विद्यानन्द राम राजविराज । जनप्रतिनिधिको लापरबाहीका कारण राजविराजका समुदायस्तरमा कोरोना संक्रमण फैलिएको खुलेको छ । पत्नीको उपचारकालागि भारत पुगेका मृतक व्यापारीलाई नेपाल भित्र्याउनेदेखि व्यापार गर्न समेत छुट दिएर जनप्रतिनिधिले नै समुदायस्तरमा संक्रमण फैलिएको खुलेको हो ।
कोरोना संक्रमणका कारण साउन १ गते सदरमुकाम राजविराज नगरपालिका–६ का एक ७३ वर्षीय व्यापारीको मृत्यु भयो । मृतकका परिवार तथा सम्पर्कमा पुगेका व्यक्तिहरुको परीक्षण थालिएसँगै शुक्रबार बिहानसम्ममा मृतकको परिवारका ५ सदस्य, २ कामदार र छिमेकीसहित २९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पहिलो चरणमा परिवार र दोश्रोमा कामदार तथा छिमेकी हुँदै कोरोना तेश्रो चरणमा समुदायस्तरमा तीव्र रुपमा बढ्दै गएकाले स्थानीयहरु त्रसित छन् । संक्रमण नियन्त्रण गर्न नगरपालिकाले बुधवारदेखि लकडाउन आह्वान गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबारै बसेको आकस्मिक बैठकले नगर क्षेत्रभर अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । तर अझैसम्म सम्बन्धित निकायले सर्वसाधारणलाई वस्तुगत अवस्थाका विषयमा ढुक्क पार्न सकेको छैन ।
यसैबीच असार ५ गते घर फर्किएका व्यापारीलाई वडाअध्यक्ष प्रेमकुमार यादवले नै नेपाल प्रवेश गराएर ‘होम क्वारेन्टाइन’मा बस्न लगाएको र स्वास्थ्य कार्यालयलाई जानकारीसम्म नगराएका कारण यस्तो अवस्था सृजना भएको बाहिरिएको हो ।
‘होम क्वारेन्टाइन’मा बस्न लगाइएपनि जनप्रतिनिधिले निगरानी गर्न नसक्दा व्यापारीले जनसम्पर्कका साथै पसलमा बसेर व्यापार नै गर्न थालेपछि समुदायस्तरमा संक्रमण फैलिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले पनि उपचारबाट फर्किएका व्यापारी र उनका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको विषयमा वडाध्यक्ष यादवले नै टेलिफोनमार्फत जानकारी गराएको स्पष्ट पारेको छ ।
यता नगर प्रमुख शम्भु प्रसाद यादवले वडा अध्यक्षमाथि लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिनुभएको छ । नगर प्रमुख यादवले संक्रमण नियन्त्रणका निम्ति ‘कँन्ट्याक्ट ट्रेसिङ्ग’ कार्यलाई तीव्रता दिइएको बताउनुभएको छ । स्मरणहोस्, मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १०४ को उपदफा १ बमोजिम कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने वा फैलिनसक्ने कार्य गर्न पाइँदैन भने उपदफा २ मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई लापरवाहीपूर्वक गरेको भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।