सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडानम्बर १ तिलाठीको बेल्ही टोल जलमग्न बनेको हो । गाउँपालिकाका अनुसार बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेका छन् ।
लगातारको अविरल वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले जानकारी दिनुभयो । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । त्यहाँस्थित भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेका छन् । त्यस्तै, राजविराज–तिलाठी सडकखण्डको दुई ठाउँमा बाढीले क्षति पु-याएको छ ।
बजारका पसल डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्यको नोक्सानी भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताउनुभयो । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले बताउनुभयो । बाढी आएपछि सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौंदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन ।
बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् । बाढीको सबभन्दा बढी निशानामा यहाँका तिलाठी र बेल्ही गाउँ पर्ने गरेका छन् ।