कचिङ्गलको बीचबाट पुष्पलाललाई सम्झिँदा

किमाको झोलसँग मोटा चामलको भात खाएपछि पुष्पलाल भन्नुहुन्थ्यो– आज त भोज खाइयो

अरु देशका पार्टी नेताहरुले चिन्ता गर्छन्–कार्यकर्ताहरु भड्किएर पार्टी छोडेर नजाउन् । तर नेपालका राजनीतिक पार्टीका कार्यकर्ताहरुले सधैँ चिन्ता गर्नुपर्ने– नेताहरुले आपसका मनोमालिन्यका कारणले पार्टी फुटाल्छन् कि भनेर । अन्यत्र नेताहरु कार्यकर्ताको व्यवस्थापनमा चिन्तित हुन्छन्, नेपालमा कार्यकर्ताहरुले नेताहरुको व्यवस्थापनका लागि चिन्ता गरिदिनु पर्ने ! धिक्कारै छ ।

२०७७ साल साउन ७ गते, नेकपाका महासचिव पुष्पलालको  ४२ औं स्मृति दिवस । नेताहरु विभिन्न ठाउँमा पुष्पलालको शालिक  वा तस्बिरमा माला चढाउन जानुभएको छ । त्यहाँ उहाँहरुले पुष्पलालको अगाडि मुट्ठी उठाएर लाल सलाम पनि गर्नु भएको छ । भाषण भएका छन् र पुष्पलालका सपना पूरा गर्ने बचनवद्धता पनि गरिएका छन् । तर पुष्पलालको अगाडि मुट्ठी कसेर लालसलाम गर्नेहरुमध्ये कति प्रतिशतले उहाँको व्यक्तित्व बुझेका होलान् र साँच्चिकै पुष्पलालबाट सिक्न खोजेका होलान् भन्ने कुरा चाहिँ एकीन गरेर भन्न सकिन्न । यति चाहिँ भन्न सकिन्छ कि नेकपाको शीर्ष नेतृत्व पंक्तिका अधिकांशले पुष्पलालका आदर्शलाई पछ्याउन सकिरहेका छैनन् । युवा कार्यकर्ता पंक्तिमा पनि पुष्पलालबाट सिक्ने कति प्रतिशत होलान् भनेर भन्न सकिने अवस्था छैन । अवश्य पनि पुष्पलालका आदर्श मान्नेहरुको प्रतिशत शून्य चाहिँ छैन । नेकपाको पुरानो पुस्ता र जीवनको मध्य वयमा पुगेका इमान्दार कार्यकर्ताहरुमा पुष्पलालकोआदर्श व्यवहारतः जीवित नै छ । नेकपामा सिद्धान्त–व्यवहारको मेल भएको हिङ  कति बाँकी छ ? अहिले नभनौं, हिङ बाँधेको रुमाल पक्कै छ, जुन रुमाल, यस्तै हो भने, टालोमा परिणत हुनेछ । सिद्धान्त र व्यवहारको मेल भएको हिङ जुटाउनु पर्यो र गाँठो बेस्सरी कस्नु पर्यो हैन भने हिङ नभएको टालो सुँघाएर पार्टी बचाउन सकिन्न । निगमन विधिको प्रयोग गर्दै शुरुमै यति निश्कर्ष सुनाएर पुनः पुष्पलालको व्यक्तित्वबाट सिक्नु पर्ने कुरालाई संक्षेपमा राख्न चाहन्छु । मैले पुष्पलालसँग बाल्यकालका तीन वर्ष विताउने मौका पाएको छु– विसं २०२७ सालदेखि २०३० सालसम्म । बाल्यकालका छ वर्षदेखि नौ वर्षसम्मका अवधिमा, बनारसमा रहेको ‘श्री जगदम्बा नेपाली प्राथमिक पाठशाला’ र ‘श्री अग्रशेन महाजनी महाविद्यालयमा पढ्दाको बेला पुष्पलालसँगका जीवन्त तस्बिर दिमागमा अझै ताजै छन् ।

पुष्पलालको जन्म वर्तमान रामेछाप जिल्लाको भंगेरी गाउँमा विसं १९८१ साल आषाढ १५ मा भएको हो । उहाँका पिता भक्तलाल श्रेष्ठ सरकारी जागिरको शिलशीलामा सपरिवार रामेछापमा बसेको बेला थियो । पुष्पलालमा सानैदेखि देशको अर्थ–राजनीतिक परिवर्तनको अभियानमा लाग्ने उत्साह थियो–आफ्नै दाजुको प्रेरणाबाट । पुष्पलालको मनमा समाज परिवर्तनको काममा लाग्दै उच्च शिक्षा पढ्ने ठूलो चाहना थियो तर आफू सोह्र वर्षे किशोर हुँदा आफ्ना २२ वर्षे दाजु गंगालाललाई तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका कारण उहाँ पूर्णकालीन राजनीतिमा होमिनु भयो । स्थापनाकालमा नेपाली कांग्रेसको कार्यालय सचिवको जिम्मा पूरा गर्दै रहँदा उहाँलाई नेपाली कांग्रेस समाजवादी आन्दोलनप्रति इमान्दार छैन भन्ने लाग्यो । त्यसपछि उहाँ कम्युनिष्ट पार्टी गठन गर्नेतिर लाग्नुभयो । किन कांग्रेस पार्टी छोडेर कम्युनिष्ष्ट पार्टी गठन गर्नुपर्यो भन्ने बारेमा पुष्पलालले आफ्ना विभिन्न रचनामा सविस्तार उल्लेख गर्नुभएको छ ।

पुष्पलाल २००३ सालको अन्त्यतिर कलकत्ता जानुभएको थियो । त्यहिँ उहाँले भारतीय कम्युनिष्ट पार्टीका नेताहरूसँग बहस–छलफल गर्ने मौका पाउनुभयो । भारतमा चिरपरिचित कम्युनिष्ट नेता नृपेन चक्रवर्तीसँग उहाँको बाक्लै छलफल भयो । देशमा राणा शासन विरोधी आन्दोलन चर्किँदै थियो । देशभित्र राणा शासनको कठोर निगरानीका बीचमा आन्दोलनमा चर्चित भैसकेका युवा एकैठाउँमा जुटेर बहस छलफल गर्ने वातावरण नै थिएन । कम्युनिष्ट पार्टीले मात्रै साँचो प्रजातन्त्र ल्याउन सक्छ भन्ने दृढ विश्वास भएपछि कलकत्ताको श्याम बजारमा रहेको एउटा घरमा नेपाल कम्युनिष्ट पार्टीका चार जना संस्थापकहरु– पुष्पलाल, नारायणविलाश जोशी, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य जुट्नु भयो । त्यही कार्यक्रमका लागि काठमाडौंबाट कलकत्ता जान हिँड्नुभएकी मोतिदेवी पुग्न सक्नु भएन । त्यही कार्यक्रमका लागि घरबाट हिँड्नु भएकी हुँदा मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्नुपर्छ भन्ने पुष्पलालको प्रस्तावलाई सबैले मानेको देखिन्छ । २००६ सालको भदौ ३० (१५ सेप्टेम्बर, सन् १९४९) मा  नेकपाको घोषणापत्र जारी भयो । यही मितिलाई नेकपा गठनको आधिकारिक मिति मान्नुपर्छ भन्ने विवाद पछिसम्म थियो । हाल सो विवाद संभवतः छैन । यी सबै घटनाक्रम कम्युनिष्ट आन्दोलनको अध्ययनमा रुची राख्ने सबैलाई थाहै छ तै पनि नयाँ पुस्ताले पनि थाहा पाउान् भनेर लेखेको हुँ । खास कुरा तल लेखेको छू ।

क्रान्तिकारी लाइनको पुष्पलाललाई हराउन केशरजंग रायमाझीले अन्य पार्टीसँग भित्री गठबन्धन गरेकै हुन् । त्यतिखेर पुष्पलालले चुनाव लड्नुभएको निर्वाचन क्षेत्रको माहौल पुष्पलालले त जित्यो जित्यो, भन्ने खालेको थियो । मत गणना गर्दागर्दै अब हारिन्छ भन्ने ठानेर पुष्पलालसँग प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका नेता गणेशमान सिंह तनाव लुकाउन बनेपा जानुभएछ ।

पुष्पलालको अगुवाईमा विसं. २००८ सालमा कलकत्तामा पहिलो सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले नेकपाको केन्द्रीय सदस्यहरुमा मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, तुलसीलाल अमात्य र विष्णुबहादुर मानन्धर लगायतलाई थप गर्यो । २००९ सालमा धनुषा जिल्लाको बटेश्वर भन्ने ठाउँमा केन्द्रीय समितिको बैठक बस्यो । यसै बैठकले पार्टीका संस्थापक महासचिवलाई ज्यादै अपमानपूर्वक हटायो । पुष्पलाललाई महासचिवबाट हटाउँदा अरु कुनै आरोप लगाइएको थिएन । केही महिना अघि केन्द्रीय समितिमा आफैले थपेका मानिसहरुले उहाँलाई भने– ‘तपाईं राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा त्यति धेरै स्थापित हुनुहुन्न । यसैले देश–विदेश चिनेको, पढेलेखेको नेता मनमोहन अधिकारीलाई महासचिव बनाउँ । लेनिनवादी संगठनात्मक सिद्धान्तमा विश्वास गर्ने पुष्पलालले कुनै बखेडा गर्नु भएन, आफैंले स्थापना गरेको पार्टीको महाधिवेशन पनि नहुँदै उहाँले बडो सहजतापूर्वक महासचिवको पद छोडिदिनु भयो । जतिसुकै अपमान सहेर भए पनि केन्द्रीय सदस्यको रुपमा आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नेतिर पुष्पलाल दत्तचित्त भएर लाग्नुभयो । आफू रहेको समितिको बहुमतले पद छोड्न आदेश दिइसकेपछि कुनै कारण खोज्न लाग्नु हुँदैन भन्ने उच्च कम्युनिष्ट संस्कार र परिपक्वता कलिलै उमेरमा पुष्पलालले देखाउनु भएको थियो । स्मरणीय छ विसं. २००६ सालमा कम्युनिष्ट पार्टीको गठन गर्दा पुष्पलाल २५ वर्षको नौजवान हुनुहुन्थ्यो भने विनाकारण महासचिवबाट हटाउँदा पनि परिपक्व व्यवहार देखाउँदाका बखत उहाँ मात्र २८ वर्षको हुनुहुन्थ्यो ।

पछि, २०५१ सालको नेकपा (एमाले)को सरकारलाई नेतृत्व गर्दै देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा स्वर्गीय मनमोहन अधिकारीले अमिट छाप छोड्नु भएको छ भन्ने कुरामा कुनै दुई मत नहोला । अहिले इतिहासको वस्तुनिष्ठ समीक्षा गर्नुपर्दा यति कुरा निर्ममतापूर्वक भन्नै पर्ने हुन्छ– संस्थापक महासचिवलाई प्रथम महाधिवेशनको आयोजनासमेत गर्न नदिई अपमानपूर्वक हटाउने खेलमा मनमोहन अधिकारी केशरजंग रायमाझीको गलत सल्लाहको भागिदार बन्नुभएकै हो ।

विसंं. २०१० सालमा नेकपाको प्रथम महाधिवेशन भयो– मनमोहन अधिकारी महासचिव चुनिनुभयो । २०१० सालमा मनमोहन अधिकारी उपचारका लागि चीन जानुभयो र लामो समय उतै बस्नुभयो । मनमोहन अधिकरी चीन जानुहुँदा कार्यवाहक महासचिव केशरजंग रायमाझीलाई बनाइयो । २०१४ सालमा दोश्रो महाधिवेशन भयो । महाधिवेशनमा पुष्पलालकै राजनीतिक लाइन प्रभावी थियो तर नेतृत्व हत्याए केशरजंग रायमाझीले । २०१५ सालको आम निर्वाचन आयो, रायमाझीले आफ्नो निकटलाई प्राथमिकता दिँदा धेरै योग्य कार्यकर्ताले टिकट पाएनन्, कम्युनिष्ट पार्टीका चार जनाले मात्रै चुनाव जिते । त्यतिखेरको काठमाडौंको चुनाव देखेका बुढापाकाहरुले पछिसम्म भन्दैहुनुहुन्थ्यो– ‘क्रान्तिकारी लाइनको पुष्पलाललाई हराउन केशरजंग रायमाझीले अन्य पार्टीसँग भित्री गठबन्धन गरेकै हुन् ।’ मलाई यो जानकारी दिने केही बुढापाकाहरु अझै पनि जीवितै हुनुहुन्छ । त्यतिखेर पुष्पलालले चुनाव लड्नुभएको निर्वाचन क्षेत्रको माहौल पुष्पलालले त जित्यो जित्यो, भन्ने खालेको थियो । मत गणना गर्दागर्दै अब हारिन्छ भन्ने ठानेर पुष्पलालसँग प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका नेता गणेशमान सिंह तनाव लुकाउन बनेपा जानुभएछ । यो कुरा स्वयं स्वर्गीय गणेशमान सिंहले धेरै ठाउँमा बताउनुभएको छ ।

राजा महेन्द्रले २०१७ साल पौष १ गते बहुदलीय प्रजातन्त्रको घाँटी निमोठेपछि डा. केशरजंग रायमाझिले के गर्नुभयो भन्ने बारेमा किन लेख्नु र ? इतिहासको फोहरलाई किन चलाइराख्नु ?

मूल नेतृत्व नै गद्दार भएपछि पार्टी त तहसनहस हुने नै भयो । पुष्पलालकै अगुवाईमा विभिन्न अञ्चल कमिटीलाई संयोजित गरियो र महाधिवेशन आयोजक समिति बनाइयो । त्यतिखेरको पार्टी विधान अनुसार पार्टी केन्द्रले महाधिवेशन बोलाएन भने जोनल कमिटी (अञ्चल कमिटी)हरुको बहुसंख्याले महाधिवेशन आयोजना गर्न सक्ने प्रावधानलाई समातेर नै अन्तर जोनल सामञ्जस्य समितिले तेश्रो महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनमा पुष्पलालले अगाडि सार्नुभएको बिघटित संसदको पुनर्स्थापना को राजनीतिक लाइन नै सही थियो तर महासचिव बन्नुभयो तुलसीलाल अमात्य ।

तुलसीलाल अमात्य पार्टीको महासचिव त बन्नु भयो तर पार्टीको बैठक बसाल्नै चाहनु भएन भन्नुहुन्छ उहाँका समकालीन बूढापाकाहरु । हरेक पटक साथीहरुले बैठक राख्न गरेको आग्रहलाई उहाँले टार्दै जानुभयो । पार्टी पुरै निस्क्रिय भयो । उहाँले किन त्यसो गर्नु भयो त ? त्यतिखेर सँगै काम गरेका बूढापाका नेताहरुले तुलसीलाल अमात्यको बैठक नै राख्न नचाहने बारेको कारण यसरी बताउनुहुन्छ–

‘नेकपाको तेश्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेको कम्युनिष्ट आन्दोलनको महाविवादबाट प्रभावित भयो । तुलसीलाल अमात्य तत्कालीन सोवियत संघले अगाडि सारेको राजनीतिक लाइनको समर्थक हुनुहुन्थ्यो । तत्कालीन सोभियत नेता ख्रुश्चोव क्रान्तिकारी आन्दोलनको विपक्षमा थिए । डा. केशरजंग रायमाझीको विश्लेषणको निष्कर्ष थियो– राजाकै नेतृत्वमा शान्तिपूर्ण तरिकाले समाजवादमा पुग्न सकिन्छ । त्यही निष्कर्षलाई सही मानेर तत्कालीन सोभियत रसियाली नेतृत्वले नेकपाको तत्कालीन नेतृत्वलाई क्रान्तिकारी संघर्ष अगाडि नबाढाउन सुझाव दिएको थियो । बैठक राख्दा कमिटीमा पञ्चायत विरोधी आन्दोलन अगाडि बढाउन चाहने क्रान्तिकारी तप्काको बहुमत हुन्थ्यो । आफ्नो दक्षिणपन्थी लाइन अल्पमतमा पर्ने डरले गर्दा नै तुलसीलाल अमात्यले पार्टीकाे बैठक टार्दै जानुभएको थियो । अचम्मको अवस्था थियो– प्रान्तीय वा अञ्चल र सोभन्दा तलका कमिटी आ–आफ्नो ठाउँमा सक्रिय थिए तर केन्द्रीय समितिको बैठक पनि बस्न सकिरहेको थिएन ।

२०२९ सालको भाद्रमा पुष्पलालको अगुवाईमा नेकपाको चौथो सम्मेलन भारतको बनारसमा आयोजित गरियो । यस सम्मेलनले पञ्चायती  व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको नीति पारित गर्यो । त्यस नीतिका विरुद्ध पुष्पलाललाई अनेक लाञ्छना लगाइयो । मोहनबिक्रम सिंहले पुष्पलाललाई गद्दारको बिल्ला नै भिराउनु भयो । २०२९ सालको कुनै बिहान मैले पुष्पलालको टेबुलमा रातो गातो भएको गद्धार पुष्पलाल लेखेको सानो किताब देखेको थिएँ । त्यतिखेर मैले गद्दार शब्दको अलिअलि अर्थ त बुझेको थिएँ ।

तुलसीलाल अमात्यको चरम निस्क्रियताका विरुद्ध लामो समयसम्म अन्तरसंघर्ष गर्दा पनि पार्टीलाई सक्रिय बनाउने कुनै उपाय नदेखेपछि पुष्पलालको अगुवाईमा केन्द्रीय समितिका छ जना रहेको ‘तेश्रो सम्मेलन आयोजक समिति बनाइयो । ती केन्द्रीय सदस्यहरु थिए– पुष्पलाल , बलराम उपाध्याय (कास्की), एकदेव आले(तनहुँ) , हिकमतसिंह भण्डारी (गोर्खा), देवेन्द्रलाल श्रेष्ठ (काठमाडौं), प्रेमप्रकाश नेपाल (पाल्पा) । पछि सो आयोजक समितिमा केशरमणी पोखरेल (गुल्मी), चित्रबहादुर गुरुङ (कास्की), हरिहर यादव (बारा), भक्तबहादुर श्रेष्ठ (मकवानपुर) र एकदेव ज्ञवाली (गुल्मी) थपिनुभयो । त्यही आयोजक समितिले २०२५ साल बैशाखमा भारतको गोरखपुरमा नेकपाको तेश्रो सम्मेलनको आयोजना गर्यो ।  त्याे सम्मेलनले पुष्पलाललाई महासचिवमा चयन गर्यो । संस्थापक महासचिव २००९ सालमा महासचिवबाट हटाइनुभएको सोह्र वर्षपछि बल्ल पुनः महासचिव बन्ने मौका पाउनुभयो ।

विसं. २०२९ सालको भाद्रमा पुष्पलालको अगुवाईमा नेकपाको चौथो सम्मेलन भारतको बनारसमा आयोजित गरियो । यस सम्मेलनले पञ्चायती  व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको नीति पारित गर्यो । त्यस नीतिका विरुद्ध पुष्पलाललाई अनेक लाञ्छना लगाइयो । मोहनबिक्रम सिंहले पुष्पलाललाई गद्दारको बिल्ला नै भिराउनुभयो ।

म सम्झन्छु– २०२९ सालको कुनै बिहान मैले पुष्पलालको टेबुलमा रातो गातो भएको गद्धार पुष्पलाल लेखेको सानो किताब देखेको थिएँ । त्यतिखेर मैले गद्दार शब्दको अलिअलि अर्थ त बुझेको थिएँ– हामीलाई चीनको आकाशमा रातो तारा जस्ता क्रान्तिकारी पुस्तकहरु पढ्न दिइन्थ्यो । स्कूलमा गद्धार नाथुराम गोडसेले महात्मा गान्धीलाई गोली हानेको जस्ता कुरा पढाइन्थ्यो । मेरो त्यतिखेरको बाल चेतनामा गद्धार भनेको आफ्नै साथीलाई मार्ने मान्छे हो भन्ने परेको थियो तर मलाई धेरै माया गर्ने अफिसवाला बुवा (पुष्पलाल)लाई किन त्यसो भनेको होला भन्ने बुझेको थिइँन । मैले गोविन्द ज्ञवाली काकालाई त्यसबारे सोधेको थिएँ । उहाँले भन्नुभएको थियो– ‘माइल्दाइ र मोहनबिक्रम असाध्येै मिल्ने साथी हुन् । साथीसाथीमा ठट्टा गरेर त्यसो लेखेका होलान् । तिमीले यो सबै ठूलो भएपछि बुझ्ने छौ ।’

पछि म कम्युनिष्ट आन्दोलनको विद्यार्थी भएपछि बुझेँ– पुष्पलालले आफूमाथि लगाइएको ज्यादै अपमानजनक आरोपको खण्डन गर्न पनि आवश्यक ठान्नुभएन । पाका कम्युनिष्ट नेता नेत्र पंथी (हाल बुटवल) पुष्पलाललाई संझिदै भन्नुहुन्छ– ‘हामीले माइल्दाइलाई मोहनबिक्रमले लेखेको गद्दार पुष्पलाल भन्ने पुस्तकको जोडदार खण्डन गरेर अर्को पुस्तक लेख्न धेरै अनुरोध गरेका थियौं । माइल्दाइको जवाफ हुन्थ्यो– यस्ता बकम्फुसे कुरालाई बेवास्ता गर्नुपर्छ । कामबाट आफूलाई प्रमाणित गर्ने हो, क्रान्तिकारीहरुले निजी मान–अपमानलाई धेरै महत्व दिनु हुँदैन ।’

विसं. २०३३ साल आउँदा नआउँदै पुष्पलालको पार्टीमा पुनः विखण्डन शुरु भैसकेको थियो । २०३५ साल साउन ७ गते दिल्लीको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा पुष्पलालको निधन भयो ।

पुष्पलालले पार्टी महासचिवको रुपमा कति समय काम गर्न पाउनुभयो त ? स्थापना कालमा उहाँलाई महाधिवेशन पनि गर्न नदिएर हटाइयो । २०२५ सालदेखि २०३३ सालसम्मको आठ वर्ष उहाँ तत्कालीन समयमा देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको महासचिव हुनुभयो । चरम आर्थिक अभावकै बीचमा उहाँको निधन भएको हो ।

पुष्पलाललाई बाँचुन्जेल हेला गरेर अनेक आरोप लगाउनेहरुले पछि उहाँकै  तस्बिर पार्टी कार्यालयमा सजाउनु पर्ने अवस्था आयो । यो कसरी भयो ? आज नेकपाका नेताहरुले सोच्नुहोस् । पार्टीलाई निरन्तर विधि र पद्धतिमा चलाउन जोड दिने र पार्टीको फैसला आफै विरुद्ध भए पनि निसर्त पालन गर्ने दीर्घ र सुदृढ चरित्रका कारण आज पनि पुष्पलालले हामीलाई बाटो देखाइरहनु भएको छ ।

म सम्झन्छु– बनारसको दसपुत्र गल्लीमा रहेको कार्यालयको भान्सामा बिरलै मीठो–मसिनो पाक्थ्यो । नेपालबाट साथीहरु जाँदा अलिअलि पैसाको जोहो गरेका हुन्थे । बनारसको मच्छोदरी पार्क भन्ने ठाउँमा राँगाको मासुप्रति किलो रु. २ मा पाइन्थ्यो (लिन जाने काम प्राय मेरै हुन्थ्यो) । एक किलो किमा ल्याएर ठूलो कसौँडीमा टन्न पानी हालेर पकाइन्थ्यो । किमाको झोलसँग मोटा चामलको भात खाएपछि पुष्पलाल भन्नुहुन्थ्यो– ‘आज त भोज खाइयो ।’

पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– ‘मनमा इमान राख्ने हो भने जस्तासुकै विवाद पनि समाधान हुन सक्छ । छलकपटका आधारमा कहिल्यै विवाद समाधान हुन सक्दैनन् ।’ आज नेकपामा जे–जस्ता समस्या देखिएका छन्, ती कम्युनिष्ट पार्टीको विधि–पद्धतिलाई पछ्याउने हो भने एउटै बैठकबाट समाधान हुन सक्छन् । महिनौसम्म विना निर्णय बैठक लम्ब्याउने र पनि निष्कर्षमा पुग्न नसक्ने कुरा ज्यादै अक्षम्य छ ।

लाखौं कार्यकर्ता मात्र हैन, संस्थापक नेताहरुले समेत धेरै संघर्ष, त्याग, बलिदान गरेर आजको नेकपा बनेको हो । पुष्पलालले सिर्जना गरेको पार्टी आज लाखौंलाख कार्यकर्ता र समर्थक शुभचिन्तकले भरिभराउ छ ।

पुष्पलालमा कुनै कमजोरी नै थिएनन् त ? कुनै पनि नेतामा कमजोरी नदेख्नु र राम्रा पक्षको बढाईचढाई गर्नु देवत्वकरण गर्नु हो । कुनै पनि नेताको अनावश्यक प्रशंसा गर्नु निजलाई बिगार्नु हो । पुष्पलालमा पनि कमजोरी पक्कै थिए तर ती धेरै सानातिना थिए । उहाँले देखाएको त्याग, धैर्यता, पार्टी अनुशासन, आन्दोलनप्रतिको दूरदृष्टि, वैचारिक स्पष्टता जस्ता कुराका अगाडि उहाँका कमजोरी सामान्य थिए भन्ने लाग्छ ।

आज नेकपामा जे–जस्ता समस्या देखिएका छन्, ती कम्युनिष्ट पार्टीको विधि–पद्धतिलाई पछ्याउने हो भने एउटै बैठकबाट समाधान हुन सक्छन् । महिनौंसम्म विना निर्णय बैठक लम्ब्याउने र पनि निष्कर्षमा पुग्न नसक्ने कुरा ज्यादै अक्षम्य छ । अचम्मै छ, अरु देशका पार्टी नेताहरुले चिन्ता गर्छन् कार्यकर्ताहरु भड्किएर पार्टी छोडेर नजाउन् । तर नेपालका राजनीतिक पार्टीका कार्यकर्ताहरुले सधैँ चिन्ता गर्नु पर्ने– नेताहरुले आपसका मनोमालिन्यका कारणले पार्टी फुटाल्छन् कि भनेर । अन्यत्र नेताहरु कार्यकर्ताको व्यवस्थापनमा चिन्तित हुन्छन्, नेपालमा कार्यकर्ताहरुले नेताहरुको व्यवस्थापनका लागि चिन्ता गरिदिनु पर्ने ! धिक्कारै छ ।

पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– ‘मनमा इमान राख्ने हो भने जस्तासुकै विवाद पनि समाधान हुनसक्छ । छलकपटका आधारमा कहिल्यै विवाद समाधान हुन सक्दैनन् ।’ कमरेड पुष्पलालका आदर्शलाई पछ्याउनु भनेको पार्टीलाई विधि–पद्धतिबाट चलाउने कुरा हो, विचार र नीतिलाई प्रधानता दिने कुरा हो, सादा जीवनशैली अपनाउने कुरा हो । कमरेड पुष्पलालमा हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।