बुद्ध मूर्ति अनावरण गरियो

बलवीर भुजेल
सिन्धुली । कमलामाई नगरपालिकाको वडानम्बर ७ बुद्धनगरमा भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मको पुजाआजासँगै बुद्धको मूर्ति अनावरण गरिएको हो । बौद्ध परम्पराअनुसार नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले मूर्ति अनावरण गर्नुभएको हो ।
नगर प्रमुख खड्गबहादुर खत्रीले मूर्तिको स्थापनाले शान्तिको सन्देश छर्न सहयोग पुगेको बताउनुहुँदै मूर्ति स्थापनामा सहयोग पुर्याउने वडा तथा उपभोक्ता समिति लगायतलाई धन्यवाद दिनुभयो ।
जिल्ला सदरमुकामको बीच बजारमा रहेको बुद्धनगर चोकलाई आधुनिकिकरण तथा व्यवस्थापन अभियानसमेत शुरु गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको बुद्धनगरमा वृद्धवृद्धा मैत्री पूर्वाधार विकास गर्दै वरिपरि तार र जाली लगाएर सुरक्षित गर्ने गरी कार्य अघि बढाउने नगर प्रमुख खत्रीकोभनाइ छ ।
बुद्ध मूर्ति स्थापना गर्न कमलामाई नगरपालिकाले १८ लाख रकम विनियोजन गरेकाे उपप्रमुख मन्जु देवकोटाले जानकारी दिनुभयो । मूर्ति अनावरण कार्यक्रम वडानम्बर ७ का अध्यक्ष कर्णबहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।