पेरिसबाट करिब ५ सय किलोमिटर पूर्वको गाउँ । मेरी साथी अन्नि क्लेर मलाई उनको आफन्तको गाई फार्म देखाउन लाँदैछिन् । करिब २० फिटे पिच सडकको छेवैमा कार रोकिन् । नजिकै कुनै फ्याक्ट्रीको झल्को दिने ठूलो भुईतले भवन छ, जस्ताको छाना भएको। फ्याक्ट्री होइन, गाईगोठ रहेछ । गोठसँगै दुइओटा कार अनि एउटा साइकल छ । कारहरु किसान श्रीमान श्रीमतीका रहेछन् । साइकल चाहिँ गाईलाई चरणबाट फर्काउन जाँदा प्रयोग गर्ने रहेछन् । गोठमा काम गर्दा लगाउने विशेष किसिमको लुगा लगाएका करिब २५–२६ वर्षका एक जोडी हाँस्दै हाम्रो अगाडि आए । लाग्यो, गोठमा काम गर्ने मानिस होला त्यहाँको संस्कार अनुसार अंकमाल गर्दै हामीलाई स्वागत गरे। मेरी साथीले परिचय गराइन् । ति जोडी त गाई फार्मका मालिक पो रहेछन् ।अलिपर छ–सात वर्षका दुई बालबालिका खेलिरहेका छन्, किसानका छोराछोरीहरु । ति पुरुष किसान 'गाई ल्याउँछु है' भन्दै साइकल चढेर पूर्वतिर लागे । हामी गोठको निरीक्षणमा लाग्यौं । अन्दाज लगाएँ, टहरोसहित करिब २० रोपनी (एक हेक्टर) होला क्षेत्रफल । करिब दश मिनेटपछि अघिका किसान साइकलमै फर्किए । मैले मित्र अन्निलाई सोधेँ, ‘गाई खोइ त ?’ अन्निले किसानलाइ सोधिन् । किसानहरु अंग्रेजी बोल्न सक्दैनन् । फ्रेन्च भाषामै जवाफ दिए । अन्निले भनिन्, ‘कुकुरले ल्याउँदै छ रे ।’‘कुकुरले ? अचम्म ! गाई कतिओटा छन् ?’ मलाइ जिज्ञासा लाग्यो ।१३० ओटा ।१३० ओटा ? अनि कुकुर कतिओटा ?एउटा ।ओहो ! अनि कुकुरले गर्ने काम के हो ?सधैँ गाई चराउन लाने । गोठसम्म फर्काएर ल्याउने ।कुकुरको भरमा छोड्दा गाई अरुको चरणमा जाँदैन ?जाँदैन । कुकुरलाई हाम्रो जग्गाको सिमाना थाहा छ । जान दिँदैन।काम गर्ने मान्छे कति जना छन् ?हामी दुई जना ।गाईको बथान आइपुग्यो । कुकुर पछिपछि छ । गाई पछाडिको ढोकामा लाइन लागेपछि कुकुरको आजको ड्यूटी सकियो । कुकुर मालिकको अगाडि आएर पछाडिको खुट्टाको भरमा उभिन्छ । सायद भन्दै थियो, ‘मालिक गाई ल्याएँ है ।’ मालिकले एक पटक सुम्सुम्याए स्यावासी दिएपछि कुकुर आफ्नो बाटो लाग्छ । किसान बुढाबुढी गाई दुहुनतिर लाग्छन् । पछाडिको ढोका खोलि दिएपछि भित्र आएर गाई दुई लाइनमा उभिन्छन् । एउटा गाई अलि अटेरी गर्छ । ती किसान अटेरी गाइतिर फर्केर कराएपछि चुपचाप आफ्नो लाइनमा उभिन्छ । म अन्नितिर फर्कन्छु । अन्नि भन्छिन्, ‘सबै गाईको नाम राखिएको छ । कुनै गाईले अटेरी गरेमा उस्को नाम लिएर कराएपछि अनुशासित हुन्छ ।’बुढाबुढीले पानीको स्प्रेले गाईको थुन सफा गरेपछि दुहुने मेशिन जोडिदिन्छन् । एक लटमा १० ओटा गाई दुहुन मिल्ने रहेछ । मेशिनले दोहेको दूध पाइपलाइन हुँदै नजिकै राखिएको स्टोर कन्टेनरमा जम्मा हुन्छ जस भित्रको तापक्रम ३.५ सेल्सियस छ । तीन दिनमा एकपटक दूध कम्पनीको ट्याङ्कर दूध लिन आउँछ । बिक्री गर्न बजार जानुपर्दैन । तीन दिनमा हिउँदमा २,५०० लिटर र वर्षा याममा ४,५०० लिटर दूध कन्टेनरमा जम्मा हुन्छ । थुनबाट मेशिन निकालि दिएपछि गाई अर्को ढोकाबाट निस्केर अर्को गोठमा जान्छ । खाली ठाउँमा पछाडि लाइनमा दुहुनको लागि पालो कुरेर बसेका अरु गाईहरू आएर अनुशासित भएर उभिन्छन् । गाईहरु मुर्तिवत लाइनमा उभिएका छन् । थुनमा लगाइका मेशिनहरुले थुनबाट दूध निकालेर पाइपमार्फत दूधको कन्टेनरमा सप्लाई गर्दैछन् ।किसान जोडी आरामका साथ मेरा जिज्ञासाहरु शान्त पार्दैछन् । एउटा गाईले दिनमा २५ देखि ४० लिटर र वर्षमा सरदर ६,५०० लिटर दूध दिन्छ । प्रत्येक गाईले ५ देखि ७ वर्ष दूध दिन्छ । दुहुनो गाई करिब १,१०० यूरो पर्छ । दूध दिन छोडेपछि करीब १,००० यूरोमा मासुका लागि बिक्री हुन्छ । बाछो जन्मिए ४० देखि ५० युरोमा बिक्री गरिन्छ । बाछी जन्मिए पालिन्छ । यि किसानले १२० हेक्टरमा घाँस रोपेका छन्, जसमध्ये ६० हेक्टर वार्षिक ७,००० यूरोमा भाडामा लिएका छन् । करिब एक घण्टामा सबै गाई दोही सकिएपछि अर्को ठूलो गोठमा जम्मा हुन्छन् ।कुनै पनि गाईलाई दाम्लोले बाँधिएको छैन । गाईहरु कोही उभिउभि र कोही बसेर उग्राउँदैछन् । हालसालै जन्मेका करिब एक दर्जन बाछाबाछीहरुलाई फलामे बारले घेरेर अलग्गै राखिएको छ । ठूलो गोठको बाहिर दुईओटा ठूला दोजर छन्, मेरो नजर दोजरमा परेपछि अन्नि भन्छिन्, ‘एउटा भकारो सोहोर्न र एउटा घाँस काट्न ।’ दोजरको अलि पर हिउँदमा गाईलाई खुवाउन तयार पारिएको सुकेको घाँसको ठूलो थुप्रो प्लास्टिकले छोपेर राखिएको छ ।अलि पर एउटा करिब एक मिटर पाइप पर्खाल बाहिर निस्केको देखिन्छ । पाइपको मुख मुनि आधा काटिएको ड्रम राखिएको छ । मित्र अन्नि मलाई बुझाउँदैछिन्, 'भित्रपट्टी मकैको थुप्रो छ । स्वीच अन गरेपछि त्यो पाइपबाट मकैको पिठो झर्छ ।' फर्कंदा मनमा कुरा खेल्ने नै भयो । त्यति धेरै गाई छन् । न डोको देखियो, न नाम्लो । न कुटो–कोदालाे देखियो, न हँसिया । न गाग्री देखियो, न बाल्टिन । दुई जनाले एकसय तीस गाई पालेका छन् । हाम्रोमा एउटा गाई पाल्न दुईजना मान्छे चाहिन्छ । हाम्रो देशमा ‘कृषि क्रान्ति’ का दुई शब्द सरकारको नीति तथा कार्यक्रमको किताबमा अझ कति वर्ष यसैगरी कैद हुने होला ? ती दुई शब्द सरकारका योजनाका मोटा किताबबाट निस्केर किसानको खेतबारी र गोठसम्म पुग्न अब कति वर्ष वा दशक लाग्ला ?चाँगुनारायण नगरपालिका, वडा नम्बर-७, बागेश्वरी, भक्तपुर