षाकर्मीसँग कुरा गर्दै खानाकाे प्रतिक्षा गर्न थाले ।
त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतिक्षा गरिरहेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने। अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले। ती व्यक्तिले पनि खाना खान थाले। तर खाना खाँदा उनको हात र शरीर काँपिरहेको थियो। निधारबाट पसिनाको धारा बगिरहेको थियो।
खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए । ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, 'राष्ट्रपति महोदय, ती व्यक्ति धेरै बिरामी देखिन्छन्। खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो। पसिना पनि आइरहेको थियो। र, उनी साह्रै आत्तिएका देखिन्थे।'
सुरक्षा अधिकारीको कुरा सुनेर मण्डेलाले भने, 'तपाईँले सोचेजस्तो ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन। वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए। मण्डेलाले अगाडि भने- जब उनले मलाई यातना दिन्थे, म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे।
मण्डेलाले फेरि अगाडि भने- 'अहिले म देशको राष्ट्रपति छु। सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु। तर, मेरो चरित्र त्यस्तो छैन। मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ। धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकासतर्फ बढ्न सक्छौं।'
देश वा समाजमा भएका जस्ताेसुकै समस्या पनि धैर्य र प्रतिशाेधकाे भावनविहीन भएर लागिपर्दा समाधान हुनसक्छ । असल बन्नुछ भने सँधै सकारात्मक साेच र कर्ममा विश्वास गराैँ भन्ने उपदेश नेल्शन मण्डेलाकाे चरित्रबाट सिक्न सकिन्छ ।