काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ जना र ललितपुरमा एक जना गरी आइतबार काठमाडौंमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म नेपालमा ८ हजार १ सय ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनम उपचाररत रहेको जानकारी दिनुभयो ।
उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले बताउनुभयो ।
हालसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो ।
उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन शुरु भएको प्रमुख पाण्डेले बताउनुभयो । अहिलेसम्म संकलन गरी रिपोर्ट आएकामा ५ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।